बसुन्धरा भुसालको प्रसव पीडा र खुसी : पहिलो छोरी पाउँदा अल्सर भयो, दुध पम्पले तानेर फाल्नुपर्दा भकान्निएँ
बसुन्धरा भुसाल। परिचयका लागि उनको नामै काफी छ। सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी उनको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’बाट भयो।
नेपालको पहिलो महिला हाँस्यकलाकार समेत रहेकी उनी अहिले पनि नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार हुन्। उनको समेत केमियो भूमिका रहेको ‘बगान’ फिल्म फागुनमा प्रर्दशन हुँदैछ। तीन सन्तानकी आमा बसुन्धराले आफ्नो प्रसव पीडा र खुसी उकेरालाई सुनाइन्।
०००
मेरो जन्म काठमाडौंको क्षेत्रपाटीमा भयो। सानैदेखि नाच्ने, गाउने स्वभाव थियो रे। बच्चा बेलामा त मेरो नाच देखेर परिवारका सबैलाई रमाइलै लागेछ। हौसला मिल्दै गएपछि म पनि यसैमा बानी पर्दै गएछु। अलि ठूलो हुँदै गएपछि हसाउन मनपर्ने भयो। विभिन्न उट्पट्याङ गरेर मानिसलाई हँसाइरहन्थेँ। तर्साउने काम भने अहिले पनि गर्न मन लाग्छ।
मेरो बुवा स्व. डि सानुमान सिंह डिट्ठा होइबक्सन्थ्यो, आमा बुद्धकुमारी सिंह गृहणी। बुवाभन्दा मुमा धेरै कडा। बुवा कुरा बुझेर पिटिबक्सन्थ्यो भने मुमा कुरै नबुझेर पनि पिटिबक्सन्थ्यो।
नर्सरीदेखि दुई कक्षासम्म सिंहदरबारमा रहेको डब्लु भी एक्स स्कुलमा पढेँ। पछि हामी पढेको ठाउँमा सर्वमान्य नेता गणेशमान बाहरूलाई थुन्न ल्याइयो। त्यसपछि केटाहरूलाई छुट्टै केटीहरूलाई छुट्टै स्कुल स्थापना गरेर पढाइयो। म कन्या हाइस्कुल लैनचौरमा भर्ना भएर पढ्न थालेँ। एसएलसी त्यहि स्कुलबाट उत्तीर्ण गरेँ।
सात वर्षको उमेरमा रञ्गमञ्चमा प्रस्तुति दिएँ। नेपाल कला केन्द्रमा भुवन चन्द दिदीले गीत गाउनुभएको थियो। ‘हातै काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै त्यो तिम्रो कुराले’ भन्ने गीतमा स्टेज चढेकी हुँ म।
हामी धेरैजना दिदीबहिनी। म चौथो नम्बरको छोरी। चकचके र फट्याइँ गरिरहन पर्ने भएकाले धेरै पिटाई खाने पनि मै भएँ। त्यसैमाथि रुचि नाचगानतिर भयो। सानो छँदा घरमै नाच्दा गाउँदा त सबैले रमाइलो माने, बाहिर हिँड्न थालेपछि परिवार समाजले राम्रो मानेन।
‘फलानो डिट्ठाको छोरी बसुन्धरासँग नहिँड है’ भन्थ्यो समाजले। नर्तकी, नचौली लगायत धेरै नाम राख्थे। यो कलाकारको ठेगान छैन भन्ने चलन त अहिलेसम्म पनि हटेको छैन।
म १६ वर्ष पुग्दै थिएँ। महेन्द्र सरकारको जन्मोत्सव धुमधामसँग मनाइन्थ्यो जेठको ३० गते। त्यहि कार्यक्रममा नृत्य टोलीसँग गएकी थिएँ। त्यहाँ प्रहरीका सब इन्स्पेक्टर तथा कलाकार चेतनारायण भुसालसँग मेरो भेट भयो। उहाँ कलालाई माया गर्ने मान्छे। हाम्रो विचार मिल्यो। २०२३ सालमा उहाँसँग भेट भएको २०२४ सालमा औपचारिक रूपमा जीवनसाथी बन्यौं।
