पाकिस्तानले सस्तो मूल्यमा रुससँग इन्धन किन्ने सम्झाैता, अमेरिका चिढिने सम्भावना

पाकिस्तानले सस्तो मूल्यमा रुससँग इन्धन किन्ने सम्झाैता, अमेरिका चिढिने सम्भावना

एजेन्सी : पाकिस्तानका शहबाज शरीफले रूसबाट सहुलियत दरमा पेट्रोल, डिजेल र कच्चा तेल खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो कदमलाई सत्तारुढ गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले गरेको प्रमुख नीति परिवर्तनको रूपमा हेरिएको छ। यसवर्ष फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएलगत्तै तत्कालीन इमरान खान सरकारले रुससँग यस्तो सम्झौता गर्ने आफ्नो मनसाय देखाएको थियो।

तर, लगत्तै इमरान खान देशभित्र राजनीतिक चुनौतीहरूमा फसे र अप्रिलमा उनको सरकार ढल्यो। इमरान खानले रुससँगको प्रस्तावित सम्झौताका कारण आफ्नो सरकार ढाल्न विदेशमा षड्यन्त्र रचिएको आरोप लगाएका थिए।

पीडीएम सरकारले सत्तामा आएपछि अमेरिकासँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएको छ। अमेरिकाले उनलाई एफ–१६ लडाकु विमानका पार्टपुर्जा दिन स्वीकृत गरेपछि उनलाई फाइनान्सियल एक्शन टास्क फोर्सको ग्रे लिस्टबाट बाहिर निकाल्न सहयोग पुग्यो।

तर, अहिले देशमा बढ्दो आर्थिक संकटका बीच पीडीएम सरकारले रुससँग सम्झौता गरेको छ। कूटनीतिक विज्ञहरूका अनुसार यसमा अमेरिकाबाट कडा प्रतिक्रिया आउनसक्छ। अमेरिका र पश्चिमा देशहरूको प्राथमिकता रुसलाई विश्वमा एक्लो पार्नु हो।

पाकिस्तानका पेट्रोलियम राज्यमन्त्री मुसादिक मलिकले सोमबार पत्रकार सम्मेलन गर्दै रुससँगको सम्झौताको घोषणा गरेका हुन्। रुस भ्रमणबाट फर्किएका मलिकले भने, ‘रुसको सफल यात्राका लागि देशका जनतालाई बधाई दिन चाहन्छु। मेरो भ्रमण सोचेभन्दा सफल भयो।’

मंसिर २०, २०७९ मंगलबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।