आफ्नै व्यवहारले हारे एमालेका महासचिव पोखरेल, प्रदेशकै एक्ली प्रत्यक्ष निर्वाचित महिला सांसद बनिन् शर्मा

आफ्नै व्यवहारले हारे एमालेका महासचिव पोखरेल, प्रदेशकै एक्ली प्रत्यक्ष निर्वाचित महिला सांसद बनिन् शर्मा

बुटवल: लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ जम्मा २६ वटा निर्वाचन क्षेत्र छन्। २६ मध्ये गत ४ मंसिरमा भएको निर्वाचनमा २५ जना पुरुष उम्मेदवार विजयी हुँदा एउटा निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी भइन्।

त्यो पनि 'हेभिवेट' नेता एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै। विजयी उम्मेदवार हुन्- माओवादी केन्द्रकी रेखा शर्मा। दाङ क्षेत्र नम्बर २ बाट विजयी भएपछि यतिबेला शर्माको चर्चा चुलिएको छ। 

शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गरेकी हुन्। शर्माले २६ हजार ८८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए। 

सत्ता गठबन्धनको साथ पाएकी शर्मा पूर्व सामान्य प्रशासनमन्त्री समेत हुन्।

कसरी सम्भव भयो महासचिव पोखरेलविरुद्धको जित
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ सात जना महिला उम्मेदवार थिए। जसमा शर्माले मात्र बाजी मारिन्। शर्माले जित्नुको मुख्य कारण पोखरेलको कार्यशैली तथा व्यवहारलाई मानिएको छ।

पोखरेल पराजित हुनु र शर्मा विजयी हुनुको अर्को मुख्य कारण दाङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अनपेक्षित मतपरिणाम पनि हो। स्वतन्त्र पार्टीले बनाएको चुनावी रणनीतिलाई पूरै बेवास्ता गरेको एमालेले त्यो बेला स्वतन्त्रको मत अहिलेको अवस्थामा आउँछ भनेर आकलन नै गरेन।

निर्वाचनमा मात्र होइन, अन्य समयमा पनि कार्यकर्ताबीच घुलमिल नभएको, जनताका गुनासा र काममा गम्भीर नभएको आरोप पोखरेललाई लाग्दै आएको थियो। यस पटकको निर्वाचनमा उनी पराजित हुनुमा यही कारण पर्याप्त भयो।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा सोही क्षेत्रबाट चुनाव लड्ने चर्चाका बीच अन्तिममा उनले चुनाव नलड्ने बताएका थिए। यसपछि शंकर पोखरेलाई 'वाक ओभर' दिएको समेत चर्चा चलेको थियो। 

महराले समानुपातिकबाट समेत आफ्नो नाम झिकेर संसदीय राजनीतिबाट बाहिर गए। महरालाई मुख्य प्रतिस्पर्धी ठानेको एमालेले माओवादीकी शर्मासँग यति धेरै प्रतिस्पर्धा होला भन्ने कल्पना समेत गरेको थिएन।

‘महरा निर्वाचनमा नलड्ने भनेपछि एमालेहरूले पहिले नै निर्वाचन अब सहज हुने भयो भनेर आकलन गरेकै हुन्। तर परिणाम अन्तिममा अर्कै आयो’, एमाले जिल्ला कमिटीका एक सदस्यले भने।

त्यसो त पोखरेल पराजित हुनु र शर्मा विजयी हुनुको अर्को मुख्य कारण दाङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अनपेक्षित मतपरिणाम पनि हो। स्वतन्त्र पार्टीले बनाएको चुनावी रणनीतिलाई पूरै बेवास्ता गरेको एमालेले त्यो बेला स्वतन्त्रको मत अहिलेको अवस्थामा आउँछ भनेर आकलन नै गरेन। 

एमालेकै कार्यकर्ताहरू अहिले पनि आफ्नो मत स्वतन्त्र पार्टीले काटेको बताउँछन्। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले १५ हजार ८६१ मत प्राप्त गरेका थिए। 

शर्मा राजनीतिक रूपमा कुनै पनि विवादमा नमुछिएकी नेतृ भएकाले पनि जित निकाल्न सफल भएको उनीनिकट नेताहरूको भनाइ छ।