मेरो बुवा स्वर्गाीय भइसक्नुभएको थियो। आमा हुनुहुन्थ्यो। घरबाट उहाँसँग विवाह गर्ने कुरालाई स्वीकार गर्नुभएन। मैले तिहारमा टीका लगाउने धर्म दाइले डिबी लामाले हाम्रो विवाह गराइदिनुभयो। पछि त माइतीको सबैभन्दा प्यारो मेरो श्रीमान् नै बन्नुभयो।
विवाह भएको एक वर्ष नपुग्दै म गर्भवती भएँ। त्यो समयमा अहिलेको जस्तो कानून बनेको थिएन, नत्र म त नाबालिग नै थिएँ बच्चा जन्माउँदा। १७ वर्षमा दौडँदै थिएँ भनौँ।
वाक्क–वाक्क आउने, ज्यान थाकेको जस्तो हुने भएपछि शंका लाग्यो, बच्चा आयो कि भन्ने। घरपरिवार सबै शिक्षित हुनुहुन्थ्यो। अस्पताल गएर चेक गराउँदा नभन्दै गर्भवती भएछु। थापाथलीमा रहेको प्रसुती गृहमा मैले नियमित चेकजाँच गराएकी थिएँ।
म त कमेडियन थिएँ। मञ्चमा गएर मानिसलाई हँसाउनुपथ्र्यो। जस्तै गाह्रो भए पनि काम छाडिनँ। सात महिनाको हुँदासम्म पटुकी बाँधेर स्टेजमा जान्थेँ। पछि ठूलो हुँदै गएपछि भने केहि समयका लागि रेष्ट लिएँ।
पहिलो सन्तान छोरी थापाथलीको प्रसुती गृहमा जन्माएँ। समयमा खाना नमिलेर होला मलाई त ग्याष्ट्रिक बिग्रेर अल्सर भइसकेछ। सुत्केरी समयमा सुत्केरी मसला, घिउभात केहि खान पाइएन। तागतिलो खाना खानै नभएपछि ज्यान कमजोर हुने रहेछ।
बच्चा जन्मेको २१ दिनमै फेरि सुटिङ र स्टेजका कार्यक्रममा व्यस्त हुन थालेँ। मेरो माइतीका दिदीबहिनीको राम्रो साथ सपोर्ट मिल्यो त्यो समयमा। घरपरिवार, श्रीमान् र माइतीको साथकै कारण बच्चा जन्मे पनि मेरो कलाकारिताको करियरमा ब्रेक लाग्न पाएन।
श्रीमान् प्रहरीमा भएकाले उहाँको पनि कुनै समयमा २४ घण्टा ड्युटी पथ्र्यो। मेरो पनि घर आउनेजाने समयको टुङ्गो हुन्थेन। कहिलेकाहीँ त बच्चाले हामी दुवैको अनुहार भुल्ने हो कि भन्ने डर लाग्थ्यो।
पहिलो सन्तान जन्मेको पाँच वर्षपछि म फेरि गर्भवती भएँ। पहिलो सन्तानको समयमा जस्तै आफूलाई व्यस्त राखेँ। शरीरले साथ दिँदैनथ्यो। गलेर नीलो हुन्थेँ। तर पनि काम गर्न छाडिन। कुनै समयमा उठ्नै नसक्ने हुन्थेँ।
कामलाई हेप्न हुँदैन भनेर सक्दै नसके पनि स्टेज चढ्थेँ। क्यामरा हो भने टेक दिन्थेँ र सकिनेबित्तिकै हतार–हतार थकाई मार्ने ठाउँमा पुग्थेँ।
दोस्रो सन्तान छोरा भयो। उसलाई मैले घरमै जन्माएँ। त्यो समयमा के भयो कुन्नी बिर्सिएँ तर घरमै नर्स ल्याएर मैले बच्चा जन्माएको राम्रोसँग याद छ।
छोरा जन्मेको केहि समयमै मराठी फिल्मको डबिङका लागि भारत जानुपर्ने भयो। बच्चालाई साथै लैजान मिल्दैनथ्यो त्यो समयमा। अर्गनाइजरले म सुत्केरी भनेर राम्रो खाना, बासको व्यवस्था भने गरिदिएका थिए।
भारतको कोलकत्तामा बच्चालाई दुध खुवाउन नपाएर पम्पले तानेर फाल्नुपर्यो। त्यो समयमा धेरै रुन मन लागेको थियो। आफ्नो बच्चा बोटलको दुध पिएर बसेको छ, यता आफूलाई गाह्रो भएर पम्पले तानेर फाल्नुपरेको छ। यी र यस्ता मन रुने घटना सुटिङका दौरान धेरै खेप्नुपर्यो।
