फ्रान्सले १८ देखि २५ वर्षका युवायुवतीलाई नि:शुल्क कन्डम दिने

फ्रान्सले १८ देखि २५ वर्षका युवायुवतीलाई नि:शुल्क कन्डम दिने

एजेन्सी : यौन सम्पर्कबाट सर्ने संक्रमण कम गर्न फ्रान्सले युवाहरूलाई आगामी जनवरीदेखि नि:शुल्क कन्डम दिने भएकाे छ।

फ्रेन्च राष्ट्रपतिले बिहीबार युवाहरूको स्वास्थ्यका लागि एउटा कार्यक्रमको घोषणा गर्दै उक्त नयाँ उपायको सुरुवात गरेका हुन्।

युवाहरूले फार्मेसीबाट कन्डमहरू लिनसक्ने राष्ट्रपति एमानुएल माक्रोँले बताए।उनले उक्त कदमलाई 'गर्भनिरोधका क्षेत्रको एउटा सानो क्रान्ति' भनेका छन्।

सन् २०२० र २०२१ मा फ्रान्समा याैन संक्रमणबाट सर्ने संक्रमण दरमा ३० प्रतिशत वृद्धि भएको थियो।

सन् २०१८ मा फ्रेन्च सरकारले चिकित्सक वा मिडवाइफको सिफारिसमा फार्मेसीहरूबाट खरिद गर्ने व्यक्तिहरूले कन्डमका लागि तिरेको रकम फिर्ता गर्न थालेको थियो।

यसै वर्षको सुरूमा सरकारले २६ वर्षसम्मका सबै महिलाका लागि गर्भनिरोधक साधन निःशुल्क गरेको थियो। त्यसले ३० लाख महिला लाभान्वित भएका थिए।

गर्भनिरोधक सामग्री यसअघि १८ वर्ष वा सोभन्दा कम उमेरका महिला र युवतीका लागि निःशुल्क थियो। माक्रोँले बिहीबार एक ट्वीट गर्दै उक्त नयाँ योजना अन्य स्वास्थ्यसम्बन्धी उपायहरूसँगै सञ्चालन हुने जानकारी दिए।

मंसिर २३, २०७९ शुक्रबार २२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।