न्युड आर्टिस्ट यादवचन्द्र भुर्तेल, जसको लागि रङ्ग र कागज कहिल्यै अश्लील हुँदैन
चित्रकार यादवचन्द्र भुर्तेलको बालमस्तिष्कमा अजिबको प्रश्न घुम्थ्यो- चरा नाङ्गै उड्छ, जनावरहरू नाङ्गै डुल्छन्। किरा फट्याङ्ग्राहरूले पनि त शरीरमा केही लगाउँदैनन्। हामी मान्छेहरू मात्रै किन कपडा लगाउँछौँ होला?
मनमा हुन्डरी जसरी खेलिरहेको यो प्रश्न उनले कसैसँग सोध्न सकेनन्। प्रश्नले पछ्याउन पनि छोडेन।
आठ दशकको जिन्दगी बिताउन लागेका भुर्तेलले आफ्नो विगत सम्झिए, 'चार कक्षामा पढ्थेँ होला, पोखराकै भीमसेनथान मन्दिरमा साथीसँग घुम्न गएको थिएँ। साथीले त्यहाँका खम्बा र झ्यालहरूमा बनाएको नाङ्गो वास्तुकला टुँडाल देखायो। त्यहाँ देखाइएका चित्रहरू अश्लील थिए। ए भगवानहरू पनि त नाङ्गै हुने रहेछन्, समाजले अश्लील भनेको हर्कत गर्दा रहेछन्। मेरो खोज अझै अघि बढ्यो।'
त्यसपछि के चाहियो, फुर्सद भयो कि मन्दिर पुग्न थाले। चक्कर मारेर टुँडाल हेर्ने र फर्कने गर्न थाले। टुँडालमा खोपिएका चित्रहरू कापीमा उतार्न उनलाई खुब मनपर्थ्यो।
'मैले नेपालमा बसेर न्युड आर्ट बनाएँ, नेपालीले बुझेनन्, विदेशीले मात्रै मेरा चित्रहरू किने।' फेरि आफैँले स्पष्टीकरण दिए, 'हुन त त्यो बेला, त्यो समाज थियो नै त्यस्तै।'
यतिसम्मकी, उनी कक्षामा शिक्षकले पढाइरहँदा समेत कापीमा नाङ्गो चित्र कोरिरहन्थे।
विस्तारै टुँडालबाट निस्किएर एक्लो मान्छेको नाङ्गो शरीर बनाउन थाले। जिज्ञासा बढ्दै जाँदा महिलाका शरीरमा उनले धेरै चित्र बनाए। ती चित्र अरूलाई देखाउन भने लजाउँथे।
चित्र कोर्दै, मेट्दै, कोर्दै, मेट्दै उनले धेरै मानवका जननेन्द्रीयहरू बनाए। जति चित्र बनाउँथे, उति मानव शरीरप्रति जिज्ञासा बढेर आउँथ्यो। यही जिज्ञासाले उनलाई अश्लील चित्रकार बनाइदियो। सभ्य समाजमा उनले धेरै आदर्शवादी मानिसहरूसँग लड्नुपर्यो। उनले कोरेका 'न्युड आर्ट' बुझ्ने नेपाली पुस्ता बल्ल जन्मँदैछन्।
माइला दाजुलाई चित्र कोरेको मनै पर्दैनथ्यो
कहिलेकाहीँ यादवचन्द्रलाई आफू अलि छिटो जन्मिएको हो कि झैँ लाग्छ रे।
भन्छन्, 'मैले नेपालमा बसेर न्युड आर्ट बनाएँ, नेपालीले बुझेनन्, विदेशीले मात्रै मेरा चित्रहरू किने।' फेरि आफैँले स्पष्टीकरण दिए, 'हुन त त्यो बेला, त्यो समाज थियो नै त्यस्तै।'
पोखरा- ५ प्रस्याङमा जन्मिए यादवचन्द्र। यादव सानै हुँदा बुवा चक्रपाणिको निधन भयो, आमा नन्दकली एक्लैले ११ भाइ छोरा हुर्काइन्। यादव आठौँ छोरा।
परिवार गरिब थिएन। चितवनमा बिघौँ जमीन थियो। पोखरा भने त्यो समयमा साह्रै नराम्रो। औँलो धेरै लाग्थ्यो रे।
त्यसमाथि यादवचन्द्रको घर तालनजिकै। अहिले पर्यटकीय क्षेत्र भयो, एयरपोर्ट बन्यो, पहिले त हिप्पीले गाँजा खाने, नराम्रा मान्छे बस्ने ठाउँ भनेर कुख्यात थियो।
