स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उपसभापति गुरुङ निर्वाचित
स्याङ्जा : स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्।
कांग्रेसले चापाकोटका चारवटा मतदान केन्द्र कब्जा गरेर एकछापे मत हालेको भन्दै एमालेका उमेवार पद्मामा अर्यालले निर्वाचन आयोगमा उजुरी दिएपछि रोकिएको मतगणना बुधबारबाट सुरु भएको थियो।
यस क्षेत्रको पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार गुरुङले ५ हजार ६२७ मतको अन्तरले निर्वाचित भएका हुन्। उनले ३१ हजार ४६६ मत ल्याएर विजयी भएका हुन्।
गुरुङको प्रमुख प्रतिस्पर्धी एमालेका पद्मा अर्यालले २५ हजार ८३९ मत पाएकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन्।
१ लाख १६ हजार ६७८ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो। २०७४ को निर्वाचनमा स्याङ्जाका दुवै प्रतिनिधिसभा सदस्यमा एमालेका पद्मा अर्याल र नारायण मरासिनीले चुनाव जितेका थिए।
अर्यालले कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। हेबीवेट उम्मेदवार श्रेष्ठलाई पराजित गरी कांग्रेसको गठबाट निर्वाचन जितेलगत्तै एमाले अध्यक्ष ओलीले अर्याललाई मन्त्री बनाएका थिए।
ओलीको कृपाबाट मन्त्री बनेकी अर्याल गत वर्ष सम्पन्न एमालेका महाधिबेशनबाट सचिब पदमा निर्वाचित भएकी थिइन्।
गोपालमान प्रत्यक्ष चुनाव नलडेर पछि कांग्रेसका उपसभापति धनराजसँग उनी यसपटक चुनाव लडेकी थिइन्। तर, उनलाई कांग्रेसका धनराजले फराकिलो अन्तरले पराजित गरेका छन्।
मंसिर १७, २०७९ शनिबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।