सँगैका साथी निर्देशक भए, नन्दुले खाना पकाउने काम नि पाएनन्
आनन्द बहादुर मगर (७०)। सबैले ’नन्दु’ भनेर बोलाउन थाले। यही सजिलो भयो बोलाउन। अनि उनी नन्दु भए।
एक समय नेपाली चलचित्र क्षेत्रमा अत्यधिक माग गरिएको ’स्पट बोय’ हुन् उनी। कलाकार अनि निर्देशकहरुले वर्षमा एउटा चलचित्रमा काम गर्न भ्याउँदा उनी पाँच वटा सम्म भ्याइसक्थे।
काम गर्न भ्याईनभ्याई हुन्थ्यो। धेरैलाई काम पनि लगाइदिए उनले। तर अहिले उनी नै बेरोजगार छन्।
कोरोना महामारीमा ठ्याप्पै भएको फिल्म क्षेत्र अहिले केही सलबलाए पनि उनलाई कसैले काममा बोलाएका छैनन्। मोबाइलमा कल आयो कि कसैले काममा बोलाउन पो फोन गरेकी जस्तै लाग्ने रहेछ उनलाई।
घुमुवा बानी लाग्यो उनलाई। बिहानै देखि ’मर्निङ्ग वाक’ मा निस्किएका उनी खाना खान कोठामा आउँछन् अनि निस्किहाल्छन्।
काम नभए पनि गोकर्ण, सुन्दरीजल अनि शिवपुरी निकुञ्जको जङ्गल घुमिबस्छन्। डुल्दा मनमा कुरा खेल्दैन रे।
उनले फिल्म 'फाटेको जुत्ता’मा काम गरे। अनि’भकुन्डो’ फिल्ममा पनि काम गरे। त्यसपछि ठप्पै।
'त्यो फिल्ममा काम गरे तर त्यो चल्यो(रिलिज) कि चलेन, थाहै भएन। अहिलेसम्म जानकारी आएको छैन। नचलेकै होला !’ आफूले काम गरेको अन्तिम नेपाली फिल्मको बारेमा सम्झँदै उनले भने।
महामारीपछि फिल्म पनि पहिलाको धेरै जसो बनेका छैनन्। त्यहीमाथि ’बुढो भएको भनेर पैसा पनि कम दिन खोजेको’ उनको गुनासो छ।
'अहिले नयाँ-नयाँ केटाहरू राख्छन्। उनीहरू दिनको पाँच सयमा पनि मान्ने रहेछ। अनि खाना पनि शुटिंगमै पाइहाल्छन्। हामी जस्तो बुढोलाई अब काँ लिनु’ उनले भने।
पुरानोलाई काम पाउनै गाह्रो
विदेशी फिल्ममा पनि उनले काम गरेको सम्झिए। जम्मा ४ दिनको काम। मुस्ताङमा गएर काम गरेको अलिअलि सम्झिन्छन्।
'त्यहाँ काम गर्ने सबै विदेशी थिए। अब पढेको भए पो जान्नु। काम त दुई दिन गरेको तर, पैसा चार दिनको दिए,’ उनले भने।
'स्पट बोइ’ को काम गर्न गएका उनले सानो’रोल’ पनि पाए।
’रोल त के हुनु, अब बोल्न आएन लाटा बने नि’ उनले हाँस्दै भने। उनले अन्यको तुलनामा पैसा भने राम्रै पाए। सबै विदेशमा खिचेर अन्तिममा नेपालको सिन मात्र खिच्न फिल्म युनिट नेपाल आएको रहेछ।
उनले बिचमा कामको लागि सोधपुछ पनि नगरेका होइनन्। तर, माकलबारीको साँघुरो गल्लीमा उनलाई शुटिंगको गाडीले लिन आएन। अनि हिँडेर अनामनगरसम्म जान उनको शरीरले साथ दिएन। पछि परिवारले पनि गाडीले लिन नआए हिँडेर नजान सल्लाह दिए।
'भकुन्डो' फिल्ममा काम गर्दा शुटिंगको गाडीले रिसले कोठासम्म आउन नमानेर आधा बाटोमै छोड्दिए’ उनले हाँस्दै सुनाए, 'त्यसपछि म एक्लै लुखुरलुखुर हिँड्दै आए नि।’ उनी माकलबारी बसेको पनि लगभग पाँच वर्ष भइसक्यो ।
