भारतका दुई चिकित्सा अध्ययन संस्थान कालोसूचीमा, शैक्षिक योग्यता मान्य नहुने
काठमाडौं: नेपाल फार्मेसी परिषद्ले भारतका दुई चिकित्सा अध्ययन संस्थानलाई कालोसूचीमा राखेको छ। परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले आज एक सूचना जारी गर्दै दुई संस्थानलाई कालोसूचीमा राखिएको जानकारी गराएका हुन्।
कालोसूचीमा पर्ने संस्थानमा भारत हिमाञ्चल प्रदेशको आईईसी विश्वविद्यालय र ओढिसाको गजपति कलेज अफ फार्मेसी रहेका छन्।जसअनुसार अब यहाँ अध्ययन गरेकाहरूको शैक्षिक योग्यता मान्य हुने छैन। परिषद्को निरीक्षण टोलीले पेश गरेको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो।
यस्तै परिषद्द्वारा लिइने डिप्लोमा इन फार्मेसीको २०औँ नाम दर्ता परीक्षा यही मङ्सिर २४ गते नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानो भर्याङमा हुने पनि सूचना मार्फत जानकारी गराइएको छ।
यसैगरी शहीद स्मारक जनस्वास्थ्य कलेज, काठमाडौं, मोडल कलेज अफ टेक एजुकेशन, वीरगञ्ज र चितवन मेडिकल कलेजलाई पनि परिषद्ले सीटीईभीटीको सम्बन्धनपश्चात् परिषद्बाट निरीक्षण गरिएको भए सोको प्रतिवेदन, मान्यता प्राप्त गरेको भए सो प्रतिलिपि परिषद्को कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।
आवश्यक कागजपत्र प्राप्त नभए त्यहाँ अध्ययनरत विद्यार्थीलाई परिषद् नाम दर्ता परीक्षामा सामेल गराउन परिषद् बाध्य नहुने पनि जानकारी दिइएको छ।
मंसिर १८, २०७९ आइतबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।