प्रेग्नेन्सी फोटोग्राफर सिरु जसको क्यामरामा कैद छन् १५ सय महिलाको गर्भावस्था

प्रेग्नेन्सी फोटोग्राफर सिरु जसको क्यामरामा कैद छन् १५ सय महिलाको गर्भावस्था

एक कलाकारका लागि आफ्नो कला नै लुकाउनु पर्ने अवस्था आयो भने कति मन चस्स होला ! आफूले गरेको काम सार्वजनिक होस् अनि सकारात्मक या रचनात्मक प्रतिक्रिया आउन् भन्ने लाग्नु मानवीय स्वभावै त हो।

प्रेग्नेन्सी फोटोग्राफर सिरु भुर्तेललाई पनि आफूले खिचेका तस्बिरहरू सार्वजनिक होउन् अनि त्यसबारे प्रतिक्रिया आओस् भन्ने लाग्छ नै। यो बिचमा उनले १५ सय भन्दा बढी गर्भावस्थाको तस्बिर खिचिसकेकी पनि छिन्।

जो जतिले उनले खिचेका तस्बिर हेरेका छन् 'वाउ' नै भनेका छन्। तर उनले खिचेका ७५ प्रतिशत तस्बिर सार्वजनिकै हुन्न।

सामान्यदेखि सेलिब्रिटीहरुसम्मको प्रेग्नेन्सी अनि बच्चाको फोटो सुट गरेकी छिन् उनले। उनले आफ्नो सोखलाई पेसा नै बनाएको १० वर्ष भइसक्यो। उनीसँग फोटो खिच्न आउनेहरू पनि टन्नै छन्। तर जति फोटो खिचाउन आउँछन् उनीहरू सामाजिक आलोचनाको भयले आफ्नो प्रेग्नेन्सी अवस्थाको तस्बिर सार्वजनिक गर्न डराउँछन्।

'आफूले गरेको काम सार्वजनिक होस् अनि रचनात्मक प्रतिक्रिया आओस् भन्ने जसलाई पनि लागिहाल्छ,' उनले उकेरासँग भनिन्' सोखले प्रेग्नेन्सी र भर्खर जन्मिएका बच्चाहरूको फोटो खिच्ने व्यवसाय नै बन्यो। तर अधिकांश आफ्नो कला ग्राहकमै सीमित हुँदा कस्तो-कस्तो त लाग्छ नै।'

उनले खिचेका सबै तस्बिर केवल ग्राहकको डिजिटल एल्बममा मात्र लुकेका छैनन्। केही तस्बिर सार्वजनिक वृत्तमा आएका पनि छन्। उनले खिचेका तस्बिरबारे बहस पनि भएका छन्।

तर जुन मात्रामा सार्वजनिक हुनुपर्ने हो त्यो रूपमा भने हुन सकेको छैन। त्यसलाई उनी नेपाली समाजमा रहेको प्रेग्नेन्सी फोटो सुट प्रतिको नकारात्मक धारणा कारक मान्छिन्।

'गर्भावस्था भनेको पछ्यौराले पेट ढाक्दै हिँड्ने समय हैन। त्यो त सेलिब्रेसन गर्ने अवस्था हो। त्यो क्षणलाई सम्झनामा राख्ने समय हो,' उनले भनिन्' तर नेपालमा अहिले पनि गर्भावस्थाको तस्बिर खिचेर सार्वजनिक गर्दा कसैले बच्चा नपाएको जस्तो के पेट देखाएर फोटो खिचाएको होला भन्ने प्रक्रिया आउँछ। यो राम्रो हैन।'

भाइ-बुहारीको सुटबाट सुरु भएको यात्रा

सिरु परिवारकी कान्छी छोरी।  तीन दाजुभाइ र एक दिदी छन् उनको। उनका बुबा पेसाले शिक्षक अनि प्यासनले कलाकार त्यो पनि न्युड आर्टिस्ट। उनको दाइ पनि कलाकार।

उनको बाल्यकाल सुखमय नै भयो। लाडप्यारमै बित्यो बाल्यकाल। कतिले उनका बुबालाई कति ‘अश्लील’ चित्र बनाएका हुन् पनि नभनेका हैनन्।तर उनका बुबाले कला बुझेका थिए। उनी आफ्नो कलाबारे आएको प्रतिक्रियाले हतोत्साहित भएनन्।

‘बुबा नै कलाकार भएकाले पनि होला हाम्रो परिवार खुल्ला सोचको छ। आफूले मन लागेको काम गर्नुपर्छ भनेर बुबाले नै सिकाउनु भयो,' उनले भनिन् ‘पढाइसकेपछि केही समय अन्य काम गरे पनि मैले प्यासनको रूपमा रहेको फोटोग्राफीलाई नै पेसा बनाएँ। यो सबै परिवारले सिकाएको ‘ओपन माइन्ड’को संस्कार र सहयोगले नै सम्भव भएको हो।'

