मनाङेको दाबी : मलाई मुख्यमन्त्री बन्न गाह्रो छैन तर दिए पनि बन्दिन
पोखरा : स्वतन्त्र सांसद बनेर बस्दा प्रदेश सरकारमा मन्त्री बन्न नसक्ने भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका आपराधिक पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू मुख्यमन्त्री बन्न गाह्रो नभएको तर दिए पनि आफूलाई नचाहिने दाबी गरेका छन्।
समाजवादी पार्टीमा प्रवेश गरेको दोस्रो दिन पत्रकार सम्मेलन गर्दै उनले आफू पहिल्यै एमालेको सदस्य भइसकेको र एकीकृत समाजवादी नयाँ दल भए पनि नेताहरू एमालेकै रहेकाले आफू समाजवादीमा प्रवेश गरेको दाबी गरे।
उनले गठबन्धनले आफूलाई खेलकुद मन्त्रालय नदिई आफूले गठबन्धनलाई खेलकुद मन्त्रालय दिएको दाबी गर्दै भने' पहिला म एमालेको नेतृत्वको सरकारमा खेलकुदमन्त्री थिए। मैले गठबन्धनलाई समर्थन गरेर त्यो मन्त्रालय गठबन्धनलाई दिएको हो।'
उनले आफूले आफ्नो क्षेत्रका मतदाताहरूसँग छलफल गरेर स्वतन्त्र भएर बस्नुभन्दा पार्टीमा संलग्न हुँदा सहज हुने सुझाव आएकाले आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उनले दाबी गरे।
'पहिला पनि मलाई यति ठुलठुलो मन्त्रालय अफर गरेका थिए तर म खेलकुद मन्त्री बने,' उनले भने' मलाई मुख्यमन्त्री बन्न गाह्रो छैन तर मसँग धेरै अनुभव नभएकाले दिए पनि बन्दिन।'
पत्रकारहरुले कुन मन्त्रालय पाउने सर्तमा एकिकृत समाजवादीमा प्रवेश गरेको भन्ने प्रश्नमा उनले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्दा आफ्नो पार्टीले पनि मन्त्रालय पाउने भन्दै तर को मन्त्री बने र कुन मन्त्रालय लिने भन्ने विषय पार्टीको अध्यक्षले निर्णय गर्ने विषय भएको बताए।
आफूलाई गठबन्धनले सहयोग गरेकाले नै निर्विरोध प्रदेश सांसदमा चुनिन सकेको भन्दै उनले आफू विरुद्ध एमालेले उम्मेदवारी दिनु पर्नेमा नदिएको भन्दै भने'किन उम्मेदवारी दिनु भएन उहाँहरूलाई नै सोध्नुस्, मलाई हैन।'
ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधि गर्ने गरेको भन्दै प्रहरीको सूचीमा गुन्डा नाइकेको सूचीमा रहेका उनी विरुद्ध सर्वोच्च अदालतमा अहिले पनि एक मुद्दा विचाराधीन छ। गत निर्वाचनमा सांसदमा जिते पनि सोही मुद्दाका कारण केही समय फरार भएका मनाङेलाई अदालतले बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएपछि एमालेको सहयोगमा सांसदको शपथ खान सकेका थिए।
उनको मुद्दा अहिले पनि विचाराधीनै छ। फैसला भइसकेको छैन। कुनै पार्टीमा सहभागी नभए उनले सांसदको रूपमा शपथ लिन पाउने सम्भावना समेत कम थियो। राजनीतिक संरक्षणसँगै पुन मन्त्री बन्न उनी एकीकृत समाजवादीमा प्रवेश गरेको देखिन्छ।
उकेरामा प्रकाशित मनाङे सम्बन्धी समाचार
दीपक मनाङेको बदलिएको परिचय: गुण्डा, माननीयहुँदै अब खेलकुद मन्त्री
मंसिर २०, २०७९ मंगलबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।