वीर अस्पतालमा डा. अनिल र डा. पारसको टिमले गरेको मिर्गौला प्रत्यारोपण फेरि असफल, थाहा नभएझैँ गरी पन्छिए अस्पताल प्रमुख
वीर अस्पतालका युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठको टिमले गरेको मिर्गौला प्रत्यारोपणमा फेरि समस्या निम्तिएको खुलेको छ।
डा. अनिल र डा. पारसबाट मंगलबार (मंसिर २० गते) मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मिर्गौलाले काम नगरेको र पिसाब नआएको अस्पताल स्रोतले जानकारी दिएको छ।
‘डा. अनिल श्रेष्ठ र डा. पारस श्रेष्ठले प्रत्यारोण गर्नुभएको मिर्गौला प्रत्यारोपण असफल भएको देखिन्छ’, अस्पताल स्रोतले भन्यो।
अस्पताल स्रोतका अनुसार मिर्गौलादाता ६५ वर्षीया महिला हुन् भने मिर्गौला प्रत्यारोपण गरिएका (मिर्गौला लिने) व्यक्ति ३३ वर्षीय पुरुष हुन्। अस्पताल स्रोतका अनुसार यी दुई आमा-छोरा हुन्।
डा. अनिल र पारसको टिमले मंगलबारै मिर्गौला प्रत्यारोपण गरे पनि शुक्रबारसम्म पनि बिरामीको पिसाब आएन। चिकित्सकका अनुसार शल्यक्रिया गर्नासाथ मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको पिसाब आउन थाल्छ।
‘प्रायजसो अप्रेशन गर्नासाथ अप्रेशन टेबलदेखि नै पिसाब आउन थाल्छ। त्यसको भोलिपल्ट, पर्सिपल्ट गरेर धेरै नै पिसाब आउँछ’, एक चिकित्सकले भने, ‘तर, तीन दिन भयो आज। यी बिरामीको चाहिँ दिनमा जम्मा सय, डेढ सय एमएल मात्रै पिसाब आएको छ।’
प्रत्यारोपण असफल भएपछि बिरामीलाई डाइलाइसिस गराइरहेको ती चिकित्सकले जानकारी दिए। प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेको अवस्थामा बिरामीको डाइलाइसिस नै गर्नुपर्ने हुन्छ।
हाल ती बिरामीको प्रत्यारोपण गरिको मिर्गौलामा के खराबी छ भन्ने पत्ता लगाउन मिर्गौलाको टुक्रा निकालेर बायोप्सीका लागि पठाएको अस्पताल स्रोतले जानकारी दिएको छ।
चिकित्सकका अनुसार बायोप्सी रिपोर्टको आधारमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्छ वा गर्दैन भन्ने निर्क्योलमा पुग्न सकिन्छ। यसरी पिसाब नआउँदा प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेर मिर्गौला नै कुहिने जोखिम हुन्छ। त्यस्तो अस्वथामा बिरामीको ज्यान समेत जाने जोखिम हुन्छ।
‘कहिलेकाहिँ प्रत्यारोपण गरेको मिर्गौला काम नलाग्ने भइरहेको हुन्छ’, एक चिकित्सकले भने, ‘कुहिन थालेको हुन्छ। त्यस्तो अवस्थामा प्रत्यारोपण गरेको मिर्गौला नै निकाल्नुपर्ने हुनसक्छ।’
मिर्गौला प्रत्यारोपणमा संलग्न डा. पारसमणिसँग सम्पर्क गर्दा उनले प्रत्यारोपणपछि ती ३३ वर्षे पुरुषमा समस्या निम्तिएको स्वीकारे। तर, प्रत्यारोपण गरिएको मिर्गौलाले शुक्रबारबाट काम गर्न थालेको डा. पारसको दावी छ।
‘आज (शुक्रबार) बिहानदेखि काम गर्न थालिसकेको छ। विस्तारै विस्तारै पिकअप लिन्छ’, डा. पारसले भने।
तर, कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्रकुमार बस्नेतले भने ती ३३ वर्षे पुरुषको मिर्गौला प्रत्यारोपणपछि मिर्गौलाले काम नगरेको विषयमा अनभिज्ञता जनाए।
