रुपन्देहीमा कांग्रेस र एमालेकाे एक मत
बुटवल : रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरू सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न एमाले र कांग्रेस एक भएका छन्।
एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरू सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोक्नुपर्ने माग गरे।
विज्ञप्तिमा भनिएको छ, ‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरूका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ। राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार समेत नभएको स्थानमा जबरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं।’
नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत कामचलाउ सरकारले हस्तक्षेप गरेको उसको निष्कर्ष छ। स्थायी राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधार नभएकाले जबरजस्ती लैजान खोज्नु गलत कदम भएको एमालेले ठहर छ।
‘भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित सदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं।’
यसअघि, नेपाली कांग्रेस रुपन्देहीले पनि विज्ञप्ति जारी गर्दै स्थायी संरचना नबन्दै राजधानी सार्ने हतार नगर्न माग गरेको थियो।
मंसिर १८, २०७९ आइतबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।