चिया पकाउने, गाईबस्तु अनि मान्छेको भिड हटाउने। हिरो हिरोइनलाई चियानास्ता तयार भयो भनेर भन्न जाने अनि पुर्याउन जाने। उनले पहिला गर्ने काम यही हो फिल्म क्षेत्रमा।
उनले ३० वर्षसम्म त्यस्तै गरिरहे। उनीसँगका साथी जसलाई उनले आफ्नो जस्तै काम लगाए उनीहरू कलाकारदेखि निर्देशकसम्म भइसके। तर उनी बोयको कामनै नपाउने अवस्थामा पुगे।
३० वर्षसम्म काम गर्ने प्राविधिकहरूलाई चलचित्र प्राविधिक संघले भत्ता स्वरूप केही पैसा दिने गरेको छ। उनी अब काम नपाए पनि भत्ता पाइन्छ कि भने बसिरहेका छन्।
बिना पारिश्रमिकका कलाकार
करिब दुई सय वटाजती फिल्ममा काम गरिसकेका उनले ’सक्कली नक्कली’ देखि फिल्मी क्षेत्र काम सुरु गरे। त्यसमध्ये करोडपति, सुनचाँदी, चाँदनी, पाले दाइ, हामी तीन भाइ लगायत अन्य केही औँलामा गन्न सकिने फिल्मको नाम मात्र उनलाई याद छ।
अनि ५०-६० वटा फिल्ममा माग्ने, लाटा, भरिया, गाउँमा तास खेल्ने मान्छे, जडियाको स–सानो रोल पनि गरे। सबै बिना पारिश्रमिक। उनले नेपाली फिल्ममा रोल गरेबापत पाएको पारिश्रमिक भनेको झमक कुमारीमाथि बनेको फिल्ममा रहेछ। त्यसबाट एक हजार रुपैयाँ दिएको उनी अहिले पनि सम्झन्छन्।
पुर्ख्यौली घर पहाडमै भए पनि सानैमा सिन्धुलीमा स–परिवार आएको उनलाई केही याद छ। ठुलो परिवारमा जन्मिएका उनी सानैदेखि जिम्मेवारीको चपेटामा परे।
छ वर्षकै उमेरमा उनी घरबाट टाढा बाहुनको घरमा काम गर्न बसे। भैँसी चराउने, गोबर सोर्ने गरे। अनि नौ वर्षको भए पछि हलो जोत्न थाले।
त्यसबेला वर्ष भरिको तलब ३० रुपैयाँ पाउँथे उनले। करिब छ वर्ष सम्म काम गर्दा पनि तलब नबढेपछि उनको बाबाले उनलाई अर्को घरमा काम गर्न राखिदिए।
'अर्को घरमा चैँ साढे तीन सय देको थियो। पैसा नै देख्न पाएन नि मैले त त्यतिखेर। पैसा सबै आमाबालेनै लिन्थे। हामीलाई खाना बस्न त्यही घरमा नै हुन्थ्यो। पैसा किन चाहियो भन्ने भयो,’ बाल्यकाल देखिनै काम गर्नु परेकोमा आफू सँग केही गुनासो नभएको भन्दै उनले सुनाए।
उनी १७ वर्षको भएपछि आफ्नै घर फर्किए। काम छोड्दा १० कट्ठा जमिन कमाउन दिएको भए पनि उनको बाबाले भने लिन मानेनन्। 'लिएको भए हुने रहेछ। अहिले त पचास लाख जति पुगेको छ कट्ठाको।’
ऋण तिर्न काठमाडौँ
घर फर्किएपछि पनि उनले खेतीपाती नै गरिराखे। अनि ३० वर्षको उमेरमा गाउँ नजिकैको केटीसँग मागी विवाह गरे। खेतीपाती गरेर केही जग्गाजमिन जोडे पनि उनले आमाको नाममा राखिदिए। पछि भाइहरूको बिहे गर्दा ऋण लागे पछि उनले काठमाडौँ आउने सोच बनाए। आफ्नो जग्गा बेच्न खोज्दा जग्गा भाइहरूकै नाममा भैसकेको थाहा पाए।
'म सँग त अहिले केही छैन। बुढी र बच्चाहरूले गाली गरेर हैरान गर्छन्,’ भावुक हुँदै उनले सुनाए।
