गण्डकीमा कांग्रेसले समानुपातिक तर्फका सांसदको नाम टुंगायो

पोखरा : नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा पठाउने समानुपातिक तर्फका सांसदको नाम टुंगाएको छ।
शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले गण्डकीका विभिन्न जिल्लाबाट समानुपातिकमा पठाउनेहरूको नाम टुंगो लगाएको हो।
गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १८ सिट जितेर सबै भन्दा ठूलो दल बनेको कांग्रेसले समानुपातिका दोस्रो हुँदै ९ सिट जितेको थियो। आरक्षण कोटामा कांग्रेसबाट एक जना पनि महिला प्रत्यक्ष निर्वाचित नभएपछि समानुपातिकबाट सबै महिलाले अवसर पाएका छन्।
कांग्रेसले दलित महिला तर्फ दिल माया पौबी र टीकाकुमारी बस्याललाई चयन गरेको छ। त्यसैगरी जनजाति महिलातर्फ विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ।
यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन्। उनीहरू सबै बन्दसूचीमा रहेको नामबाट चयन भएका हुन्। कांग्रेसले गण्डकीमा ९ जना सामानुपातिकमा सांसद पाएको थियो।
यस्तै, एमालेले १०, माओवादीले ३ सीट पाएको छ। समानुपातिकसहित नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रदेशमा कांग्रेसले प्रत्यक्ष, समानुपातिकसहित २७ सिट जित्दा, एमालले २२, माओवादी केन्द्रले ८, राप्रपा २ र राजिब गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेर सँगै एक सिट नेकपा एकिकृत समाजवादीको रहेको छ।
मंसिर २४, २०७९ शनिबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।