अलपत्र चौपायालाई पानी खुवाउँदा जेल परेका सडक अभियन्ता, जसलाई ‘पशु’ भन्दा पनि मुसुक्क मुस्काउँछन्

अलपत्र चौपायालाई पानी खुवाउँदा जेल परेका सडक अभियन्ता, जसलाई ‘पशु’ भन्दा पनि मुसुक्क मुस्काउँछन्

सुर्खेत : वीरेन्द्रन्गर–६ का नवराज बोहोरा(भेडा) विगत पाँच वर्षदेखि वीरेन्द्रनगरमा सडकमा अलपत्र छोडिएका पशुचौपायाको सेवामा छन्।

जब उनी विद्यालयमा पढ्थे त्यतिबेलादेखि नै उनलाई लाग्थ्यो मानिसहरूको कुरा त सबैले बुझ्छन् तर यी पशुपंक्षीहरूको कुरा कसले बुझ्छ र? कसैको खेती खान थालेका पशु र बाटोमा फालेको खानेकुरा खान लागेका कुकुरलाई ढुंगा समातेर लखेटेको देख्दा उनलाई नरमाइलो महसुस हुन्थ्यो।

उनी विद्यालय तहमा अध्ययन गर्ने बेलादेखि १०/१२ वर्षसम्म लागूऔषधको लतमा फसे। जसकारण उनले पढाइमा राम्रो गर्न सकेनन्। सधैं कक्षामा पहिलो हुने उनी लागूऔषधमा परेपछि बल्लतल्ल कक्षा १२ सम्मको पढाइ पूरा गरे। समाजमा केही गर्नुपर्छ भन्ने भाव मनमा आएपछि उनी लागूऔषधको दलदलबाट मुक्त भए।

सामाजिक अभियन्ता बनेर समाज परिवर्तन गर्छु भनेर लागि परे उनी। त्यसका लागि उनको पहिलो प्राथमिकतामा पर्यो सडक अभियान। बोहोराकै पहलमा २०६४ सालमा शुभारम्भ भएको कर्णालीकै पहिलो सुधार गृह अहिले पनि लागूऔषध प्रयोगकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण कडी बनेको छ। अहिले उनका साथीहरूले त्यो गृह चलाएका छन्।

तीन भाइ, एक बहिनी मध्येका जेठो सन्तान हुन् नवराज। उनको पारिवारिक स्थिति भनेको व्यावसायिक हो। श्रीमती पनि खुद्रा व्यापार गर्छिन्। उनी ११ वर्षीया छोरी छन्। नवराजका आमाबुवाले छोरा पढेर डाक्टर, इन्जिनियर र बौद्धिक व्यक्ति बन्ला सोचेका थिए। तर, समयले उनलाई सडक अभियन्ता बनायो।

वीरेन्द्रनगरमा रहेका अलपत्र छाडिएका पशुचौपायाको व्यवस्थापनमा दिनरात खटिँदै आएका उनले पशुचौपाया व्यवस्थापनका लागि विभिन्न व्यक्ति र संस्थाले लिएको अनुदानमासमेत खबरदारी गर्दै आएका छन्।

सडकमा रहेका पशुचौपायालाई खाना र पानीको व्यवस्थापनसँगै अशक्त पशु र पंक्षीको उपचार र उद्दारमा उनले काम गर्दै आएका छन्। अहिले कुनै पनि ठाउँमा बिरामी, अशक्त, दुर्घटनामा परेका गाई, गोरु, कुकुर, पंक्षीहरू भेटिए सबैभन्दा पहिला उनलाई फोन जान्छ।

सम्बन्धित स्थानमा पुगेर त्यसको उपचार र आवश्यक व्यवस्थापनमा उनी विभिन्न सरकारी, गैरसरकारी निकाय र व्यक्तिसँग समन्वय गरेर काम गर्छन्। पशुपंक्षीको क्षेत्रमा काम गर्ने भएकोले पनि उनले आफ्नो फेसबुकमा नाम नै ‘नवराज भेडा’ राखेका छन्।

सानो–सानो विषयमा काम गर्नुपर्छ भन्ने विश्वास राख्छन् नवराज। जसको सहारा कोही हुँदैन, जसमा कसैको नजर पुग्दैन त्यहाँ काम गर्दा आनन्द लाग्ने उनी बताउँछन्।

‘समयले मलाई बिगारेको थियो। पछि आफू सुध्रेर केही गर्नुपर्छ भन्ने लाग्यो। वीरेन्द्रनगरमा पशुचौपाया व्यवस्थापनको ठूलो समस्या थियो। त्योसँगै दिनहुँ सडक दुर्घटना र खानापानीको अभावमा पशुहरू मरिरहेका थिए,’ उनले भने, ‘पशुचौपायाको सहाराका लागि मैले सडक अभियन्ता भएर काम गर्न थालेँ। यसरी काम गर्दा कसैले मलाई पशु नै भने, कसैले पागल भने तर म निरन्तर यो अभियानमा छु।’