छोरा जन्मेको अर्को १० वर्षपछि फेरि तेस्रो सन्तान छोरी जन्माएँ। कान्छी छोरीलाई भने जेठीलाई जस्तै थापाथलीको प्रसुति गृहमै जन्माएँ। ग्यापमा जन्मे पनि घर परिवार र माइतीको सपोर्टका कारण अन्य महिलाले जस्तो करियर नै छाड्नुपर्ने अवस्था आएन मेरो।
सुत्केरी हुँदा, कलाकारितालाई अगाडि बढाउन सक्नुको अर्को कारण मेरा सहकर्मीहरू पनि हुन् जस्तो लाग्छ। भुवन चन्द दिदी, चैतन्य देवी लगायतका मेरा सहकर्मीले त्यो समयमा धेरै सहयोग गर्नुभएको थियो।
महिलाको अमूल्य सम्पत्तीमा बच्चा पर्ने रहेछन्। उनीहरू सानो हुँदा आफ्नै हातले हुर्काउन सकिएन। आफन्त र परिवारले सहयोग गर्नुपर्यो। आफ्ना सन्तानको बाल्यकाल आँखा अगाडि देख्न नपाउँदाको पीडा मनमा हुँदाहुँदै पनि मानिस हँसाउन स्टेज चढ्नुपर्ने काम नै कलाकारिता रहेछ।
घरमा कहिले बच्चा बिरामी भइरहेको हुन्थ्यो, कहिले आफन्त बितेका समाचार सुनिन्थ्यो। त्यस्तो समयमा पनि स्टेजमा चढेर मानिस हँसाउनुपथ्र्यो। त्यसैले मलाई कहिलेकाहीँ त आफू कठपुतली हुँ, अरुको इरासामा, अरुको रमाइलोका लागि मेरो भावना मार्छु भन्ने अनुभूति हुन्थ्यो।
अहिले मेरा छोराछोरी सबै विदेशमा छन्। छोरी अमेरिकाको एक निजी कम्पनीमा राम्रो पोस्टमा काम गर्छिन्, छोरा त्यहाँको विश्वविद्यालयमा पढाउँछ। कान्छी छोरी पनि उतै आफ्नो भविष्य निर्माणमा जुटेकी छ।
नेपाल सरकारले मेरा छोराछोरीलाई स्वदेशका राख्न सकेन। उनीहरू नेपाललाई धेरै माया गर्छन्, त्यसैले अहिलेसम्म नेपालको नागरिकता त्यागेका छैनन्। सबै छोराछोरीबाट मेरा पाँच नातिनातिना समेत भइसके। जेठी छोरीको छोरी अर्थात जेठी नातीनीको त बिहे पनि भइसक्यो। केहि समयअघि मात्रै नातिनीको बिहेमा गएर पाँच महिना बसेर आएँ।
महिलाहरूलाई बच्चा जन्मेपछि एक किसिमको डिप्रेसन हुन्छ रे। महिनावारी रोकिएपछि पनि डिप्रेसन हुन्छ रे। त्यो अनुभुति मैले गरिनँ। अहिले ७१ वर्षको उमेरमा सहकारीका कारण भने म तनावमा छु।
नेपालको पहिलो नायिका भुवन चन्द, रंगिन फिल्मकी पहिलो नायिका चैतन्य देवी र म पहिलो महिला हाँस्यकलाकार मिलेर एक फाउन्डेशन खोलाका थियौं। त्यो फाउन्डेशनले विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने काम गर्थ्याे।
फाउन्डेशनको पैसा र जेष्ठ नागरिकको हक हितका लागि जम्मा पारेको पैसा इच्छाराज तामाङको सहकारीमा राखिएको थियो। पैसाको व्याज दिएन, सरकारीले धेरै दुःख दियो। अहिले इच्छाराजलाई समात्यो त भनेका छन् तर पैसा उठ्ने–नउठ्ने थाहा छैन।
पैसा निकाल्न नपाएर उचारको अभावमा १० जना ज्येष्ठ नागरिकको ज्यान गइसकेको छ। आफैले नेतृत्त्व गरेपछि तनाव धेरै हुनेरहेछ।
मंसिर १८, २०७९ आइतबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।