उद्देश्यविहीन नेपालका कला महोत्सव: नौटङ्कीभित्रको नौटङ्की, दर्शक र उत्साह दुवै घट्दो
केही समयअघि मण्डला थियटरमा धुमधामसँग दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव मनाइयो। जसमा विशेष अतिथि थिइन्- कुनै समय बलिउडमा चार चाँद लगाएकी कलाकार शवाना आजमी।
उनले हलभरि कलाकार जम्मा पारेर मास्टर क्लास पनि दिइन्। भलै मास्टर क्लास उनको व्यक्तिगत जीवन र कार्यक्रम मोडियटर विप्लव प्रतीकको उर्दू लवजमा धेरै रुमल्लियो।
हालै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सम्पन्न भयो। यो महोत्सवको सबैभन्दा आकर्षणमा रहे- बलिउडका जानेमानेका निर्देशक, कलाकार प्रकाश झा।
उनैले अभिनय गरेको फिल्म 'मट्टो कि साइकिल' फिल्मबाट महोत्सवको स्रिकिनिङ्ग गरियो। नेपाली सञ्चारमाध्यममा उनको फिल्म कसरी बन्योदेखि नेपाली फिल्मलाई अब कसरी अगाडि बढाउने भन्नेसम्मका अन्तर्वार्ताहरू प्रकाशित भए। उनले पनि दिल खोलेर सल्लाह सुझाव दिए।
अबको केही दिनमै पोखरामा पामे चलचित्र महोत्सवको तयारी हुँदैछ। फिल्म छनोट भइसकयो, महोत्सवको अन्तिम तयारीमा आयोजक जुटेको छ।
महोत्सव डिसेम्बर २७ देखि ३१ सम्म चल्नेछ। त्यस्तै, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) ले पनि महोत्सवका लागि फिल्म दिन आवेदन खुला गरिसक्यो। पुष १० गतेसम्म आवेदनको मिति तोकिएको छ।
कति दर्शक सहभागी भए त महोत्सवमा ?
माथिका यी कार्यक्रमहरू प्रभावकारी र उत्कृष्ट महोत्सवमा गनिन्छन्। नाट्य महोत्सवले नाटक क्षेत्रका मानिसहरूमा एकप्रकारको ऊर्जा दियो।
सबै नाटकघर समावेश नभए पनि नाट्यकर्मीहरूले समय छुट्याएर नाटक हेरे। नाटकका कक्षाहरू, अन्तरक्रियाहरूमा सहभागिता जनाए।
यसरी सहभागिता जनाउनेहरू नयाँ अनुहार कमै आए। प्रायः पुराना अनुहारहरू दोहोरिए, तेहेरिए।
खुशीको कुरा, खाली हलमा नाटक देखाउन परेन, दर्शक भरिभराउ भए। बिनादर्शक अन्तरक्रिया कार्यक्रम गर्न परेन, नाटक क्षेत्रमा मानिसहरूले भरपुर साथ दिए।
मण्डला थियटरमा मानिसहरूको चहलपहल राम्रै भए पनि ६० प्रतिशत दर्शक दोहोरिएको बताउँछन् महोत्सवका मिडिया को-अर्डिनेटर समेत रहेका रंगकर्मी केदार श्रेष्ठ। उनले भने, 'सबै ठाउँको कार्यक्रम र शो हेर्दा अटाउने दर्शक पाँच सय हो। सबै शोहरू हाउसफुल भए। दिनमा ५० देखि सय जनाजति नयाँ अनुहार महोत्सवमा आए, अरू दोहोरिए।'
तर किम्फ महोत्सवमा फिल्म हेर्न दर्शक खासै भएनन्। सबैभन्दा पुरानो फिल्म महोत्सवमा पर्ने किम्फको माहोल यो वर्ष फिक्का भयो। महोत्सवको अन्तिम दिनमा समेत अवार्ड र प्रमाणपत्र लिने बाहेक अरू देखिएन।
यही समयमा नेपाल कल्चरल फिल्म महोत्सव पनि जुध्यो। धेरैले यो महोत्सवको नाम समेत सुनेनन्।
किम्फमा पनि नाटकका केही कलाकारहरू नै दोहोरिए। नेपाली फिल्म क्षेत्रका दुई चार कलाकार बाहेक अन्यले अनुहार समेत देखाएनन्।
स्रोतका अनुसार किम्फमा मुस्किलले तीन हजारले उपस्थिति जनाए। जसमा आयोजक, छनोटमा परेका फिल्मका समूह लगायत नै धेरै भए।
समग्रमा, दुवै महोत्सव एकै महिनामा भए। बलिउडका दुई हस्तीको चर्चा बाहेक अन्य उपलब्धि देखिएन।
दर्शक नै छैनन् फिल्म महोत्सवको
नाम सुनेका, नाम नसुनेका तीन दर्जन बढी कोठे महोत्सवहरू हुँदैछन्। कोही आयोजक खोज्न व्यस्त छन् त कोही महोत्सवमा देखाउने फिल्म खोज्न।
