निर्देशक शोभितले कमोड र डोरम्याटमा टाँसेको तस्बिर कसको थियो !
काठमाडौं : प्वाक्क प्वाक्क बोलेर विवादमा आइरहने फिल्म निर्माता तथा निर्देशकहरूको सूचिमा उच्च स्थानमा पर्छन् शोभित बस्नेत।
छोराको विवाहको बेलामा पनि उनी विवादबाट जोगिन सकेनन्। यो पटकको विवादको कारण थियो छोराको जन्तीमा कसलाई बोलाउने अनि कसलाई नबोलाउने प्रश्नको उत्तरमा।
उनले सबैलाई बोलाउने तर एक वरिष्ठ पत्रकारलाई नबोलाउने भने। ती को थिए खुलाएनन्। फिल्म कार्यक्रम चलाउने प्रकाश सुवेदीले उनलाई आफ्नो कार्यक्रममा शनिवार बोलाएर सोधे'कसलाई नबोलाउने भनेको?'
उनले प्वाक्कै भने 'तपाईँलाई।'
उनले दशैंको समयमा प्रकाश सुवेदीले आफूसँगै आफ्नो छोरालाई समेत टेन्सन दिने काम गरेको भन्दै उनलाई नबोलाउने भनेको मुखै अगाडि भनिदिए।
उनी यतिमै मात्र अडिएनन्। प्रकाश सुवेदीसँगै अर्कै यूट्युवरको अनुप भट्टराईसँग यति धेरै रिस उठेको रैछ कि उनले यी दुवैको तस्बिर कमोड र जुत्ता पुछ्ने डोरम्याटमै टाँसेका रहेछन्।
'दशैंमा मेरो परिवारलाई तहसनहस गर्न खोज्ने तपाईंको तस्बिर कमोडमा टाँसेर त्यसमाथि बस्थे अनि अनुपजीको तस्बिर जुत्ता पुछ्ने डोरम्याटमा टाँसेर त्यसमा हामी सबैले जुत्ता पुछ्थ्यौँ।'
यति मात्रै हैन उनले दशैंमा खसी मार हान्दा 'तलाई प्रकाश सुवेदी भनेर मार हानेको' बताउँदा उता सुवेदी चाहिँ हाँसिरहेका थिए।
दीपक सिंह निर शाहजस्तै
कार्यक्रममा सुवेदीले हालसालै प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित केही नयाँ उम्मेदवारको फोटो देखाउँदै उनीहरूबारे सोधेका थिए। राजनीतिमा उनी अपडेट रहेछन्। अधिकांश उम्मेदवारलाई चिने।
त्यही उम्मेदवारमध्ये एक थिए मकवानपुरबाट जितेर सबैलाई सरप्राइज दिएका राप्रपाका उम्मेदवार दीपक सिंह। उनले सिंहको राजनीतिक हिस्ट्री समेत खुलाउँदै उनको लुक्स निर शाहको जस्तै देखिने भन्दै नेपाली फिल्ममा शाहको विकल्पमा उनलाई अभिनय गराउन सकिने बताए।
उनले सिंहलाई सुझाए- 'अब सांसद त भइहाल्यो यसो फिल्मतिर पनि प्रयास गर्दा हुन्छ।'
मंसिर १८, २०७९ आइतबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।