पोखरामा उनी विभिन्न चित्रकला प्रतियोगितामा भाग लिन्थे। तर पुरस्कार कहिल्यै जितेनन्। त्यसमाथि उनी चित्रकलातिर लागेको परिवारलाई पटक्कै मन पर्थेन।
पढाइमा अब्बल भएकाले यादवचन्द्रका माइला दाजु, भाइ इन्जिनियर बनोस् भन्ने चाहन्थे। उनी भाइले चित्र बनाएको देखे च्यातिदिने, गाली गर्ने गर्थे। दाजुलाई लाग्थ्यो, चित्रकलाले भाइको पढाइ बिगार्छ।
'समय कति छिटै बित्छ है', उनले भने, '२००३ सालदेखि पोखरा-काठमाडौं जहाज चल्न थाल्यो। नत्र १० दिन काठमाडौं पुग्न, १० दिन फर्कन लाग्थ्यो।'
हेडमास्टरले कापी र पेन्सिल निकालेर दिए। उनले हाँसको चित्र बनाए। चित्र देखेपछि नेपाल भाषामा हेडमास्टरले भने, 'ओ मनु ट्यालेन्ट खः।' त्यही पाठशालामा उनले निःशुल्क पढ्न पाए। चित्रकलाका सामान पनि निःशुल्क।
एसएलसी पास भएपछि पहिलोपल्ट २०२१ सालमा जहाज चढेर चितवन पुगेका थिए उनी। १८ रुपैयाँ भाडा थियो, विद्यार्थी छुट १२ रुपैयाँ तिरेका थिए उनले।
काठमाडौंले सिकायो चित्रकला
एसएलसी पास भएपछि उनलाई इन्जिनियर बनाउने उद्देश्यका साथ आइएस्सी पढ्न काठमाडौं पठाइयो। पोखरा छउञ्जेल उकुसमुकुस परेका उनी काठमाडौंमा स्वतन्त्र भए।
त्रिचन्द्र क्याम्पसमा भर्ना भएर पढ्न थालें। भोटाहिटीमा आर के रेष्टुराँ भन्ने निकै चलेको होटल थियो। एक रुपैयाँमा टन्नै जेरी आउँथ्यो। जेरी खान जाँदा विपरीततर्फ जुद्धकला पाठशाला लेखिएको बोर्ड देखे।
यादवचन्द्रले पुराना दिन सम्झँदै भने, 'एकदिन कलेज हापेर हिम्मतका साथ त्यो पाठशालामा पसेँ। चारैतिर घुमेर हेरेँ, त्यो ठाउँ साह्रै राम्रो लाग्यो।'
यादवचन्द्रको चित्रकलाप्रति जिज्ञासु अनुहार देखेर पाठशालाका हेडमास्टरले नजिक बोलाए र भने, 'छेँ गन?'
सुरुमा त उनी अलमलमा परे। पछि नेपालीमा ती हेडमास्टरले सोधे- 'तिमी कहाँबाट आएको?'
उनले आफू पोखराबाट आएको बताएपछि ती मास्टरले 'चित्र बनाउँछौ?' भनेर सोधे। 'असाध्यै रुचि छ गुरुबा, तर पैसा छैन', भने यादवचन्द्रले।
हेडमास्टरले कापी र पेन्सिल निकालेर दिए। उनले हाँसको चित्र बनाए। चित्र देखेपछि नेपाल भाषामा हेडमास्टरले भने, 'ओ मनु ट्यालेन्ट खः।' त्यही पाठशालामा उनले निःशुल्क पढ्न पाए। चित्रकलाका सामान पनि निःशुल्क।
गरिब तथा जेहेन्दार विद्यार्थीको कोटामा महिनाको उल्टै २० रुपैयाँ पैसा समेत पाए। यादवचन्द्रले खित्का छाड्दै भने, 'म धनी बाउको छोरो, गरिब कोटामा पढ्न पाएँ।'
पढ्दै जाँदा थाहा पाएछन्, एसएलसी पास भएर चित्रकला पढ्ने विद्यार्थी त उनी मात्रै, अरू सबै एसएलसी फेल। पछि जुद्धकला पाठशाला महाविद्यालय भयो। उनै हेटमास्टर कालीदास गुरुको प्रेरणाले यादवचन्द्र चित्रकार बने।
चित्र किन न्युड हुन्छ?
