राजधानी विवाद: छापामार शैलीमा रातारात दाङ पुर्‍याइयो बुटवलको मुख्यमन्त्री कार्यालयको फर्निचर

राजधानी विवाद: छापामार शैलीमा रातारात दाङ पुर्‍याइयो बुटवलको मुख्यमन्त्री कार्यालयको फर्निचर

बुटवल: लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट दाङ सार्ने आवाज उठिरहेका बेला रातारात बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू दाङ पुर्याइएको छ। स्थायी पूर्वाधार बनाएर मात्र मन्त्रालयहरू दाङ लैजाने भनिए पनि छापामार शैलीमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए। नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले पनि प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेको थियो।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी समेत दिएका थिए।

गृहमन्त्री खाँणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए। तर, यी सबका बाबजुद हतार-हतार रातको समय पारेर मन्त्रालय सार्न खोज्नुले राजनीतिक द्वन्द्व बढाउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ।

मंसिर २०, २०७९ मंगलबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।