स्थायी राजधानी ल्याएको जस दिएनन् जनताले
पार्टीभित्रको आन्तारिक रणनीति बनाउन माहिर एमाले महासचिव पोखरेल तत्कालीन नेकपा हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीलाई सहमत गराई तत्कालीन प्रदेश नं ५ को स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव संसद्मा लगे। 

पार्टीको ह्विपअनुसार दुईतिहाई बहुमतले ०७७ असोज २० गते प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी राखियो। त्यही दिन कांग्रेसका सहित केही सांसदले संसद्मा असभ्य भएर प्रस्तुत भए, कुर्सी तोडफोड भए। 

तत्कालीन आन्तारिक मामिलामन्त्री (हाल मुख्यमन्त्री कुलप्रसाद केसी) ले त विरोध गरिरहेका सांसदलाई ‘घिसारेर फाल’ भनेर मर्यादापालकलाई निर्देशन नै दिए।

सदन तात्यो, सडक तात्यो तर पोखरेलले यसको ब्याज पाउन सकेनन्। न त पार्टीलाई दाङमा स्थापित गराउन सके। बरू मुख्यमन्त्री रहेकै अवस्थामा गुटगत राजनीतिलाई जिल्लामा स्थापित गरे। 

यतिसम्मकी त्यसको असर स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा देखा पर्यो। बुटवलसहित अधिकांश पालिकामा उनकै जोडबलमा टिकट वितरण गरियो। तर परिणाम सुखद् आएन।

आफूले राजधानी ल्याएको छाती ठोकेर सगौरव भाषणबाजी गरे पनि पोखरेल मात्र दाङमा हारेनन्। दाङमा एमाले ‘क्लिन स्वीप’ भयो। 

‘हामीले जनतालाई जति बुझाउनुपर्ने हो बुझाउन नसकेको पक्कै हो। तर भोट जसरी आयो त्यो स्वीकार्नुको विकल्प रहेन। जनता जनार्दन हो। परिणामबारे समीक्षा हुँदै गर्छ’, एमाले एक नेताले भने।

०७४ को निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र २ (क) बाट विजयी बनेका पोखरेलको यो संसदीय राजनीतिमा दोस्रो हार हो। 

उनी ०५१ सालमा दाङ–२ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधि सभाका सदस्य भएका थिए। ०६४ सालमा संविधान सभा निर्वाचनमा पोखरेल समानुपातिकबाट सांसद बने। 

त्यसपछि ०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग उनी पराजित भएका थिए।

जनताका गुनासो संसद्मा पुर्याएर समाधान गर्छु– शर्मा
माओवादीका चर्चित नेतृहरू पम्फा भुसाल, ओनसरी घर्ती पराजित हुँदा दाङ क्षेत्र नं. २ बाट विजयी बनेपछि रेखा शर्मा अहिले चर्चामा छिन्। 

०७० सालको संविधान सभा र ०७४ सालको प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लडिन् र एमाले महासचिव पोखरेललाई पराजित गरिन्।

शर्माले अब जनताका समस्या सुनाउने मात्र नभई समधानको पहल संसद्मा गर्ने पनि बताएकी छिन्।

पराजित को को भए?
लुम्बिनीमा प्रतिनिधि सभातर्फ प्युठानमा उम्मेदवारी दिएकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल एमालेका नेता सूर्य थापासँग पराजित भइन्। पौडेलले ३५ हजार ८१४ मत प्राप्त गर्दा थापाले ४१ हजार ११८ मत प्राप्त गर्दै विजयी भए। पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार थिइन्।

यसपटक प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका एमालेका शान्ता चौधरी र कोमल वली, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीकी रामकुमारी झाँक्री पनि पराजित भए।

दाङ क्षेत्र नम्बर १ मा एमालेकी शान्ता र एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी गङ्गा चौधरीलाई एकीकृत समाजवादीका मेटमणि चौधरीले पराजित गरे। 

दाङ क्षेत्र नम्बर ३ मा एमालेकै कोमल वलीलाई नेपाली कांग्रेसका दीपक गिरीले हराए।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाललाई एमाले सचिव टोपबहादुर रायमाझीले पराजित गरे। 

गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई एमालेका गोकर्ण विष्टले हराए।

मंसिर १८, २०७९ आइतबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।