लुकाएरै सही यादवचन्द्रले न्युड चित्र बाल्यकालबाटै बनाउन थाले। चित्रकलाकै विद्यार्थी बनेपछि फेरि अर्को जिज्ञासा थपियो- आखिर चित्र न्युड हुन्छ चाहिँ किन?
नवविवाहिता युवतीलाई उसको जँड्याहा श्रीमान्ले जाँडको तालमा अर्धनग्न हुनेगरी कुटेर घर बाहिर निकालिदिएछ। जुनेली रातमा मधुरो स्वरमा सुक्क सुक्क रुँदै शारीरिक र मानसिक पीडा खेपेकी ती नारी देखेर यादवचन्द्र प्रभावित भए। उनले ती युवतीको अर्धनग्न चित्र बनाए। त्यसपछि बल्ल उनको चित्र विदेशी ग्राहकको नजरमा पर्यो।
हनुमान ढोका, पाटन ढोका, कीर्तिपुरका उमामहेश्वरदेखि साँखुका मन्दिरहरूसम्म, कहाँ थिएन नग्नता। पवित्र भनिएका ठाउँमा बिनावस्त्रधारी देवताहरू छन्। पूजा पाठ र पवित्र कार्यमा गोप्य जननेन्द्रीय फुकालेर गएका घटना पनि त छैनन्, साथै लाग्छन्।
यी जिज्ञासाको उत्तर उनले एक पुस्तकालयमा पाए। जहाँ न्युड आर्टका बारेमा लेखिएको थियो। त्यसपछि विदेशी लेखकले लेखेको न्युड आर्ट सम्बन्धी किताब, लेख रचना सबै उनले पढ्न थाले।
'यतिञ्जेलसम्म आफू न्युड आर्टिस्ट बनूँला भन्ने थिएन', यादवचन्द्रले लामो श्वास तान्दै भने, 'एक सेमिनारको सिलसिलामा जापान पुगेँ। त्यहाँ खुकुमोतो भन्ने चित्रकारसँग भेट भयो। खुकुमोतोले नेपाली कला विद्यार्थीलाई समेत प्रोमोट गरिरहेका थिए।'
खुकुमोतोले एक स्केचबुक देखाए। जहाँ सबै न्युड चित्र मात्रै कोरिएको थियो।
यादवचन्द्रले मुस्कुराउँदै भने, 'त्यो स्केच बुक मलाई दिए हुन्थ्यो जस्तो लागेको थियो तर दिएन, दुई वटा न्युड आर्ट सम्बन्धी किताब दिएर पठायो। साथमा खुकुमोतोले प्रश्न सोध्यो- एसियनहरू किन न्युड आर्ट बनाउँदैनन्?'
अनि बल्ल उनलाई न्युड आर्टिस्ट बन्न मन लाग्यो।
पेशाले शिक्षक उनी जागिरको सिलसिलामा सोलुखुम्बु पुगेका थिए। त्यहाँबाट फर्कने क्रममा किराँतछाप भन्ने ठाउँमा बास बस्दा उनले एक घटना देखे।
नवविवाहिता युवतीलाई उसको जँड्याहा श्रीमान्ले जाँडको तालमा अर्धनग्न हुनेगरी कुटेर घर बाहिर निकालिदिएछ। जुनेली रातमा मधुरो स्वरमा सुक्क सुक्क रुँदै शारीरिक र मानसिक पीडा खेपेकी ती नारी देखेर यादवचन्द्र प्रभावित भए। उनले ती युवतीको अर्धनग्न चित्र बनाए। त्यसपछि बल्ल उनको चित्र विदेशी ग्राहकको नजरमा पर्यो।
'मन्दिर जानुहुन्छ, पवित्र ठाउँहरूमा जानुहुन्छ, जननेन्द्रीयहरू साथमा लैजानुहुन्छ कि घरमै राख्नुहुन्छ? मैले त कागजमा बनाएको हुँ। कपडाले ढाकेर साथमै बोकेर हिँड्नुभएको कुरालाई मैले कसरी हेरौँ? कलाकार हुँ, म त सबैथोक नाङ्गै देख्छु।'
उनी भन्छन्, 'मलाई कपडासहित एक फोटो खिच्नुस् र नाङ्गो बनाएर अर्को फोटो खिच्नुस्। शरीर र अनुहारमा देखिने इमोसन फरक हुन्छ।'
श्लील के अश्लील के?
