नर्क पनि यो भन्दा खराब त के होला र !
अहिलेको समय कोरोना–कोलाहल पछिको समय हो। अर्थात डेंगुको समय। तै पनि डेंगुको चर्चा छैन। कोरोनाको धङधङी अहिले पनि जारी छ। किनभने, कोरोना अन्तर्राष्ट्रिय रोग हो। डेंगु स्थानीय रोग हो। डेंगु ज्वरोको बारेमा थाहै नपाइ मानिसहरू डंगडंग्ती मर्ने गरेका हुन्।
कोरोना फैलिएको हल्ला नचल्दासम्म भारत, नेपाल, बांगलादेश र पाकिस्तानमा डेंगु लागेर कति मरे कति। त्यसको हिसाब–किताब छैन। कोरोनाको जति चर्चा भयो, डेंगुको त्यति चर्चा कहिल्यै भएन। हाम्रो नेपालमा त कसैले पनि आफ्ना परिवारका सदस्य वा परिचितको डेंगु लागेर मृत्यु भएको कहिल्यै बताएका छैनन्।
हिजोआज देशमा आयोजना गरिने आर्थिक–व्यापारिक सेमिनारहरूमा हाम्रा अर्थशास्त्री तथा अर्थविद्हरूले हाम्रो आर्थिक अवस्थालाई बरबाद तुल्याउन कोरोनाको मुख्य हात रहेको चर्चा गर्न थालेका छन्।
सरकारी भनाइ अनुसार: अहिले व्यापक भइरहेको डेंगु स्थानीय महामारी हो। कोरोना जस्तो अन्तर्राष्ट्रिय होइन। कोरोना–काल सकिएकोले अब अर्थतन्त्रमा सुधार आउँछ। अब कोरोनाको भ्याक्सिन किन्नुपर्ने छैन।
कसले दिन्छ हाम्रा विद्हरूलाई यस्तो कुराको ज्ञान? संसारमा कसैले गर्न नसकेको अनुमान नेपालमा गरिन्छ।
०००
यो पटकको मेरो कान्तिपुरगाथा पुरानै श्रृंखलाको पुननिर्माण मात्रै हो। देशको बाहिरी साजसज्जा र श्रृंगारमा परिवर्तन आएको छ। तर, मौलिक अवतार सिन्को जति पनि बदलिएको छैन।
हाम्रो देशको कथा यस्तो छ : यो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबद्धता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरूको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ मानिएका छैनन्। उसैपनि यी शब्दहरू इतिहासको कुनै चरणमा शोभायमान देखिएनन्। नेपाली समाजले भीममल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो, भाइ भारदारलाई चिन्यो। तर, देशका लागि ज्यानको आहूति दिने अरु कसैलाई चिन्दै चिनेन।
व्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै आसन ग्रहणका लागि मन्चमा पुगे। सभाकक्षमा भाषण सुन्ने कोही भएन।
मल्ल राजाका भारदार थिए भीम मल्ल। त्यतिबेला तिब्बतको आर्थिक र व्यापारिक संप्रभूता कान्तिपुरको हातमा थियो। कान्तिपुरका जनता ‘भोटे नून’ खान्थे। तिब्बतीहरू नेपाली चामल। सालबसाली उठतीपुठतीमा गएका भीममल्ल तिब्बतबाट फर्किनासाथ राज–दरबारको ढोकैमा काटिए। उनको अपराध के थियो? कसैले थाह पाएन। अपराध थियो भनेपनि त्यसका प्रमाण–प्रमेय थिएनन्। सबै अनुमानको कुरा थियो।
नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ। हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थेः नेपाली इतिहासका स्रोतहरू सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन्। भीम मल्ललाई जनताले आज पनि शानका साथ सम्झिन्छन्। भीमसेन थापा यो देशका गौरवशाली पुरुष मानिन्छन्। उनको इतिहास पनि विवादास्पत छ। उनको ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन। अमरसिंह थापाको कद भीमसेन थापाको भन्दा धेरै अग्लो थियो। यो सत्य हो।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जसदिने कुरा लगभग सल्टिइसकेको छ। पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन्। हिजोसम्म उग्रवादी बाटोमा लागेका नेत्रविक्रम चन्दले पनि अब पृथ्वीनारायण शाहको विरोधमा काम नगर्लान्।
पृथ्वीनारायण शाहको मूलराज्यका रूपमा परिचित गोर्खामा हालै भएको चुनावमा नेपाल राष्ट्रबाट शाहवंशका राजाहरूको स्वामित्व समाप्त तुल्याउने अभियानका नेता प्रचण्डको ‘प्रचण्ड’ विजयपछि पृथ्वीनारायणको पूजा जति गरे पनि भयो। नेपालको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारी भद्रगोल खूब चल्यो।
जो–जो बलिया भए ती सबैले आ–आफनो ‘इतिहास’ लेखाए। रानीहरूसँगको प्रेमसम्बन्धका कारण दरबारमा धेरै भारदारहरूको शक्ति विस्तार भयो। भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत विविध थर र एकै वर्गका व्यक्तिहरू नेपाली समाजमा हावी भए। यी त केही उल्लेखनीय उदाहरणमात्रै हुन्। नेपालको इतिहासको आकार देशको वास्तविक आकारभन्दा कयौं गुना अग्लो र लामो छ। यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र।
राजा वीरेन्द्रका विरुद्ध पुराना र घरानियाहरूले षडयन्त्र शुरु गरेको कथा शहरका संभ्रान्त बैठकहरूमा दोहोरिन, तेहोरिन थालेको थियो।
जतिबेला माओवादी लडाईंमा थिए, त्यतिबेला ती रनवन घुम्थे। देशमा पाइने अपार जडिबुटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे। नेपालगन्जमा सीमित जडिबुटीको व्यापारलाई देशव्यापी प्रचारमा ल्याएका हुन् माओवादीले। यो कुरालाई मान्नैपर्छ।
देशमा राजनीतिक आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन। तर, जनता–जनताका बीच वार्ता भएकै छैन। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि देशका समस्याहरूमाथि छलफल गर्ने चलन ह्वात्तै बढेको थियो। त्योसँगै बढेको थियो आसन ग्रहणको चलन।
व्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै आसन ग्रहणका लागि मन्चमा पुगे। सभाकक्षमा भाषण सुन्ने कोही भएन। सभाकक्ष आमन्त्रित व्यक्तित्वका चालकहरू, सुरक्षाकर्मीहरू र निजी सचिवहरूले ‘भरिएको’ थियो। मन्चमा जो बिराजमान थिए ती आपसमा मस्त थिए। एकअर्कासँग तीनतेह्रकोे सम्बन्ध नहुनेहरू पनि एक आपसमा ‘भलाकुसारी’ गर्दै थिए। यो थियो शहरी सभ्यताको विस्तार।
त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने!