ऋण तिर्न काठमाडौँ आए पनि उनी काम खोज्दै भारतको हिमाञ्चल गए। आधा वर्ष बस्दा पनि केही कामको टुङ्गो नभए पछि उनी फर्किए। काठमाडौँको चाबेलमा डेरा लिए।
त्यसको केही दिन पछि हाल भत्किएको गोपीकृष्ण हलको पछाडि एउटा घरमा पाले काम पाए। नाइट ड्युटी थियो काम। तलब भने तीन हजार। गाउँमा काम गरिराख्नु पर्ने उनी रातभर ड्युटीमा भए पनि दिनभर खाली हुन्थे।
त्यसै बेला देखि हो उनलाई डुल्ने बानी लागेको। घरी पशुपति, घरी रत्नपार्क। घुम्दाघुम्दै त्यतिखेर काठमाडौँमा भएको सबै हलमा गएर फिल्म पनि हेर्न भ्याउँथे।
डुल्दा डुल्दै फिल्ममा काम
जति फिल्म हेर्यो उनी त्यति नै फिल्मप्रति आकर्षित हुँदै गए। यस्तैमा काम गर्न पाए हुने भन्ने सोच्न थाले। त्यतिखेर उनको श्रीमती र बालबच्चा पनि काठमाडौँ आइसकेका थिए।
'म नाइट ड्युटी गर्दा तरकारी पसल पनि राखेको थिए। अनि पसलमा बुढीलाई राखेर म त घुम्न जान्थे’ उनले हाँस्दै सुनाए।
कमाएको उनलाई नै खर्च गर्न पुग्दैनथ्यो। एक दिन घुम्दाघुम्दै रत्नपार्क पुगेका उनले फिल्मका मान्छेहरू देखे।
ती मध्ये एक थिए ’तुलसी घिमिरे’। उनी दङ्ग परेर घिमिरेको नजिक गए अनि ’हामीले पनि काम पाउँछ?’ भनेर सोधिहाले। घिमिरेले जवाफ सँगै प्रश्न सोधे ’के गर्न आउँछ?’
'पढेको छैन। जे दिन्छ त्यही गर्छ’नन्दुले हाँस्दै भने, 'पछि त चिया पकाउने, गिलास टिप्ने ’स्पट बोय’ पो भए छु।’
त्यसपछि आनन्द फिल्म क्षेत्रको नन्दुको रुपमा रहिरहे। फिल्म लाइनमा छिरे पछि उनले खान र घुम्न भरपुर पाए। अनि कमाएको सबै पारिश्रमिक घरमा दिन थाले। फिल्म क्षेत्रमा हुँदा एउटा फिल्मको छ हजार रुपैयाँ पाएका थिए पारिश्रमिक।
आफूले सधैँ अँध्यारो हल भित्र ठुलठुलो पर्दामा देखेको कलाकारलाई प्रत्यक्ष रुपमा देख्न पाइरहँदा नन्दु मक्ख पर्थे। प्राय सबै कलाकारसँग खिचेको फोटो उनी बच्चाहरूलाई देखाउँथे अनि गाउँसम्म पुग्थे।
नन्दुको गाउँमा फिल्मको हिरो-हिरोइनलाइ चिया दिने भनेर आफ्नो छुट्टै पहिचान समेत बन्यो।
सुटिङको खाना नै परिवारको पारिश्रमिक
पछि बिस्तारै श्रीमती अनि आफ्नो बालबच्चालाई पनि उनले शुटिंग देखाउन लान थाले।
'भात पकाउन पनि नपर्ने। भाडा माझ्न पनि नपर्ने। बुढी त मक्ख शुटिंगमा जान पाउँदा’ नजिकै बसेकी श्रीमतीलाई हेरेर हाँस्दै भने, 'छोराछोरी पनि पछि लग्थे। फिल्म पनि खेलाए नि मैले यिनीहरूलाई। गरिबको रोल अनि धेरैजसो भिडको रोल गरेको छ यिनीहरूले।’
नन्दुले हाँस्दै सुनाए पनि उनको आँखामा त्यो बेलाको गरिबी झल्की रहेको थियो। शुटिंगमा दिने खाना नै उनको परिवारको पारिश्रमिक बनिरहेको थियो।
निर्दोषपनालेनै त हो उनी जस्तो एउटा साधारण मान्छे ३० वर्ष सम्म फिल्मी क्षेत्रको चमकधमकमा बसिरहे। 'पाले दाइ’ फिल्म देखि उनले १६ हजार पारिश्रमिक पाउन थाले।
