लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसबाट तीनसहित छ जनाको दावेदारी

लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसबाट तीनसहित छ जनाको दावेदारी

बुटवल : कुनै पनि दलले स्पष्ट बहुमत नपाएको लुम्बिनी प्रदेश सभाको प्रत्यक्षतर्फको मत परिणाम आएसँगै सरकारबारे जोडघटाउ सुरु भएको छ।

लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेशसभा रहेको छ। ५२ जनाको टुंगो लागे पनि ३५ जनाको केही दिनमा टुंगो लाग्नेछ।

५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमाले ठूलो दल बनेको छ। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो।

२०७४ सालको चुनावको तुलनामा भने एमालेले नौ सिट गुमाएको हो। त्यसबेला एमालेले प्रत्यक्षतर्फ २७ सिट जितेको थियो। २०७४ मा सात सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा यसपटक १७ सिट जितेको छ।

कांग्रेस दोस्रो हुँदा पाँच सिट जितेर माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ। यसअघि ०७४ को चुनावमा वाम गठबन्धन हुँदा माओवादीले १४ सिट जितेको थियो।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन्। सिके राउत नेतृत्त्वको जनमत पार्टीले पनि एक सिट सुरक्षित गरेको छ।

यस्तै लुम्बिनी प्रदेश सभामा माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीन जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन्। अघिल्लो प्रदेश सभामा पाँच दलको सहभागिता रहेकोमा यसपटक कम्तीमा आठ दलको प्रतिनिधित्व हुनेछ।

लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। ४४ सांसद पुर्याउन दलहरूले साना दललाई साथमा ल्याउनुको विकल्प छैन।

को छन् मुख्यमन्त्रीका दावेदार ?
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने दावेदार एमालेबाट लिला गिरी हुन्। रुपन्देही क्षेत्र नं. २(१) बाट निर्वाचित गिरी लुम्बिनी प्रदेशका पुर्व पर्यटन तथा उद्योग मन्त्री समेत भइसकेका छन्।

गिरीबाहेक एमालेकै नेता भुमिश्वर ढकाल पनि मुख्यमन्त्रीका अर्का दावेदार हुन्। रुपन्देही क्षेत्र नं. ५(१) बाट निर्वाचित ढकाल एमाले लुम्बिनी प्रदेश सभाका पुर्व प्रमुख सचेतकसमेत हुन्। यदि एमाले नेतृत्त्वको सरकार बनेको अवस्थामा गिरी र ढकालमध्ये कुनै एकले नेतृत्त्व समाल्ने एमाले नेताहरू बताउँछन्।

यता, कणंग्रेसबाट मुख्यमन्त्रीका दावेदर हुन् महासमिति सदस्य समेत रहेका डिल्ली चौधरी। दाङ क्षेत्र नंं ३(१) बाट निर्वाचित चौधरी कांग्रेस नेतृत्त्वको सरकार बनेमा पहिलो मुख्यमन्त्रीका दावेदार हुन्।

यसैगरी, रुपन्देही क्षेत्र नं. १(२) बाट निर्वाचित अव्दुल रज्जाक पनि कांग्रेसभित्र मुख्यमन्त्रीका दावेदार हुन्। संघीय सरकारको पुर्व खानेपानी मन्त्री तथा राज्यमन्त्री भइसकेका उनी कांग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापतिसमेत हुन्। संघीय सांसदकै आकांक्षी उनलाई भावी मुख्यमन्त्रीको आश्वासन दिएर पार्टीले प्रदेशतर्फ धकेलेको हो।

कांग्रेसबाटै अर्का दावेदार हुन् दाङ २(१) बाट निर्वाचित प्रदेश उपसभापति राजु खनाल हुन्।

माओवादीले यदि सरकारको नेतृत्त्व पाए माओवादीबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बलियो सम्भावना छ। उनी रोल्पा १(१) बाट निर्वाचित भए।

माओवादीबाट मुख्यमन्त्रीमा आकांक्षी रहेका गुल्मीका सुदर्शन बराल पराजित भएसँगै उनको बाटो सहज भएको हो। महरा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत भइसकेका व्यक्ति हुन्।

कांग्रेसबाट मुख्यमन्त्री दाबी गरेका यसअघिका संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तु ३(२) मा पराजित भए। कांग्रेस प्रदेश सभापति अमरसिंह पुन रोल्पाबाट पराजित भए।

यता एमालेबाट मुख्यमन्त्रीका दावेदार रहेका दधिराम न्यौपाने रुपन्देही १(२) बाट पराजित भए। दाङ ३(१) बाट घनश्याम पाण्डे पराजित भए।

माओवादीबाट मुख्यमन्त्रीका आकांक्षी रहेका सुदर्शन बराल गुल्मी १(१) बाट पराजित भए। शंकर पोखरेल नेतृत्त्वको सरकारमा सामाजिक विकास मन्त्री भएका बराल आफू पराजित भएपछि नैतिकताका आधारमा पदबाट राजीनामासमेत दिइसकेका छन्।

मंसिर १६, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।