वीरगञ्जमा हुँदैछ आज 'नेपथ्य लाइभ कन्सर्ट'
काठमाडौं: वीरगञ्जमा आज नेपथ्य ब्याण्डले कन्सर्ट गर्ने भएको छ। मानव सेवा आश्रमको आयोजनामा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ नेपथ्यसँगको सहकार्यमा आज अपराह्न ४ बजेदेखि ८ बजेसम्म वीरगञ्जको आदर्शनगर रङ्गशालामा कन्सर्ट हुँदैछ।
‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापी रूपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको कन्सर्टमा आज पाँच हजार मानिसको सहभागिता हुने जनाइएको छ।
मङ्सिर १६ गते पहिलो कन्सर्ट पाँच हजार दर्शकको उपस्थितिमा विराटनगरमा सम्पन्न भएको थियो।
मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुन:मिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो।
हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ। हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरूले सेवा पाइरहेका छन्। आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका- ९ स्थित रानीघाटमा ६ वर्षअघि स्थापना भएको मानवसेवा आश्रममा हाल अभिभावकविहीन ५० व्यक्तिहरू आश्रित रहेका छन् ।
वीरगञ्ज महानगरपालिका- १५ स्थित लक्ष्माननौतनमा झण्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ। उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न तथा मानवता प्रवर्द्धन गर्न नेपथ्य लाइभ कन्सर्टले सघाउ पुर्याउने विश्वास लिइएको छ।
आगामी कार्यक्रम यही २२ गते हेटौँडा र २५ गते चितवनमा पनि हुँदैछ। त्यसपछि नेपालगञ्ज, सुर्खेत, धनगढी, बुटवल, पोखरा र काठमाडौंमा कार्यक्रम हुनेछ।
मंसिर १९, २०७९ सोमबार १३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।