त्यतिबेलाका सभामा, स्वाभाविक थियो, शहीदहरूको सम्मानमा एकमिनेटको मौन धारणा। त्यसपछिको अर्को एकमिनेट वीपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुवैको बर्षा हुन्थ्यो। ‘भलाद्मी’ राजा वीरेन्द्रको लोकप्रिय व्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो– उनको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो।
त्यसको प्रमाणस्वरूप कान्तिपुरका सम्भ्रान्त बैठकहरूमा कथाको एक अंश नियमित सुनाइन्थ्यो– कसरी राजा वीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ शब्दले सम्बोधन नगरेर ‘मेरी श्रीमती’ शब्दले सम्बोधन गरेका थिए।
यो घटना राजा वीरेन्द्रले राज्यारोहण गरेलगत्तै नेपाल विश्व सम्बन्ध परिषद्को आयोजनामा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सभागृहमा देशका बुद्धिजीवीहरू सहभागी भएको एउटा महत्त्वपूर्ण सभामा भएको थियो। त्यसै दिनदेखि राजा वीरेन्द्रका विरुद्ध पुराना र घरानियाहरूले षडयन्त्र शुरु गरेको कथा शहरका संभ्रान्त बैठकहरूमा दोहोरिन, तेहोरिन थालेको थियो।
२०४७ सालमा कान्तिपुर शहरमा बीर गणेशमानको सघन चर्चा हुन्थ्यो। प्रजातन्त्रको पुनर्स्थापनापछि गणेशमानजीलाई ‘बीर’ त के, प्रजातान्त्रिक देशको ‘अकिन्चन’ नागरिकका रूपमा समेत शान्तिसँग बस्न दिइएन। उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो। तर, के कांग्रेसले उहाँलाई साँच्चै सर्वोच्च रहन दियो त? यसको जवाफ इतिहासले खोज्दै गर्ला।
सभा–समारोहमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्त दिँदै उनलाई राजनीतिमा इमान–जमानको प्रतीकका रूपमा सम्झना गरेको हिजो पनि सुनिन्थ्यो र आज पनि सुनिन्छ। त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुंगो हुन थालेपछि बिस्मृतिको गर्भमा लोप भयो।
राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन्। उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन्।
गणेशमानजी र किशुनजीको आदर्श नेपालको राजनीतिबाट लगभग लोप भयो। प्रजातन्त्र पुनर्स्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन–मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए।
पुनर्स्थापित संवैधानिक राजतन्त्र तथा वहुदलीय प्रजातान्त्रिक व्यवस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो। यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्त्वमा लड्यो र बहुमत ल्याएर जित्यो।
प्रजातन्त्र पुनर्स्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनर्स्थापनापछि, अभिमान भन्दा पनि हलक्क बढेको थियो घमण्ड। अभिमान र घमण्ड एकै अर्थदिने शब्द होइनन्। अभिमानी हुनु र घमण्डी हुनुका भेदहरू थुप्रैछन्।
प्रजातन्त्र पुनर्स्थापनापछि, पहिलो चुनावी मौसममा, आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रूपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो। चुनावकै प्रसङ्गमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’सँग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा तत्कालीन पत्रकार रघु पन्तले आफनो स्तम्भ लेखेका थिए। धन्य हो, पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र ओली गूट भनेर चिनिने एमालेमा छन्।
उतिबेलाका सभा–समारोहमा कांग्रेस–कम्युनिष्टको ‘बोक्रे’ मित्रता देख्न पाइन्थ्यो। कांग्रेसहरू कम्युनिष्टहरूलाई दुई हात जोडेर ‘नमस्कार’ गर्दथे। कम्युनिष्टहरू मुडकी उजाएर ‘सलाम’ फर्काउँथे। यतिबेला चाहीँ देशका नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरू मुडकी उजाएर कांग्रेसलाई नमस्कार गर्न होइन, डडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन्।
दुईवटा पूरा र एउटा मध्यावधि चुनाव बिते पनि पुनर्स्थापित प्रजातन्त्रले जनतालाई सन्तुष्टि दिन सकेको थिएन। राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र राजा भए। ज्ञानेन्द्र राजाका रूपमा भन्दा पनि पारस शाहका पिताका रूपमा बढि चर्चित भए।
संविधानका सन्दर्भमा भारतका हालका विदेशमन्त्री जयशंकर प्रसाद काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौं भनेर नेपाली नेताहरू आफनो गुनगान अझै गाउँदैछन्।
राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे। उनका चाकरीदारहरूले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो– ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसूस गरिबक्सियो।’ अप्ठेरो महसूस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सिएको थियो त? यो प्रश्नको जवाफ ती कीर्तिकारहरू कसैसँग पनि छैन होला।
राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन्। उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन्। राजाहरू ती बेलायतका हुन् कि नेपालका, धनी हुन् कि गरीब, मूर्ख हुन् कि बुद्धिमान: अलिकति सन्की-सन्की नै हुन्छन्।
गणतान्त्रिक राष्ट्रका रूपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए। मल्लकालीन नेपालमा भारदारहरूको वृत्तको विस्तार भएको थियो नेपालको शासन–प्रशासनमा। पृथ्वीनारायणका आफना मानिस थिएनन्। मल्ल राजाहरूको पतनपछि अलमल्ल परेका भारदारहरू शरणार्थीका रूपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे।
मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो। यसैको बिंडो थामेर, शाह राजतन्त्रलाई गणतान्त्रिक शासन व्यवस्थाले निरन्तरता दिएको छ अहिले। गिरिजा प्रचण्ड र परिवर्तनका अन्य महत्त्वपूर्ण नेताहरूले एउटा संविधानसम्म पनि लेख्न सकेनन् समयमा।
संविधान सभाको पहिलो कार्यकालमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो प्रधानमन्त्री भए। त्यतिबेला, ‘बाइ हुक्स एण्ड त्रूmक्स’ बाबुराम प्रधानमन्त्री नभएको भए फेरि कहिल्यै हुने थिएनन्।
यही क्रममा पहिलो संविधान सभा टुंगियो। दोस्रो संविधान सभाका लागि परिवर्तनका नेताहरूले सर्वोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए। त्यसपछि रेग्मीले जुन चुनाव गराए, त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो।
ओलीकाे नेतृत्त्वमा गठन भएको सरकारले विदेश नीतिका आफ्ना प्राथमिकता बदलेको थियो। भारतसँगको खुला सीमाना बन्द गरेर चीनसँग सीमा खुला गर्नुपर्ने विचार जागृत हुँदैछन्।
तै पनि, संविधान बन्यो। संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लागेन। नेताहरू कुनैपनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस् भनेर सतर्क थिए।
नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्त्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरूले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भयो।
अहिले जमाना बदलिएको छ। दशवर्ष लगाएर बडो कष्टका साथ ठसठसी कनी–कनी लेखिएको थियो संविधान। संविधानका सन्दर्भमा भारतका हालका विदेशमन्त्री जयशंकर प्रसाद काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौं भनेर नेपाली नेताहरू आफनो गुनगान अझै गाउँदैछन्।
उता जनता भने नेपालको संविधान ‘सक्रिय निष्क्रियताको बाटोमा लागेको’ अनुभव गर्न थालेका छन्। किनभने, देशमा द्वन्द्व कायम नै छ। संविधानले एकै झमटमा गाउँका गाउँलाई नगरपालिका बनाएको छ। तर, मानिसका सामान्य आवश्यकताको पहिचान गर्ने चेष्टा गरेको छैन।
समावेशी शब्दको अर्थ र तात्पर्य दुवैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा। जनयुद्धमा ‘सत्र हजार जनता’ मारिएकोमा माओवादीको सत्तो–सराप गर्नेहरू शाहीसेनाबाट मारिएका जनताको हिसाब–किताब गर्न उत्सुक देखिँदैनन्। जनयुद्धका समयमा भेरी, कर्णाली, तीला र पूर्व पश्चिमका अरु नदीहरूको भेलमा कतिलाई जबरजस्ती हेलिएको थियो? त्यो न माओवादीलाई थाहा छ, न त सुनेकै आधारमा भए पनि कसैले त्यसको अभिलेख नै राखेको छ।
कुनैबेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेपालमा गणतन्त्र आउने भनेको गोरुगाडा चढेर अमेरिका पुग्ने भने जस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएको छ। उखान टुक्का र कथा कहानीमा रुचि राख्नेहरूका लागि धेरै नै चाखलाग्दो व्यक्तित्व छ ओलीको।
उनको नेतृत्त्वमा गठन भएको सरकारले विदेश नीतिका आफ्ना प्राथमिकता बदलेको थियो। भारतसँगको खुला सीमाना बन्द गरेर चीनसँग सीमा खुला गर्नुपर्ने विचार जागृत हुँदैछन्। उसो त, चीनसँग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेको छ। चीन चिढिएला भनेर राजाहरू समेत सतर्क रहन्थे।
तिब्बत चीनमा गाभिँदा पनि नेपालको सरकार केही बोलेको थिएन। सन् १९८९ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको माग गर्दै बेइजिंगको तियानमेन स्क्वायरमा ‘चार जूनको आन्दोलन गर्ने’ युवा विद्यार्थीको दमन र हत्याका समाचार नेपालका भारदारवर्गले पढेकै छैन जस्तो पो छ!