नग्न चित्र बनाएपछि उनलाई पोखराका सभ्य मानिसहरूले अश्लील माने। अश्लील चित्रकारको नाम पनि दिए। समाजमा 'छिछि' र 'दुर्रदुर्र' गरे।
विकृति फैलाएको भन्दै पुलिसमा मुद्दा समेत हाले। रोचक त के छ भने उनलाई समात्न आएका प्रहरी (डीएसपी)ले चित्र किनेर गए।
उनका चित्रका ग्राहक अनेकथरी छन्- 'एकपटक दुई दार्जिलिङका महिला ग्यालरीमा छिरे, दुवै शिक्षिका रहेछन्। एउटीले भनिन्- यहाँ त छाडा चित्र रहेछन्, छि हिँड्। मलाई अपराधी रहेछु भन्ने अनुभूति भयो। अर्की शिक्षिकाले भने विदेशका चित्रहरू यस्तै हुन्छन् भनेर सम्झाइन्।'
यादवचन्द्रलाई ती शिक्षिकाको भनाइ सहनै मुस्किल पर्यो। अनि जवाफ दिए, 'मिस मेरो ग्यालरीमा पस्नुभयो, आभारी छु। मेरो चित्रलाई हेरेर मलाई प्रहार गर्नुभयो। भन्नुस्, मेरो कुन कला अश्लील छ? रङ्ग र कागज कहिल्यै अश्लील हुँदैन।'
विगत सम्झेर रिसाउँदै उनी रातो भए। नरोकिएर भने- 'मन्दिर जानुहुन्छ, पवित्र ठाउँहरूमा जानुहुन्छ, जननेन्द्रीयहरू साथमा लैजानुहुन्छ कि घरमै राख्नुहुन्छ? मैले त कागजमा बनाएको हुँ। कपडाले ढाकेर साथमै बोकेर हिँड्नुभएको कुरालाई मैले कसरी हेरौँ? कलाकार हुँ, म त सबैथोक नाङ्गै देख्छु।'
नग्न चित्र बेचेरै घर बनाएँ
यादवचन्द्र धनी घरमा हुर्किए। तर पैतृक सम्पत्ति कता हरायो, हरायो। अन्त्यमा उनले चित्र बेचेरै घर बनाए, छोराछोरी पढाए।
उनका चित्र किन्नेहरू सबै विदेशी।
कलाकार दुर्गा बराल (वात्स्यायन), विश्व शाक्य, गोपाल श्रेष्ठ र यादवचन्द्र मिलेर एउटा सानो ग्यालरी खोलेका थिए पोखरामा। पछि यो सरेर पोखरा नागढुङ्गामा पुग्यो।
नाम 'को अपरेटिभ ग्यालरी'। उक्त ग्यालरीमा वात्स्यायनको सबैभन्दा धेरै चित्र बिक्थ्यो, त्यसपछि यादवचन्द्रको।
उनका न्युड, सेमिन्युड चित्र विदेशीले खुब मन पराउँथे। पछि अन्य कलाकारहरू आ–आफ्नो बाटो लागे, को अपरेटिभ ग्यालरीलाई निजीकरण गर्दै यादवचन्द्रले 'फाइन आर्ट ग्यालरी' बनाए। अहिले यो ग्यालरी जीर्ण अवस्थामा छ।
फाइन आर्ट ग्यालरी नयाँ पुस्ताले हेरिदेओस् जस्तो लाग्छ यादवचन्द्रलाई। छोराछोरी आ–आफ्नै काममा व्यस्त छन्। उनी पहिलेजस्तो ग्यालरीमा समय बिताउन सक्दैनन्।
घरमै बसेर चित्र कोर्छन्। घर र ग्यालरीको दूरी झण्डै एक किलोमिटर जति छ।
मंसिर २७, २०७९ मंगलबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।