फिल्म राम्रो चल्दा हिरो हिरोइनलाई बक्सिस दिने चलन त्यतिखेर भित्री सकेको थियो। नन्दु र उनी जस्ता अन्य प्राविधिकहरूले भने फिल्म हिट हुँदा पाउने भनेको भोज मात्र।
कलाकार सँगको रिस उठ्दो प्रसङ्ग
निरुता सिंह, झरना थापा , रेखा थापा र जल शाहलाई उनी अहिले पनि सम्झिरहन्छन्।
'झरनाले त मामा नै भन्थ्यो। राजेश, निखिल अनि श्रीकृष्णले पनि खुब माया गर्थ्यो मलाई’ उनले भने।
उनलाई एकचोटी जल शाहले चैँ बेस्सरी रिस उठाएकी थिइन् रे। चोभारमा थियो शुटिंग। चिप्लो बाटो। त्यसमाथि मुसलधारे पानी परिरहेको बेला। पार्किङ एरियामा राखेको किचेनबाट उनी जल शाहलाई नास्ता दिन चिप्लो बाटोको डाँडा उक्लेर गए।
चाउचाउ र अण्डा फ्राई गरेर लगेकोमा त्यतिखेर मेकअप म्यान रहेका अशोक रोक्कालाई जल शाहले पहिला नास्ता चखाउन लगाइन्। नास्ता अशोकलेनै खाएछन्। त्यसरी घरी के घरी के भनेर नन्दु त्यो चिप्लो न चिप्लो बाटोमा ओहोरदोहोर गरेर बस्नु पर्यो। उनी लडे पनि। अनि सबै पोखिएको नास्ता पोको पारेर खाजा नलगी बसे।
'तल जानेहरू त तलै गएर खाए पनि हुने नि। केके भनेर हिडाको हिँडाइ गरेर कम्ताा रिस उठेको थिएन मलाई,’ उनले सुनाए।
उनले आफ्नो ३० वर्ष यस क्षेत्रमा उनले सम्झिरहने २०७३ मा दुबईमा भएको नेफ्टा अवार्डमा सम्मानित भएको क्षण हो।
सबै कुरा बिर्सिने उनको बानी भए पनि उनले सम्मान स्वरूप आफ्नो पहिलो विदेश भ्रमण र २५ हजार रुपैयाँलाई अहिलेसम्म स्मृतिमा राखिरहेका छन्।
तर, उनले त्यसै समय हिरो हिरोइनहरूले एक लाख र त्यो भन्दा बढी पैसा पाएको सुने।
'मलाई त हामी जस्तो गरिबलाई सम्मान दिएको भन्ने लागेथ्यो। तर, हामीलाई त अलिकति सम्मान दिएको रहेछ’ उनले भने।
पर्दा पछाडि अनि पर्दा अगाडि
उनी कलाकारले बढी पैसा पाए भनेर निराश भएका हैनन्। हुनेलाई झन् धेरै हुने अनि नहुनेलाई केही पनि नहुने भन्ने सम्झिएका रहेछन्।
'नहुनेलाई कम दिएर हुनेलाई धेरै दिएको देखेर चैँ अलि चित्त दुख्थ्यो’ उनले भावुक हुँदै सुनाए, ’नत्र त अरू सब त्यस्तै हो। सँगैको मान्छे डाइरेक्टरसम्म भइसके। हामी भने जहाँकोतही। नपढेको भएर पनि हुन सक्छ।’
रहरमा फिल्म क्षेत्र पसेका उनी अलि गम्भीर भएर सोच्न थाले भने झन् झन् निराश हुन्छन्।
'कत्ति न केके हुन्छ भनेर हिँडेको हो नि पहिले। अहिले त बरु अर्को काम गरेको भए एउटा घर त बनाउँथे कि जस्तो लाग्छ। छोरीहरूले अरूको बाबाले दाइजो दिन्छ, केके गर्छ, हाम्रो बाउले त केही गर्दिएन भन्छन्। अब के गर्दिने मैले तिनीहरूलाई’ उनले एकै सासमा लाचार हाँसी निकाल्दै सुनाए।
मंसिर १९, २०७९ सोमबार २०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।