'परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ'

'परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ'

बुटवल:­ शुक्रबार बुटवलमा आयोजित ‘परदेशको पसिना: कसरी लिने प्रतिफल?’ विषयमा भएको छलफलमा अधिकांश सरोकारवालाले राज्यको ध्यान आवश्यक रहेको बताएका छन्। वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका विषयमा भएको छलफलमा देशको अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र परदेशमा बगाएको पसिनाबाट सिर्जीत रकमको सही सदुपयोग गर्न राज्यको ध्यान जानुपर्ने सहभागीहरूले बताएका हुन्।

किताब पब्लिसर्सले गरेको अन्तरक्रियामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्किएकाको तथ्याङ्क वडास्तरबाटै संकलन गर्ने काम भइरहेको बताए। 

‘बेरोजगारलाई रोजगारीमा जोड्न, सीप सिकाउन र सीपलाई काममा जोड्न काम थालिएको छ,’ प्रमुख पाण्डेयले भने, ‘तर स्वदेशमा बस्नुपर्छ र यहीँ काम गर्नुपर्छ भन्ने संस्कार नसिक्दासम्म समस्या छ।’

यस्तै लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशले श्रम तथा रोजगार नीति बनाउँदै गरेको बताए। वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप मापन गर्न र उनीहरूलाई सीपअनुसारको रोजगारीमा जोड्न बजेट विनियोजन गरेको उनले बताए। 

‘वैदेशिक रोजगारीबाट फर्केका युवालाई पुर्नस्थापित गर्न उद्योग खोल्दा प्राथमिकता दिनेदेखि कृषि व्यवसाय, उद्योगधन्दा संचालनमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भने, ‘यद्यपि स्थानीय तहबाट यकिन तथ्याङ्क नआउँदा कार्यान्वयनमा कठिनाइ देखिएको छ।’

अन्तरक्रियामा सहभागी वैदेशिक रोजगारीबाट फर्केका दुर्गा भुसालले अस्पष्ट नीति, अदुरदर्शी नेतृत्त्व र भ्रष्ट कर्मचारीतन्त्रका कारण वैदेशिक रोजगारीको रकमको सही सदुपयोग र फर्किएकाहरू उद्यमी बन्न नसकिरहेको बताए। 

उनले वैदेशिक रोजगारीमा जानेको निश्चित प्रतिशत रकम बैंकमा अनिवार्य जम्मा गर्ने नीति मात्रै बनाउन सके पनि फर्केपछि सहज हुने सुझाव दिए। 

उनले वैदेशिक रोजगारीमा जानेलाई पनि एउटा आधारभूत आवश्यकता पूरा गर्न रकम जम्मा गर्ने र अर्को लगानी गर्न बचत गर्ने प्रयोजनमा दुई वटा बैंक खाता अनिवार्य गर्न सके उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग हुने बताए।

‘हामी विदेशमा सिकेको सीप, त्यहाँ कमाएको रकम यहाँ उपयोग गर्न चाहन्छौँ,’ आठ वर्ष खाडी मुलुकमा बसेर फर्केका नवराज भुसालले भने, ‘तर कहाँबाट सुरु गर्ने र अगाडि बढ्ने दिशानिर्देश गर्ने कोही छैन।’

अन्य सहभागीहरूले पनि राज्य अभिभावक भएर वैदेशिक रोजगारीमा जानेबेलादेखि फर्किने बेलासम्म सहजीकरण गरे मात्रै रेमिट्यान्सको सही सदुपयोग हुने बताए।

अन्तरक्रियामा सहभागीले राज्यले मैले गरेको लगानी डुब्दैन भन्ने वातावरण बनाइदिनुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाएर समृद्धि खोज्नुपर्ने सुझाव दिए। वैदेशिक रोजगारीबाट फर्केकाले लिएर आउने रकम मात्र होइन ज्ञान, सीप र उद्यमी बन्ने खुबीलाई प्रयोग गर्न सरकारी नीतिमा सुधार ल्याउन माग गरे।

विश्लेषक ध्रुब आचार्यले रेमिट्यान्सको सही सदुपयोग गर्न वैदेशिक रोजगारीमा गएका परिवारलाई समेत परामर्श गर्नुपर्ने बताए। ‘राज्यले नै निश्चित प्रतिशत उत्पादन क्षेत्रमा लगाइदिनुपर्छ’, उनले भने।

विश्लेषक मनिकर कार्कीले परदेशको पसिनाको प्रतिफल निकाल्ने बहसअघि स्वदेशको पसिना स्वदेशमै कसरी लगाउने भन्नेबारे पनि छलफल चलाउन सुझाव दिए।

यस्तै श्रमिक सञ्जालकी सदस्य सङ्गीता तिमिल्सिनाले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्स धेरैजसो आधारभूत आवश्यकतामै खर्च हुँदा त्यसको देखिने गरी प्रतिफल नहुने बताइन्। 

‘एउटा महिला विदेश गएर कमाएर छोराछोरी पढाउँछिन्, स्वाथ्योपचारमा खर्च गर्छिन्। यसले समाजमा शिक्षित र स्वस्थ जनशक्ति उत्पादनमा भूमिका खेल्छ’, उनले भनिन्, ‘तर समाजमा यस्तो काम देखिँदैन।’ 

यस्तै उनले आप्रवासनबाट फर्केका महिलाको सवालमा सामाजिक विभेद र लाञ्छना बढी हुने भएकाले कतिपय महिला परिवारमै पुर्नस्थापित हुन नसक्ने र मानसिक समस्यामा फस्ने पनि बताइन्। उनले भनिन्, ‘यस्ता महिलाले समाज र राज्यबाट सहयोग पाउँदैनन्।’

लेखक रामचन्द्र श्रेष्ठले राज्य अभिभावक बनेर काम थालेमात्रै वैदेशिक रोजगारीलाई व्यवस्थीत गर्न र त्यसको आयबाट उचित प्रतिफल निकाल्न सकिने बताए। 

‘वैदेशिक रोजगारीमा जान चाहनेलाई सीप र क्षमता विकासदेखि वैदेशिक रोजगारीमा उचित पारिश्रमिक दिन श्रम सम्झौता गर्ने र उनीहरुको आम्दानीलाई आयमूलक काममा लगाइदिने काम राज्यको हो। यो भूमिका राज्यले पूरा गर्नुपर्छ।’

तथ्याङ्कअनुसार वैदेशिक रेमिट्यान्स मुलुकको ६० प्रतिशत घरमा पुगेको छ। वैदेशिक रोजगारीबाट फर्केपछि पुनः दोहोर्याएर जानेको संख्या ३५ प्रतिशतभन्दा बढी छ। 

फर्किएकामध्ये ३७.५ प्रतिशत कृषिमा आबद्ध हुन्छन्। थोरैले मात्रै आर्थिक उपार्जनमा लगानी गर्छन्।

नेपालबाट दैनिक करिब एक हजार तीन सय युवा रोजगारीका लागि बाहिरिने र त्यसबापत प्रतिदिन दुई अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिने तथ्याङ्क रहेको छ। कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८-२८ प्रतिशत छ।

मंसिर १८, २०७९ आइतबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।