चीन र भारतको सैनिक झडपमा अमेरिकाको चासो, के भन्यो ?

चीन र भारतको सैनिक झडपमा अमेरिकाको चासो, के भन्यो ?

एजेन्सी : चिनियाँ सैनिक र भारतीय सैनिकबीच झडप भएको विषयमा अमेरिकाले चासो देखाएको छ।

डिसेम्बर ९ मा अरुणाचल प्रदेशको तवाङ सेक्टरमा दुई पक्षका सेनाबीच् झडप भएको थियो। यस विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदको दुवै सदनमा आफ्ना भनाइ राखेका थिए।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै सीमा विवादबारे छलफल गर्न द्विपक्षीय च्यानलहरू प्रयोग गर्न सल्लाह दिइन्।

पत्रकारको प्रश्नको जवाफमा उनले भनिन्, ‘यसपटक दुवै पक्षले छिट्टै झगडा बन्द गरेकोमा हामी खुसी छौं। हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं, भारत र चीनले विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्नुपर्छ।’

यसैबीच अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले पनि यसबारे प्रतिक्रिया दिएको छ ।

मिडियासँग कुरा गर्दै, पेन्टागनका प्रेस सचिव प्याट राइडरले भने, ‘रक्षा विभागले वास्तविक नियन्त्रण रेखामा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ। हामीले देखेका छौं कि चिनियाँ सेनाले त्यहाँ सुरक्षा बल बढाउँदैछ र सैन्य पूर्वाधार निर्माण भइरहेको छ। यसले अमेरिकी सहयोगीहरू र इन्डो–प्यासिफिकमा हाम्रा साझेदारहरूप्रति चीनको उत्तेजक रवैया झल्काउँछ।’

मंसिर २८, २०७९ बुधबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।