'डा. पारस र डा. अनिलको टिमले मंगलबार गरेको मिर्गौला प्रत्यारोपण असफल भयो भन्ने सुनियो, यसबारेमा जानकारी पाउनु भएको छ की छैन?' भन्ने जिज्ञामा डा. बस्नेतले भने, ‘मलाई जानकारी छैन। पछि भनौँला।’
डा. बस्नेतले मिर्गौला प्रत्यारोपण असफल भएको विषय आफूसमक्ष जानकारीमा नआइपुगेको बताउँदै भने, ‘कति कुरा मेरो टिमलाई भनेको हुन्छ। मलाई थाहा नहुन सक्छ।’
यी पनि,
मिर्गौला प्रत्यारोपणमा समस्या निम्तिएपछि युरो सर्जरी विभाग, अस्पताल प्रशासन र अस्पताल प्रमुखलाई समेत डा. अनिल र डा. पारसले जानकारी नगराएको डा. बस्नेतको भनाइबाटै पुष्टि हुन्छ।
उकेराले शुक्रबार बेलुका सम्पर्क गर्दा डा. अनिलको मोबाइल भने 'स्वीच अफ' थियो। अस्पताल स्रोतका अनुसार डा. अनिलको बुधबारदेखि नै फोन स्वीचअफ छ र उनी अस्पताल पनि गएका छैनन्। तर, पारस भने अस्पताल आइरहेको अस्पताल स्रोत बताउँछ।
मिर्गौला प्रत्यारोपणमा समस्या भएपछि प्रत्यारोपणमा खटिएको चिकित्सकको टिमले अस्पताल प्रशासन तथा अस्पताल प्रमुखलाई समेत जानकारी नगराउनु गम्भीर समस्या देखिन्छ।
यसअघि कात्तिक १ गते पनि वीर अस्पतालमा नै धादिङको गल्छी गाउँपालिकाकी ३२ वर्षीय महिलाको मिर्गौला प्रत्यारोपण पनि असफल भएको थियो।
त्यो बेला पनि डा. अनिल र डा. पारस नै ती महिलाको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए। ति महिलालाई ५८ वर्षीय सासूले मिर्गौला दान दिएकी थिइन्।
तर, सासू (दाता) बाट मिर्गौला झिकेपछि झिकिएको त्यो मिर्गौला प्रत्यारोपणको लागि अयोग्य भएको भन्दै डा. अनिल र डा. पारसको टिमले ३२ वर्षे ति महिलामा मिर्गौला प्रत्यारोपण नै गरेको थिएन।
झिकिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य भएको भन्दै वीर अस्पतालबाहिर परीक्षणका पठाइएको थियो।
ती महिलाको लागि सासुबाट झिकिएको मिर्गौला के कारणले प्रत्यारोपण भएन, त्यसमा प्रत्यारोपणमा संलग्न चिकित्सकको गल्ति वा त्रुटि केही छ कि भन्ने विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ।
त्यो बेला पनि मिर्गौला प्रत्यारोपण नभएको अवस्थामा समेत डा. अनिल र डा. पारसको टिमले अस्पतालको सम्बन्धित विभाग र अस्पताललाई समेत जानकारी नगराएको खुलेको थियो।
त्यो बेलादेखि नै स्थगित भएको मिर्गौला प्रत्यारोपण पुनः मंगलबार सुरु भए पनि पहिलो प्रत्यारोपणमा नै समस्या निम्तिएको एक चिकित्सकले जानकारी दिए।
‘अस्तिको घटनापछि ट्रान्सप्लान्ट रोकिएको थियो’, ती चिकित्सकले भने, ‘त्यसपछिको पहिलो हो यो। यसपालि पनि त्यही टिम (डा. अनिल र डा. पारस)ले ट्रान्सप्लान्ट गरेको हो। तर, फेरि समस्या निम्तियो।’
यसरी पटक पटक मिर्गौला प्रत्यारोपणमा समस्या निम्तनु गम्भीर विषय भएको अस्पतालका एक व्यवस्थापकीय भूमिकामा रहेका उच्च तहका चिकित्सकले बताए।
ती चिकित्सकले यस विषयमा आफूलाई समेत जानकारी नभएकाले जानकारी लिने बताए।
अब के?
मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको प्रत्यारोपणपछि पिसाब नआएको र क्रेटिनिन्को मात्रा पनि नघटेको अर्का एक चिकित्सकले बताए। भने, ‘प्रत्यारोपणपछि पिसाब गर्न थाल्नुपर्छ अनि क्रेटिनिन् घट्न थाल्नुपर्छ।’
चिकित्सकका अनुसार मिर्गौलाले कत्तिको काम गरेको छ भनेर क्रेटिनिन् मात्रा परीक्षण गरिन्छ। मिर्गौला प्रत्यारोपणपछि पिसाब गर्न थालेको र क्रेटिनिन्को मात्रा घट्दै गएको अवस्थामा मिर्गौला प्रत्यारोपण सफल भएको मानिन्छ।
तर, पिसाब पनि नहुने अनि क्रेटिनिन्को मात्रा पनि नघटेको अवस्थामा मिर्गौला प्रत्यारोपण असफल हुने सम्भावना बलियो हुँदै जाने चिकित्सक बताउँछन्।
मिर्गौला प्रत्यारोपण गरिएका ती ३३ वर्षे बिरामीको भने पिसाब नआएको र क्रेटिनिन् पनि नघटेकाले मिर्गौला प्रत्यारोपणको असफलताको लक्षण बढ्दै गएको देखिएको चिकित्सकले बताए। एक चिकित्सकले यसरी प्रत्यारोपणपछि मिर्गौलाले काम नगर्नुलाई प्रत्यारोपण असफल नै भएको मानिने बताए।
बायोप्सी रिपोर्टपछि मात्रै मिर्गौलाले काम गर्ने वा नगर्ने भन्ने विषय यकिन गरेर भन्न सकिने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपण गर्दाकै अवस्थामा प्रत्यारोपण गरिनुपर्ने व्यक्तिको शरीरमा मिर्गौला म्याच नभएर प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले तुरुन्तै नलिएर काम नगर्दा मिर्गौला प्रत्यारोपण असफल हुन्छ। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘हाइपर अक्युड रिजेक्शन’ भनिन्छ।
प्राविधिकरूपमा प्रत्यारोपणका लागि योग्य भएको मिर्गौलाले प्रत्यारोपणपछि पिसाब नबनाउनुलाई हाइपर अक्युड रिजेक्शन भन्न सकिने देखिएको एक चिकित्सकले बताए।
‘यदि टेक्निकली मिलेको छ र यो केसमा पिसाब बनाएन भने त हाइपर अक्युड रिजेक्शन हुनसक्छ।’
तर, बायोप्सि रिपोर्ट नआई के समस्या हो भन्न नसकिने ती चिकित्सकले बताए। बायोप्सी रिपोर्ट आए नआएको यकिन नभए पनि शुक्रबार दिउँसोसम्म रिपोर्ट आएको नदेखिएको अस्पताल स्रोतले बतायो।
चिकित्सकका अनुसार प्रत्यारोपण गरेको १/२ दिनसम्म पिसाब नभएको खण्डमा किन पिसाब भएन भनेर कारण पत्ता लगाइन्छ। दुई दिनसम्म पनि पिसाब नभएको खण्डमा प्रायजसोको पिसाब नै नहुने र प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगर्ने जोखिम बढ्दै जाने चिकित्सक बताउँछन्।
‘अप्रेशनपछि पिसाब भएन भने १/२ दिन औषधि दिँदै अब्जर्भ गर्ने हो,’ एक चिकित्सकले भने, ‘दुई दिनसम्म पनि पिसाब भएन र क्रेटिनिन् घटेन भने प्रत्यारोपण गरेको मिर्गौलाले काम नगर्ने जोखिम बढी हुन्छ।’
यसअघि पनि यस्ता समस्या देखिने गरेको डा. पारसमणिले सुनाए। यस्तो समस्या कत्तिको हुन्छ? भन्ने जिज्ञासामा डा. पारसले भने, ‘हुन्छ। एकदेखि दुई प्रतिशतमा हुन्छ। टेबुलमा नै पिसाब बनिसकेको थियो।’
तर, मिर्गौला प्रत्यारोपणपछि पिसाब नहुने यस्तो समस्या न्यून मात्रा निम्तने सक्ने चिकित्सक बताउँछन्। किनकि मिर्गौला प्रत्यारोपण गर्नुपूर्व मिर्गौला दिने र लिने दुवैको स्वास्थ्य परीक्षण गरिएको हुन्छ।
स्वास्थ्य परीक्षणपछि मिर्गौला प्रत्यारोपण गरिने, मिर्गौला स्वस्थ छ छैन, प्रत्यारोपण गर्न मिल्छ वा मिल्दैन भन्ने लगायतका विषयको यकिन गर्नका लागि प्रत्यारोपण गर्नुअघि नै निर्क्योल गरिन्छ। सबै चेकजाँचपछि मात्रै प्रत्यारोपण गरिन्छ।
‘यस्तो समस्या एकदमै न्यून हुन्छ', ती चिकित्सकले भने, ‘सबै जाँच गरेर ट्रान्सप्लान्ट गरिने भएकाले १/२ प्रतिशतभन्दा बढीमा यस्तो समस्या निम्तिँदैन।’
मिर्गौला दाता र मिर्गौला लिने दुवै वीर अस्पतालमा नै रहेको अस्पताल स्रोतले बतायो।
मंसिर २४, २०७९ शनिबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।