कतिपय विधामा फिल्म नपाएर व्यक्तिगत सोर्स समेत लगाउनुपर्ने अवस्था फिल्म महोत्सवका आयोजकको काँधमा छ। एक आयोजकले नाम नबताउने सर्तमा भने, 'खै के हो के, हात जोडेर महोत्सवका लागि फिल्म माग्दा समेत दिँदैनन्। विधागत रूपमा फिल्मको कोटा पुर्याउनैपर्ने बाध्यता, एकै फिल्म धेरै महोत्सवमा कति देखाउनु।'
फिल्म खोज्दाको सास्ती सुनाउँदा उनी गम्भीर बनेका थिए।
त्यसमाथि, कलाका नाम हुने महोत्सवको टार्गेट अडियन्स को हो? कसका लागि यी र यस्ता महोत्सव आयोजना गरिन्छन्? यति धेरै झन्झट व्यहोरेर केका लागि महोत्सवको आयोजना गरिन्छ? कलाका महोत्सवबारे प्रश्न धेरै छन् तर उत्तर एकै छ- राम जाने।
नाम नबताउने सर्तमा तिनै महोत्सव आयोजकले भने, 'प्रत्यक्ष, अप्रत्यक्ष रूपमा म पनि कुनै फिल्म महोत्सवमा जोडिएको छु। तर त्यसको औचित्य के हो पत्ता लगाउन सकेको छैन।'
फिल्म महोत्सवका सहयोगी भावना राख्ने एक निर्देशक हुन्, यादवकुमार भट्टराई। 'झोला' फिल्म निर्देशन गरेर चर्चा कमाएका भट्टराई केही फिल्म महोत्सवबाहेक अन्यले उद्देश्य प्रष्ट पार्न नसकेको बताउँछन्।
उनले भने, 'यस्ता महोत्सवले नेपाली कला क्षेत्रलाई प्रोत्साहनभन्दा दुरुत्साहन गरिरहेको महसुस मैले पनि गरेको छु।'
त्यति धेरै मेहनत र समय खर्च गरेर च्याउ जसरी महोत्सवहरू आयोजना हुनुमा आफू पनि जिज्ञासु रहेको उनले बताए। उनका अनुसार यसमा मुख्य भूमिका चेतनास्तरले खेलेको छ।
उनका अनुसार जस्तोसुकै अवार्ड, पुरस्कार थापेर सामाजिक सञ्जालमा पोष्ट गरे पनि बधाई र शुभकामनाका ओइरो लाग्छन्, हप्तामै पाँच वटा बधाई खाने काम उसले गरेको छ या छैन हेर्दैनन्।
यस्तै कतिपय मानिसहरू सम्मान र प्रमाणपत्रका भोका भएका, पैसा तिरेर अवार्ड किन्ने गरेकाले उनीहरूकै कारण महोत्सवहरू च्याउ जसरी उम्रिएको हुनसक्ने उनको अनुमान छ।
अर्का एक निर्देशक भने अमेरिका जान सजिलो हुने भएकाले चाहिनेभन्दा धेरै महोत्सवहरू आयोजना भएको बताउँछन्।
उनी भन्छन्, 'महोत्सवमा छनोट भएका फिल्म देखाएर अमेरिका जान सजिलो हुने रहेछ। भिसा पनि सजिलै पाइने, उस्तै परे ग्रिन कार्ड पाउन पनि सजिलो। त्यसैले अवार्ड जित्नका लागि पैसा लगानी गर्दा च्याउ जसरी महोत्सवहरू आयोजना हुन थाले।'
विशेष फिल्म महोत्सव भनेको नौटङ्कीभित्रको नौटङ्की रहेको उनको भनाइ छ।
उनले भने, 'फिल्म आफैँमा नाटक हो, नाटकमाथि गरिएको अर्को नाटक नै महोत्सव हो।'
ओटीटीका कारण महोत्सवको उत्साह भएन
'जुनुको जुत्ता' नामक बाल मनोविज्ञानमा आधारित फिल्म निर्देशन गरेका केदार श्रेष्ठ, पहिलेभन्दा फिल्म महोत्सवको उत्साह घटेको स्वीकार गर्छन्।
उनले भने, 'पहिले फिल्म हेर्ने अन्य माध्यमहरू थिएन। महोत्सव नै फिल्म हेर्ने उत्तर माध्यम बन्थ्यो। तर अहिले ओटीटी प्ल्याटफर्मका कारण महोत्सवको चार्म पहिलेजस्तो छैन।'
तर केदार, नेपालमा अझै कलाका महोत्सव कम भएको बताउँछन्।
उनले भने, 'अमेरिकामा एउटै सिटीमा तीन हजारसम्म फिल्म महोत्सव हुन्छ। यसले कलालाई बुझ्ने दायरा फराकिलो बनाउँछ। केदारका अनुसार अझै गाउँघरमा फिल्म महोत्सव गर्न सकिएको छैन, विभिन्न स्पेसिफिक विधामा महोत्सव गर्न सकिएको छैन।'
त्यस्ता महोत्सवहरू अझै थप्नुपर्ने उनी बताउँछन्। तर, सबै महोत्सव उस्तै प्रकृतिका, औचित्यहीन भयो भने त्यसले ब्याकफायर गर्ने पनि उनले स्वीकारे।
मंसिर २७, २०७९ मंगलबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।