फुुटपाथ र बाटो बनाउने मापदण्ड मान्छे केन्द्रीत हुँदा पशुचौपायालाई दुःख हुने गरेको नवराज बताउँछन्।

पानी खान नपाएर छट्पटाइरहेका र प्लाष्टिक खाएर अकालमै ज्यान गुमाएका पशुचौपायाहरूको खाना र पानीको व्यवस्थापनका लागि हरेक सार्वजनिक स्थानमा प्लाष्टिकका ठूला भाँडामा ‘पानीदान महादान’ अभियान चलाए उनले।

त्यसरी धेरै पशुहरूले पर्याप्त मात्रामा पानी र खाना खान पाए। तर, यही काम गरेका कारण उनलाई दुई दिन प्रहरीले थुनामा राख्यो। सार्वजनिक स्थानमा पानी राख्दा जोखिम हुने कारण देखायो प्रहरीले। पछि समर्थकले विरोध गरेपछि छुटे उनी।

नवराजलाई पछि मात्र थाहा भयो, पशुचौपायाका नाममा बजेट लिएर काम नगरी बजेट खाएका व्यक्तिहरू नै रहेछन् प्रहरीकोमा उजुरी दिने। तर, थुनामा पर्दासमेत उनले अभियान छाडेनन्। बरु दुर्घटनामा परेका कुकुर र पशु नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै गेट अगाडि ल्याएर सांकेतिक विरोध गरे।

विभिन्न सडक दुर्घटनाका कारण पशुको ज्यान गएको खबर सुनेपछि उनको मन भतभती पोल्छ। खबर सुन्नेबित्तिकै उनी अवस्था र जानकारी लिन्छन् र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई दवाव दिन्छन्। पशुचौपाया व्यस्थापनका लागि टाठाबाठा र जनप्रतिनिधिका नजिकका व्यक्तिले अनुदान लिने तर काम नगर्ने अवस्थाको उनी घोर विरोध गर्छन्।

नगरले बनाउन थालेको गौशाला समयमा नबन्दा गाई–गोरुको स्थिति झनै भयावह भएको उनी बताउँछन्। पर्याप्त पानी खान नपाएपछि पशुको पेटमा प्लाष्टिक र कागज बढि देखिएर अकालमा ज्यान गुमाए पनि त्यसको व्यवस्थापन तर्फ सरोकारवाला निकायले त्यसमा चासो नदेखाएको उनलाई कत्ति पनि मन परेको छैन।

‘पशुमा पानीको मात्रा कमी भएपछि जे खाएपनि नपच्ने भयो, हिँड्दाहिँड्दै पशु लड्न थालेपछि पानी अभियान ल्याएँ, अहिले त्यो अवस्थामा कमी आएको छ,’ उनले भने, ‘काम गर्न धेरै समस्या भयो, मानिसलाई खानेपानी छैन, गाईगोरुको पछि लाग्ने कस्तो पशु समेत भने, तर मलाई जे भने पनि केही वास्ता छैन म निरन्तर लागि रहन्छु।’

केही महिनाअघि वीरेन्द्रनगरकै सिद्धाइपाइला क्षेत्रमा बत्तीको तारमा ठोक्किएर घाइते भएको गिद्धलाई पनि उद्दार गरेका थिए। करेन्ट लागेर आँखा गुमाएको गिद्धलाई तीन ममिहनासम्म काँक्रेबिहार क्षेत्रमा राखेर आहारा, पानी र उपचारको बन्दोबस्तमा अहोरात्र खटिए उनी।

अझपनि उड्न नसक्ने भएपछि सरकारी निकायको सहयोगमा तीन महिनापछि जटायो रेष्टुरेन्ट नवलपरासीको कावासोतीमा पठाए। अहिले उक्त हिमाली गिद्ध अन्य कुरामा स्वस्थ भए पनि करेन्टले गर्दा आँखा देख्न सक्दैन। उड्न पनि सक्दैन।

अप्रेसन भए पनि सफल नहुने पशुचिकित्सको बताउँदा नवराज दुःखी छन्। किनभने उनको लक्ष्य भनेको त्यो गिद्धलाई अकाशमा उडेको देख्नु थियो।

विभिन्न फोहोर, दुर्घटनाका कारक पशुचौपाया भएकोले व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन् उनी।

‘पशुलाई व्यवस्थापन गर्ने सके फाइदा नै फाइदा छ। मलमूत्रबाट कृषिमा राम्रो हुन्छ, अर्गानिकमा पनि टेवा पुग्छ,’ उनले भने, ‘त्यसैले यो क्षेत्रलाई व्यवस्थापन गर्न सके, युवालाई रोजगारी दिन सकिन्छ। अर्गानिक मललाई पनि निर्यात गर्न सकिन्छ ।’

पशुचौपाया व्यवस्थापन गरिसकेपछि वीरेन्द्रनगरको फोहोर व्यवस्थानका लागि अभियान चलाउने नवराजको योजना छ। 

मंसिर १७, २०७९ शनिबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।