स्थानीय सरकारसँग कानून सिक्दै कालिकाका विद्यार्थीहरू

स्थानीय सरकारसँग कानून सिक्दै कालिकाका विद्यार्थीहरू

बुटवल : कालिका मानवज्ञान माविका कानूनका विद्यार्थीहरूको स्थानीय सरकारसँग कानूनका विद्यार्थीहरू कार्यक्रम सुरू भएको छ।

कानूनका विद्यार्थीहरूलाई स्थानीय सरकारका काम कारबाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानून निर्माण प्रक्रियालाई व्यावहारिक रूपमा बुझ्न १५ दिने कार्यक्रम अन्तर्गत वार्ड कार्यालयहरूमा पठाइएको छ।

लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वार्ड कार्यालयहरूमा रहेर विद्यार्थीहरूले व्यावहारिक कानूनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानून समुहका इन्चार्ज युवराज कँडेलले बताए।

उनका अनुसार कानून समूहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरूले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाची, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बागलुङ र नवलपुर जिल्लाका पालिकाका वार्ड कार्यालयमा रहेर अभ्यास गर्ने र ३ दिन स्थानीय न्यायिक समितिसँग बसेर सिक्नेछन्।

पालिकाका वार्ड कार्यालयहरूमा विद्यार्थीहरूले वार्डले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वार्डको अवस्था र सवल पक्षको बारेमा अध्ययन गर्नेछन्।

उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले स्थानीय टोल समिति, महिला समूह र बाल क्लबहरूको लागि कानूनी साक्षरता कक्षाहरू पनि संचालन गर्ने कार्यक्रम निर्धारण गरिएको छ।

कालिका मानवज्ञान माविले विद्यार्थीहरूमा कानूनको व्यावहारिक ज्ञान र सीप विकास गर्नको लागि कानूनका विद्यार्थीको लागि नमूना संसद, अभ्यास अदालत, प्रहरीसँग विद्यार्थी कार्यक्रम, समुदायमा कानूनी साक्षरता कार्यक्रम, मानव अधिकार कार्यक्रम लगायतका कार्यक्रमहरूलाई वार्षिक कार्यक्रम अन्तर्गत राखेर नियमित रुपमा सञ्चालन गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कानून, विधिको शासन तथा समुदाय बुझ्न र सिकाईलाई दिगो बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए।

मंसिर २७, २०७९ मंगलबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।