पोखरामा जन्मे-हुर्केकी सिरुले आफ्नो प्रमुख फोटो स्टुडियो पनि त्यही खोलिन्। कार्यालयको शाखा काठमाडौँको डिल्लीबजारमा पनि छ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी सिरुले विभिन्न प्रोजेक्टमा १० वर्ष काम गरिन्। सन् २०११ मा उनले फोटोग्राफीको तालिम लिइन्। क्यामेरा मंहगै पर्ने। उनका दाजु विदेशमा थिए। उनले क्यामेरा पठाइदिए क्यानोनको ६५० डी।

त्यसपछि त सिरुले ट्रेकिगं गर्दा होस् वा पारिवारिक जमघट हुँदा क्यामेरा निकालिहाल्न थालिन्। उनीसँगै हिड्ने साथीहरूले समेत 'तैँले त राम्रो फोटो खिच्छेस्' भन्न थाले। 

पेसाले विभिन्न प्रोजेक्टहरूमा काम गरे पनि उनको प्यासन फोटोग्राफी नै थियो। बजारतिर गएको बेला उनको ध्यान बच्चाहरूको पोस्टरले तान्थ्यो। तर सबै विदेशी।

‘बच्चाहरूको राम्रा राम्रा पोजमा फोटो खिचिएको हुन्थ्यो। म पसलतिर गएको बेला त्यही हेरिरहन्थे। कसरी खिच्ने होला भन्ने लागिरहन्थ्यो,' उनले भनिन्।

उनले पहिला ल्याण्डस्केपका फोटोहरू  खिच्न थालिन्। तर त्यसमा मन बस्न सकिरहेको थिएन। उनको दिमागमा भर्खर जन्मिएको कलिलो बालबालिकाको तस्बिर नै छाइरहेको थियो। तर कसको खिच्नु?

भर्खर जन्मिएको बालबालिकाको तस्बिर १८ दिनभित्र खिचिसक्नु पर्ने अन्तर्राष्ट्रिय नियम रहेको जानकारी पाइन् उनले। बच्चाको शारीरिक विकास क्रमका आधारमा दिन तोकिएको रहेछ।

तर हिन्दु संस्कारमा ११ दिनसम्म त सुत्केरीलाई छुन हुँदैन भनिन्छ। नयाँ कपडा समेत लगाइदिन नहुने संस्कारले गर्दा उनलाई सुरुवातमा सकसै पर्यो।

उनको बुहारी गर्भवती भइन्। तस्बिर खिच्न रोकटोक हुने कुरै भएन। भर्खर जन्मिएको बच्चाको फोटो खिच्ने धोको घरमै पुरा भयो।

उनले विभिन्न पोजमा फोटो खिचिन्। उनले घरमा तस्बिर राखिन्। घरमा आउने आफन्तहरूले 'कति राम्रो फोटो' भन्दै उनको प्रशंसा गरे।

साथी सर्कल आमा बन्दा 'लौ न मेरो बच्चाको पनि फोटो खिच्दे' भन्न थाले। उनको एक वर्ष यसरी नै सोखको रूपमा बित्यो।

‘प्यासन भएकाले साथी सर्कलमा जो गर्भवती भए पनि फोटो खिच्न अनुरोध गर्थे' उनले भनिन्' कतिले आफैँ अनुरोध गर्थे। कतिलाई मनाउन पर्थ्यो।'

उनको तस्बिर खिच्ने गति बढ्दै गएपछि अब स्टुडियो नै खोले पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो। अनि उनले पोखरामा स्टुडियो नै खोलिन्। प्यासन उनको पेसा बन्यो।

सन् २०१५ मा बुहारीको तस्बिर खिचेर सुरु भएको उनको पेसा सन् २०२२ सम्म आइपुग्दा उनले ९ सय बढी भर्खर जन्मिएका बालबालिका अनि १५ सय हाराहारीको गर्भावस्थाको तस्बिर खिचिसकेकी छिन्। यसरी तस्बिर खिचाउनेमा सबैभन्दा धेरै उनका ग्राहक स्वास्थ्यकर्मी हुन्।

अधिकांशले तस्बिर सार्वजनिक नगर्नु भन्छन् रे। उनी गर्दिनन् पनि। जसले सार्वजनिक गर्न स्वीकृति दिन्छन् उनीहरूको मात्र सार्वजनिक गर्छिन् उनी।

गर्भोत्सवमा केको लाज ?

