अनुमतिपछि कारबाहीकाे चेतावनी दिएर बाेर्डले दाेहाेराे चरित्र देखायाे : महासचिव महर्जन
काठमाडौं : कतारमा जारी विश्वकप फुटबल सिनेमा हलमा देखाउने विषयमा विवादित बनेको छ।
सिनेमा हलले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै त्यसो नगर्न निर्देशन दिएको थियो।
बोर्ड अध्यक्ष भुवन केसीले सम्बन्धित हलहरूलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका थिए।
चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम फिल्ममात्र प्रदर्शन गर्न गरिएको बोर्ड अध्यक्ष केसीको आग्रहमा नेपाल चलचित्र सङ्घले आपत्ति जनाएको छ।
सङ्घका महासचिव नरेन्द्र महर्जनले बोर्डकै तर्फबाट विश्वकप देखाउन अनुमति पाएपछि तयारी थालिएको बताए।
बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरूलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्मसरह प्रदर्शन गर्नका लागि कोडसहितको मेल गरेका थिए। जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभीकोड प्रयोग गर्न आग्रह गरेका थिए।
‘बोर्डले विकास शुल्क तिरेर विश्कप फुटबल देखाउन पाइने बताएपछि हामीले स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर तयारी गर्यौँ’, महासचिव महर्जनले भने, ‘बोर्डको यस्तो निर्णयले हामी व्यवसायीलाई नै असर गरिरहेको छ, बोर्ड सच्चिनु जरुरी छ।’
महर्जनले पूर्वनिर्धारित कार्यक्रमअनुसार इच्छुक हललाई विश्वकप देखाउन भनेका छन्। संघले आवश्यक सम्पूर्ण स्वीकृति लिएको उनले जानकारी दिए।
मंसिर २३, २०७९ शुक्रबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।