६ वर्षदेखि प्रतिबन्धित पाकिस्तानी फिल्ममा काम गर्न चाहन्छन् रणवीर
एजेन्सी : बलिउड अभिनेता रणबीर कपूरले पाकिस्तानी फिल्ममा काम गर्न चाहना व्यक्त गरेका छन्।
साउदी अरबमा भएको रेड सी इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी भएका कपूरले पाकिस्तानी फिल्म उद्योगमा काम गर्न आफूलाई कुनै हिचकिचाहट नभएको बताए।
एक पाकिस्तानी फिल्म निर्माताले रणवीर कपूरलाई सोधे, ‘अब हामीसँग साउदी अरेबिया जस्तो प्लेटफर्म छ जहाँ हामी संयुक्त रूपमा फिल्महरू बनाउन सक्छौं। म तपाईंलाई फिल्मको लागि साइन गर्न चाहन्छु। के तपाईं यसमा मञ्जुर हुनुहुन्छ?’
जवाफमा कपूरले भने, ‘बिल्कुल सर। मलाई लाग्छ कलाकारको लागि विशेषगरी कलाको कुनै सीमा हुँदैन। द लिजेन्ड अफ मौला जटको लागि पाकिस्तानी फिल्म उद्योगलाई धेरै–धेरै बधाई छ, यो वर्षौंको सबैभन्दा ठूलो हिट फिल्ममध्ये एक हो।’
विगत ६ वर्षदेखि पाकिस्तानी फिल्म र कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ भने भारतीय कलाकार र फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा रणबीर कपूरको यो जवाफले मानिसलाई निकै आक्रोशित बनाउने देखिएको छ।
यस फिल्म फेस्टिभलमा रणबीर कपूरले आफ्नो १५ वर्षको करियरको बारेमा मात्रै कुरा गरेनन्, उनलाई फेस्टिभलबाट भेराइटी इन्टरनेशनल भ्यानगार्ड एक्टर अवार्डबाट पनि सम्मानित गरिएको थियो।
रणवीर पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएका थिए। यो फिल्ममार्फत रणवीर र आलिया भट्टले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो।
रणवीर र आलियाका अलावा अमिताभ बच्चन पनि मुख्य भूमिकामा थिए। त्यसैले फिल्ममा नागार्जुन र शाहरुख खान क्यामियो रोलमा देखिएका थिए।
मंसिर २७, २०७९ मंगलबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।