कांग्रेस गठबन्धनमा सहभागी हुन सिके राउत 'सकारात्मक'
काठमाडौं : पहिलो निर्वाचनमै प्रतिनिधि सभामा पाँच सिट सहित उदाएको जनमत पार्टीलाई कांग्रेस नेता विमलेन्द्र निधिले सरकारमा आउन आग्रह गरेका छन्।
निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच बुधवार भएको भेटघाटमा उनले राउतलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।
सप्तरीबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराएर विजयी भएका राउत कांग्रेस नेता निधिलाई भेट्न निधी निवास बानेश्वर पुगेका थिए।
भेटका क्रममा निधिले राउतलाई सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको निधिको सचिवालयले जानकारी दिएको छ। राउतले जवाफमा केन्द्र र प्रदेश सरकारमा आफूहरू सहभागी हुन सकारात्मक रहेको जवाफ दिएको निधी सचिवालयको दाबी छ।
भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न सहज हुने बताएको सचिवालयको दाबी छ।
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बनेसँगै पाँच सिट पक्का गरेको छ। सत्ता गठबन्धन सरकार बनाउन आवश्यक १३८ मध्ये ६ सिट पर छ।
मंसिर १४, २०७९ बुधबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।