गण्डकी प्रदेश सभा: ठूला दलले कुन जिल्लाबाट कसलाई सांसद सिफारिस गरे ?
पोखरा: गण्डकी प्रदेश सभामा मुख्य राजनीतिक दलहरूले समानुपातिकतर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा समानुपातिक प्रणालीबाट २४ सांसद चुनिन्छन्।
गण्डकी प्रदेश सभामा प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रत्यक्षतर्फ १८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेले समानुपातिकमा नौ सिट जितेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी २७ सिट जितेको छ।
कांग्रेसबाट एक जना पनि महिला प्रत्यक्ष निर्वाचित नभएकाले समानुपातिकबाट सबै सिटमा महिलाले अवसर पाएका छन्।
यस्तै एमालेले प्रत्यक्षमा १२ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। समानुपातिकमा भने एमाले १० सिट जित्दै प्रदेश सभामा २२ सिट सुरक्षित गरेको छ।
त्यस्तै गण्डकी प्रदेश सभामा तेस्रो ठूलो दल माओवादी केन्द्र बनेको छ। माओवादीले प्रदेश सभामा प्रत्यक्षमा पाँच र समानुपातिकमा तीनसहित आठ सिट जितेको छ।
यसअघि प्रदेश सभामा शून्य अवस्थामा रहेको राप्रपाले समानुपातिकमा दुई सिट पाएको छ।
दलहरूले सिफारिस गरेको समानुपातिक सांसदमा सबैभन्दा बढी बागलुङका छन्। प्रदेशका ११ जिल्लामध्ये बागलुङबाट राप्रपाबाहेकका तीनै ठूला दलले समानुपातिक सांसद सिफारिस गरेका छन्।
कांग्रेसले बागलुङबाट चम्पादेवी खड्का र दिलमाया पौवीको नाम सिफारिस गर्दा एमालेले लीलबहादुर थापामगर, बिनाकुमारी थापा, कृष्णप्रसाद पाठक र गोविन्दबहादुर नेपालीलाई प्रदेश सभामा पठाउने निर्णय गरेको छ।
यस्तै, माओवादीबाट कुसुम बुढालाई सांसद बनाउन सिफारिस गरिएको छ।
त्यस्तै समानुपातिकमा धेरै सांसद सिफारिसमा पर्ने जिल्लामा कास्की दोस्रो रहेको छ। कास्कीबाट पाँच जनाको नाम सांसदमा सिफारिस गरिएको छ।
एमालेले कास्कीबाट प्रकाशबहादुर केसी, देवका त्रिपाठी, नन्दकला दमै र राजकुमारी भुजेललाई सांसद बनाउने निर्णय गरेको छ।कास्कीबाट कांग्रेसले सरस्वती गुरुङलाई सांसद बनाउने भएको छ।
यस्तै स्याङ्जाबाट कांग्रेसले कल्पना तिवारी र सरस्वती अर्याल तिवारीलाई सांसद बनाउने भएको छ। उनीहरू नाताले दिदीबहिनी हुन्।
एमालेले निर्मला थापालाई स्याङ्जाबाट सांसद चुनेको छ। त्यस्तै राप्रपाले प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई सांसदमा सिफारिस गरेको छ।
पर्वतबाट कांग्रेसकी रेखा गुरुङ, म्याग्दीबाट विमला गौचनलाई सांसदमा सिफरिस गरिएको छ। त्यस्तै गोरखाबाट माओवादीकी सुशीला सिम्खडा र नवलपुरकी दमयन्ती रुचाललाई सांसद बनाइने भएको छ।
लमजुङबाट एमालेकी यशोदा रिमाल, कांग्रेसबाट टीकाकुमारी बस्याल र पार्वती तामाङलाई प्रदेश सांसदमा सिफारिस गरिएको छ।राप्रपाले लमजुङबाट बिन्दु अधिकारी पहाडीलाई सांसद बनाएको छ।
मंसिर २५, २०७९ आइतबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।