डेढ लाख कमाउने चिया पसलेकाे जागिर संघर्ष: टेलिकम छाडेर सेनामा भर्ती भए, हवल्दार कुटेर नौ महिनामै टाप

डेढ लाख कमाउने चिया पसलेकाे जागिर संघर्ष: टेलिकम छाडेर सेनामा भर्ती भए, हवल्दार कुटेर नौ महिनामै टाप

काठमाडौं : उमेरले ५८ लागेका पुरुषोत्तम पाठक भत्केको पुलनजिकै चिया बेच्छन्। उनलाई श्रीमती सिर्जना पाठकले सघाउँछिन्। 

काठमाडौंमै जन्मे हुर्केका पाठकलाई बाल्यकालको कतिपय घटना सम्झना छैनन्। तर, उनलाई आफ्ना बाले आफू पाँच वर्षकै उमेरको हुँदा छाडेर हिँडेको भने अझै याद छ।

बा विनाको बाल्यकाल सम्झँदा उनी अहिले पनि भावुक हुन्छन्। आफ्नो आमा र बाको एक्लो सन्तान रहेका पाठकलाई आमाले नै हुर्काइन्।

‘बासँग भेट नभएको ५२ वर्ष भयो,’ उनी भन्छन्, ‘अहिले ज्यूँदै छन् कि मरिसके भन्ने पनि मलाई थाहा छैन।’

आमाको दुःख सम्झेर ६, ७ कक्षाभन्दा धेरै पढ्न नपाएकोमा पाठकले कहिल्यै आमाप्रति गुनासो व्यक्त गरेनन्। बरू जस्तो छ, त्यस्तै समयलाई उनले सजिलै स्वीकारे।

सानोमा उनी अर्काको खेत खन्न जाने गर्थे। शिवपुरीबाट दाउरा ल्याएर खाना बनाउन आमालाई सघाउँथे। यी बाहेक उनले भैंसी चराउँथे भने कहिलेकाहिँ साथीभाईसँग कुस्ती पनि खेल्थे।

जागिरमा टिक्न नसकेका पाठक
१७ वर्षकै कलिलो उमेरमा सरकारी जागिर खान काठमाडौंबाट जनकपुर पुगेका पाठकले आफ्नो सरकारी जागिरलाई दुई वर्षभन्दा बढि निरन्तरता दिन सकेनन्।

नेपाल टेलिकममा सरकारी जागिर खाएका उनले गर्मी र लामखुट्टेका कारण जागिरे छोडेर आएको सुनाउँछन्।

‘के गर्नु तराईको गर्मी र मच्छड मेरा दुश्मन भन्दा कम थिएनन्,’ उनले भने, ‘त्यसपछि राजीनामा दिनुबाहेक म सँग अरू विकल्प नै थिएन।’

सरकारी जागिर छाडेर सेनामा भर्ती भएका पाठकले त्यसलाई पनि निरन्तरता दिन सकेनन्। हवल्दारलाई नै कुटेर भागेका उनले सेनाको जागिरमा पनि ९ महिना मात्रै टिक्न सके।

सेनाको जागिर पनि नफापेपछि उनी टोयोटा गाडीको कम्पनीमा काम गर्न पुगे। जहाँ उनी गाडी सर्भिसिङ गर्थे तर त्यो जागिरमा पनि १५ दिनभन्दा बढि टिक्न सकेनन्।

गाडी कम्पनीबाट परिवार नियोजन सम्बन्धी काम गर्ने संस्थामा जागिर खान थाले। त्यहाँ उनको तलब ४५० रूपैयाँ थियो। कामको लागि फिल्ड भिजिटमा राजविराजसम्म पुगेका थिए उनी।

यसरी हिँडिराख्नुपर्दा उनलाई दिक्क लाग्दो रहेछ। त्यसमाथि समयमा तलब पनि पाएनछन्। पैसा उठाउन गएकै ठाउँबाट उनले ५९६ रुपैयाँ लिएर काठमाडौं बसपार्क पुगे र वीरगञ्ज हानिए।

वीरगञ्जबाट कोलकत्ता पुगेका उनले त्यहाँ एक प्लाष्टिक कम्पनीमा काम गरे। दुई वर्ष काम गरेपछि मुम्बई पुगेका पाठकले त्यहाँ ११ महिना काम गरेर पुनः कोलकत्ता नै नै फर्किए।

कोलकत्तामा एउटा सेक्युरिटी गार्ड कम्पनीमा एक वर्ष काम गरेका उनी बिदामा नेपाल आए। यहाँ घरजम भयो अनि भारत गएनन्। विवाह भएपछि पुनः उनको जागिरको सिलसिला अगाडि बढ्यो।

८ वर्ष एउटा कार्पेट कम्पनीमा काम गरेका उनले त्यसको दुई वर्ष त्रिवेणी ग्राभेल कम्पनीमा काम गरे। त्यो जागीर पनि छाडेर उनी घर रँगाउने मिस्त्री भए।

घर–घरमा रंग लगाउँदै हिंड्न थाल्दा उनले ठेक्कापट्टाको काम पनि गर्ने गर्न भ्याए। कोरोनाको समयमा भने उनको काम भएन। १४ वर्ष गरेको कामलाई उनलाई उने त्यहि समयमा चटक्का छोड्नुपर्यो।

अहिले चिया बेचेर मासिक डेढ लाख
कतै पनि जागिरमा स्थिर भएर टिक्क नसकेका पाठकले त्यसपछि बुढेसकाल लागेको अनुभव गरे र श्रीमतीसँग सल्लाह गरेर चिया पसल खोल्ने निर्णय गरे।

चिया पसल सुरु गर्दाताका पनि उनको व्यवसाय सजिलै फस्टाउन सकेको थिएन। जब ५ देखि ६ महिनासम्म जेनतेन चलाएका पसल अहिले भने राम्रैसँग चल्न थालेको छ।

जाडो याममा दिनमा ३०० कपसम्म चिया बेच्ने उनको पसलमा चियाको २० रूपैयाँमात्र पर्छ।  त्यसमा पनि माथि कफी छर्कन भ्याउँछन् उनी। चियाको मात्रै हिसाब गर्ने हो भने पनि महिनाको १ लाख ८० हजार आम्दानी हुन्छ।

चियासँगै चना, चप, डोनटआदि पनि बेच्छन्। उनको सबै खर्च कटाउँदा पनि महिनाको डेढ लाख बचत हुने बताउँछन्। अहिले पसल जसरी चलिरहेको छ उसरी नै चलोस् भन्नेमा छन् उनी। ठूलो पार्ने उनको योजना छैन। उनी यसैमा सन्तुष्ट छन्।

तीन छोराछोरीका मातापिता पाठक दम्पतीका तीन छोराछोरी छन्। सबैको विहाबारी भइसक्यो। अहिले कमाएको पैसाले बुढेसकालका लागि जोगाएर राखेको उनी बताउँछन्।

‘तीन सन्तान् छन्, विहादा सबैको भयो,’ मुसुक्का हाँस्दै उनी भन्छन्, ‘अहिले जे जति कमाइ हुन्छ, त्यो हाम्रो सुखी बुढेसकालका लागि हो।’

मंसिर १४, २०७९ बुधबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।