युरोप-अमेरिकातिर गर्भावस्था र भर्खर जन्मिएका सन्तानको फोटो सुट गराउनु सामान्य नै हो। उनीहरू गर्भावस्थालाई उत्सवको रूपमा मनाउँछन् न कि लाजको विषय।

त्यही देखेर नेपालमा पनि फाट्टफुट्ट केही सेलिब्रिटीहरुले गर्भावस्थाको तस्बिर सार्वजनिक नगरेका हैनन्। तर यसरी तस्बिर सार्वजनिक भएपछि उनीहरूको निकै आलोचना भयो। धेरैले तस्बिरलाई उत्सवको रूपमा लिनै सकेनन्। लाजको रूपमा लिए।

नायिका ऋचा घिमिरेको गर्भावस्थाको तस्बिर पहिलो पटक पत्रिकामा छापिँदा हङ्गामै भएको थियो। उनले पुरै लुगा लगाएकी थिइन्। तै पनि आलोचना भयो। अर्की कलाकार क्षितिजा शाक्यले २०७२ तिर गर्भावस्थामा भुँडी नै देखिने गरी फोटो सुट गराइन्। त्यो पनि मिडियामा आयो। चर्चा हुने भइहाल्यो।

उनीहरूले सकारात्मक कामै गरेका थिए। तर समाजले त्यसलाई सहज रूपमा लिनै सकेन। २०७६ तिर कलाकार सिर्जना सुब्बाले आफ्नो गर्भावस्थाको चिनोको रूपमा तस्बिर खिचेर सार्वजनिक गरिन्।

उनको यति धेरै आलोचना भयो कि कुनै ठुलै अपराध गरे जस्तै अनुभव गरायो समाजले। 'कुकुरले पनि जन्माउँछ बच्चा, यसरी भुँडीको फोटो खिचेर देखाउनुपर्ने, के गर्या यो' भन्ने खालका प्रतिक्रिया आए।

तर यो क्रम रोकिएन। अभिनेत्री प्रियङ्का कार्की गर्भवती भइन् कोरोनाकालमा। उनले सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाका तस्बिरहरू टन्नै सार्वजनिक गरिन्।

उनको पनि आलोचना नभएको हो र। तर उनले वास्तै गरिनन्। आफ्नो गर्भावस्थालाई उत्सव बनाइन्। आलोचनाले उनको तस्बिर सार्वजनिक हुने क्रम रोकिएन।

त्यसपछि त निशा अधिकारी, माल्भिका सुब्बा, विनीता बराल अनि श्वेता खड्का सबैले गर्भावस्थालाई गर्भोत्सव बनाउँदै तस्बिर पनि खिचाए अनि सार्वजनिक पनि गरे।

प्रियङ्का कार्कीको गर्भवती भएको अवस्थाका तस्बिरहरू सार्वजनिक भएपछि बिस्तारै सामाजिक आलोचना कम हुँदै गएको सिरुको अनुभव छ।

‘मैले गर्भावस्थाको फोटो खिच्न थालेको १० वर्ष भइसक्यो,’उनले भनिन्,‘ तर डेढ वर्ष अघि प्रियङ्काले फोटो सुट गराएपछि सहज मात्र भएन सामान्य नै भइदियो। नकारात्मकसँगै सकारात्मक प्रतिक्रिया पनि आउन थाल्यो। म कहाँ आउने महिलाहरू पनि खुल्न थाल्नुभयो।’

युकेको सिकाई, नेपालको भोगाई

फोटोग्राफीको आधारभूत तालिम मात्रै लिएकी थिइन् सिरुले। उनमा तालिम लिएर दक्ष बन्ने भोक भने जागै थियो। त्यसैले त विदेशतिर हुने फोटोका वर्कसपहरू खोजिरहन्थिन् अनलाइनमा।

सन् २०१८ मा उनी बेबी फोटोग्राफी र मर्टिनिटी फोटोग्राफीको लागि लन्डन गइन्। सन् २०१८ मा उनी न्यु बर्न बेबी  सर्टीफाइड फोटोग्राफर नै भइन्।

लन्डनको वर्कसपले बेबी फोटोग्राफीको महत्त्व के हो भन्ने मज्जाले बुझिन् उनले।

उनले प्राय फलो गर्थिन् अमेरिकी फोटोग्राफर एना ब्राण्दलाई। सन् २०२१ को लागि अस्ट्रेलियामा समय लिएकी सिरुले संयोगले उनलाई पनि ३ वर्ष अघि नै लन्डनमा भेट्ने मौका पाइन्।

‘आफूले फलो गरिरहेको फोटोग्राफरलाई समय लिएको भन्दा अघि नै भेट्न पाउँदा खुसीको सीमा रहेन,’उनले भनिन्, ‘उहाँहरूबाट मैले धेरै सिक्न पाएँ।’

सिरुले क्यामेरा, लेन्स अनि स्टुडियोलाई समय अनुसार अपडेट गर्दै लगिन्। सँगै आफ्नो सिपलाई पनि तिखार्दै लगिन्। हालसालै उनी स्कटल्यान्डमा भएको वर्कसपमा सहभागी भएर फर्किएकी रहिछिन्। यस्ता वर्कसपले उनलाई पोख्त बनाउँदै लग्यो।

