सकियो यस वर्षको 'किम्फ', ३० देशका ६० फिल्म स्क्रिनिङ भए

सकियो यस वर्षको 'किम्फ', ३० देशका ६० फिल्म स्क्रिनिङ भए

काठमाडौं: यही मङ्सिर २२ गतेदेखि काठमाडौंमा सञ्चालन भएको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ। हिमाल एशोसिएशनको आयोजना र काठमाडौं महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको २०औँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए।

पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दीगो आरोहण’ थियो।

महोत्सवमा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भए। अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी: अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे।

मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढङ्गले पेश गर्छ। अमेरिकी निर्देशक सीन ओ कनर निर्देशित ‘कुमारी: अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड: लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो। अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो।

नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्तरूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे।

यसपटकको किम्फमा विद्या चापागाईँ र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्न सफल रह्यो।

महोत्सवमा यस वर्ष माइकल पज, जिन्ना ली र किरणभक्त जोशी निर्णायकको भूमिका निर्वाह गरेका थिए। पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको महोत्सवको अन्तिम फिल्म अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो।

मंसिर २७, २०७९ मंगलबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।