अहिले एकथरि वामपन्थीहरू रन्थनिएका छन् नेपालमा एमसीसीको उपस्थितिले। शीतयुध्द कालमा युरोप अमेरिकाका मानिसहरू जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे। उनीहरूलाई यो थाह छैन एमसीसी चीनकै बाटो आउँछ। आज नआए भोलि आउँछ।
चीनसँग मूठभेड नगरेर उसलाई आर्थिक विकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले। उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले। यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन १९७२ मा।
अहिले देशको अवस्था र नर्कका अवस्थाका बीच कुनै भेद छैन। नर्क पनि यो भन्दा खराब त के होला र?
कम्युनिष्टहरूका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ। सोभियत संघसँगको सीमा युद्धले माओ उद्विग्न बनेका थिए। त्यही रन्कोमा उनले अमेरिकासँग मित्रताको हात बढाएका थिए।
माओत्से तुंगमा व्यवहारवाद प्रचूर मात्रामा थियो। उनको राजनीति र कूटनीति, नैतिक र सैद्धान्तिक आधारमा होइन, तत्कालीन परिस्थितिका आधारमा निर्भर हुन्थ्यो। उनी भन्थे, ‘थोरै क्रान्ति, आवश्यकताका आधारमा धेरै कूटनीति।’
माओको यो नीतिको अबलम्बन चीनमा जारी छ। नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेका छन्। यो सत्य हो, वितेको पचास वर्षमा आर्थिक विकासमा चीनले फराकिलो छलाङ्ग मारेको छ। चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ विकास गरेका छन्।
यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरूको ‘मौलिक’ चरित्रसँग अनभिज्ञ छ। त्यो मामिलामा चीनियाँहरू माहिर छन्। चीनका नेताहरूले नेपाली नेताहरूको नाडी छामी सकेका छन्। नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन्। त्यसबाट आकर्षित भएका छन्। त्यसैले, चीनका नेताहरू पूर्व राजदूतहरूलाई बेला–बेलामा भाषण गर्न नेपाल पठाएर नेपाली जनतालाई उनीहरूको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन्।
हामीले जानेका छौं गफ गर्न। हाम्रा सरकारहरूले जानेका छन् छड्के हान्न। आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रिय गराएर विरोधीको मान–मर्दन गर्न। जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ। चुच्चे नक्सा अनुसारको जमीनमा दावी गर्न सरकार नै पुगेको छैन।
विचरा हामी जनता। कान्तिपुरका रैथाने, पुरानिया र घरानिया भारदारहरूले काउकुती लगाइ दिएर सरकारलाई प्रसन्न तुल्याएका छन्। हामी नेपाली ‘सार’ मा सबै कुरा बुझ्छौं– जस्तो गीतासार। श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको चूरो जम्मा आठ पंक्तिमा।
एकताका शहरका पुस्तक पसलहरूमा एउटा पोष्टर पाइन्थ्यो– कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन्? आजकाल त्यस्तो पोष्टर कसैले बेच्दैन। किनभने, अहिले देशको अवस्था र नर्कका अवस्थाका बीच कुनै भेद छैन। नर्क पनि यो भन्दा खराब त के होला र?
मंसिर १६, २०७९ शुक्रबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।