‘बेबी फोटोग्राफीमा फोटोग्राफरको मुड अनुसार काम हुन्न। बच्चाको समय अनुसार चल्नुपर्छ। धैर्यता भएन भने काम गर्न गाह्रो छ’ उनले उकेरासँग भनिन्' गर्भावस्थामा आमाको अनुहार फोटोजेनिक हुँदैन। उहाँहरूलाई उत्प्रेरित गर्दै खिच्न थालेपछि खुल्नु हुन्छ। खिच्दै जाँदा उहाँहरू यति एक्ससाइटेड  हुनुहुन्छ कि सेलिब्रीटी भएको महसुस भयो भन्नुहुन्छ।'

स्टुडियोसम्म ल्याउनै सकस

पोखराको नागढुंगामा छ सिरुको बेबी फोटोग्राफी स्टुडियो। यो अन्य फोटो स्टुडियो भन्दा फरक छ। सिरुका अनुसार बच्चालाई चाहिने तापक्रम कपडा, क्लीनीगंको व्यवस्थापन राम्रो हुनुपर्छ यस्तो स्टुडियोमा। ती सबै व्यवस्थापन नगरी फोटो खिच्न सकिँदैन।

यति व्यवस्थापन गरे पनि बच्चालाई स्टुडियोसम्म ल्याउन निकै सकस हुने गरेको अनुभव सुनाइन् उनले।

‘विदेशतिर  अस्पतालमा बच्चा जन्मेदेखि फोटो खिच्न सुरु हुन्छ। हाम्रोमा त्यसरी खिच्ने चलनै छैन। घरमै खिच्न जाँदा सामान सबै बोकेर लैजान गाह्रो हुन्छ। सानो बच्चा स्टुडियोमा ल्याउनै गाह्रो मान्छन्। तर अहिले बिस्तारै सहज हुँदै गएको छ।’

अप्ठ्यारो मान्छन् पुरुष

गर्भावस्थालाई सहज मान्ने गरी समाज अझै खुलिसकेको छैन। बच्चालाई देखाउन हुँदैन भनेर अझैँ कालो टिको लगाइदिने चलन हराइसकेको छैन। गर्भ देखाउँदा लाज हुन्छ भन्नेहरू पनि उत्तिकै भेटिन्छन् नै।

तै पनि प्राय गर्भावस्थाको फोटो खिचाउन श्रीमानले हैन श्रीमतीले नै फोन गर्ने गरेको उनको अनुभव रहेछ। फोन गरेर सबै जानकारी लिएर उत्साहित भएका महिलाले पछि फोन गरेर' मेरो त श्रीमान् नै मान्नु भएन' भनेर दुखी हुनेहरू पनि टन्नै रहेछन्।

सिरुको अनुभवमा उनकोमा आउने ग्राहकमध्ये ८० प्रतिशत महिलाले नै श्रीमान्लाई मनाएका हुन्छन्। २० प्रतिशत पुरुषले मात्रै श्रीमतीलाई गर्भावस्थाको फोटो खिचाउन ल्याउने गरेका छन्।

‘हाम्रो समाज उति खुलिसकेको छैन। अझै पनि पुरुषहरूले यसलाई संवेदनशील तरीकाले बुझेको जस्तो लाग्दैन,’उनले भनिन्, ‘कतिको आफ्नै बाध्यता होला तर यो बेला सकेसम्म मेमोरेवल बनाएकै ठिक नि।’

फोटोका लागि पोज दिन असहज मान्ने गर्भवती महिलाहरू बिस्तारै खुल्दै जान्छन्। अनि आफ्नै फोटो देखेर दङ्ग पर्छन्। त्यो बेला सिरु पनि मक्ख पर्छिन्।

खुसीको पहिलो कारण गर्भवतीको मुस्कान। दोस्रो कारण गर्भावस्था भनेको लुकाउनुपर्ने हो भन्ने भ्रम चिरिँदै जानु।

तै पनि अझैँ पूर्ण सहज भने भइसकेको छैन उनले रोजेको पेसा। बिस्तारै सहज हुँदै गएकैमा उनी मक्ख छिन्।

'कुनै न कुनै दिन गर्भावस्था भनेको लुकाउने हैन यो त उत्सवको रूपमा मनाउने र खुसी हुने समय हो भनेर पक्कै हाम्रो समाजले बुझ्छ नै,' उनले भनिन्' जुन बेला मैले यस्तो फोटो सुट सुरु गरे त्यो बेला भन्दा अहिले सहज छ। भोलि अहिलेभन्दा थप सहज कसो नहोला!'

मंसिर २१, २०७९ बुधबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।