पोखराले देखाएको काठमाडौं

पाेखरा : गोरो अनुहार, कसैको आँखा चिम्सा पनि। नेवारी पहिरन, नेवारी संस्कृति तर पोखरेली लवजमा नेवारी टोन। पोखरा थियटरमा कलाकारहरू काठमाडौंका ज्यापु नेवारको अभिनय गर्न स्टेज चढे।
हृदयसिंह प्रधानले लेखेको लघु उपन्यास ‘एक चिहान’ मञ्चन भइरहेकाे छ पाेखरामा अहिले। कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश यो उपन्यासको नाट्य स्वरूपको टार्गेट अडियन्स ११ र १२ कक्षामा भाइबहिनी हुन्।
नाटक निर्देशन तथा नाट्य रुपान्तरण गरेका परिवर्तनले साना विद्यार्थीहरूका लागि नाटक तयार पारेको बताए। उकेराकर्मीले प्रतिभा माविका भाइबहिनीसँग बसेर नाटक हेर्यो।
नाटकको सुरुवातमा पोखरेली लवजमा नेवारी टोन स्वीकार्न अलि अफ्ठ्यारो पर्छ। तर, कलाकारहरूले विस्तारै पोखरा भुलाउँदै लैजान्छन् र काठमाडौंको पुरानो ज्यापु नेवारको घरभित्र हुल्छन्।
नाटकका दर्शक उनीहरूको गरिबीमा रुन्छन्, ‘पारिवारिक प्रेम देखर भावुक हुन्छन् र वियोगमा भक्कानो छाडेर रुन्छन्।’
नाटक ‘एक चिहान’ सरल लघु उपन्यास हो। अष्टनारायणका तीन छोराहरू शिवनारायण, पुननारायण र हर्षनारायण छन्। एक सुन्दर १७ वर्षकी छोरी नानीथंकु छिन्। जेठो छोरा शिवनारायणको विवाह भइसकको छ, उ कृषक हो।
माइलो छोरो पुननारायणको पनि विवाह भइसक्यो, उ सिकर्मी हो। कान्छो छोरा हर्षनारायणको अन्त्यतिर तामाङकी छोरीसँग विवाह हुन्छ भने नानीथंकुको तराईको केटासँग विवाह हुन्छ।
अष्टनारायण बिरामी छ, उपचारका लागि पैसा छैन। सामन्ती डाक्टर गोदत्त प्रसाद र २५ प्रतिशतसम्म ब्याज लिने सुरमान सुब्बा यो परिवारको रगत पसिना चुस्न पल्केको छ।
घरका छोरी हुर्कंँदै गएपछि यी दुई सामन्तीमा आएको परिवर्तन र रुढिबादले गलाएको परिवारको कथा नाटकमा पस्किइएको छ।
यो त भयो नाटकको विषयवस्तु। अब कुरा गरौं नाटक मञ्चनको बारेमा।
विद्यार्थीहरूलाई नाटकमा आकर्षित गर्ने उद्देश्यले पोखरा थियटरले यो अभियान चालेको निर्देशक परिवर्तनले बताए। उनले भनेजस्तै नाटक सरल, सहज र बुझिने खालको छ। नाटक हेरेका विद्यार्थीलाई पक्कै पनि यसका पात्र र उनीहरूले बोलेको संवाद संवाद परीक्षामा लेख्न सजिलो हुनेछ।
तर, सजिलो बनाउँदासमेत केहि ठाउँमा भने विद्यार्थीहरूलाई बुझ्न कठिन हुने दृश्य र संवाद छन्। उदाहरणका लागि नानिथंकुलाई गोदत्तप्रसादकी श्रीमतीले घरमा बोलाउँछिन् र दुई फूलहरूको तुलना गर्न लगाउँछिन्।
‘दुवै फूल सुन्दर छन्’ भनेपछि एउटामा चराको गुँड थपिदिन्छिन् र अर्को फूलमा पनि गुँड लगाएर भवंरा अर्को फुल खोज्न जाने बताउँछिन्।
यो दृश्यमा नानीथंकु, गोदत्तप्रसादकी श्रीमतीको कुरा सुनेर अलमल्ल परेजस्तै विद्यार्थीहरु पनि अलमल्लिन्छन्। यो दृश्य अझै सरल तरिकाले बुझाएको भए मज्जा आउँथ्यो।
नाटकको अन्त्य अलि हतारमा भएको छ। नानीथंकुले मधेशको केटासँग कसरी विवाह गरिन् भन्ने प्रष्ट छैन।
संवादमा शिवनारायणले बुबा अष्टनारायणको इच्छा अनुसार त भनेका छन्। तर, नेवारको छोरी कसरी मधेशको केटासँग विवाह गर्न राजी भइन् भन्ने उल्लेख गरिएको छैन।
नाटकको लाइटिङ सामान्य छ। स्टेज निर्माणमा मिहेनत गरिएको छ। नाटकमा खेत रोपाईँको दृश्य र हावाहुरी बाढी आएको दृश्य निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ।
पोखराको थियटरमा नाटक हेर्दा...
वरिष्ठ साहित्यकार, नाटककार सरुभक्तसँग पोखरामा भेट भयो। उनैसँग थियटरबारे बुझ्दा नाटक मञ्चन भइरहेको थाहा लाग्यो।
पोखरामा नाटक हेर्न पाउने भएपछि छाड्ने कुरै भएन। पहिले पोखरादेखि नाटक हेर्न काठमाडौं जान्थे, आज काठमाडौंदेखि नाटक हेर्न पोखरा उकेराकर्मी पोखरा पुग्यो। नाटक सुरु हुनुअघि पोखरा थियटरले निकै मीठो स्वागत गर्यो।
राजधानीभन्दा टाढाको थियटरमा छु भन्ने अनुभुत भएन नाटक हेरिरहँदा। कलाकारहरूको प्रस्तुति परिपक्व थियो। अभिनयलाई लिएर कलाकारमा देखिएको चिन्तन लोभलाग्दो थियो। दर्शकदीर्घामा अटाइ नअटाइ विद्यार्थी थिए।
काठमाडौंको थियटर आफूलाई जान्ने सम्झन्छ। दर्शकले बुझ्न नसकोस् भनेर प्रस्तुति दिन्छ र भन्छ– यो ‘अब्स्ट्याक आर्ट’ हो, सामान्यले बुझ्दैन। तर, पोखरा थियटरले कला भनेको सबै बुझ्ने सामान्य हुनुपर्छ भन्ने सिद्धान्त बोकेर नाटक प्रस्तुत गर्यो।
‘पोखरा थियटर बीचमा निकै सुस्ताएको थियो। सरुभक्तहरूको पालामा यसको क्रेज थियो, अहिले फेरि उतार्ने कोसिसमा छौैं,’ नाटक सकिएपछि निर्देशक परिवर्तनले भने, ‘थियटर ब्यूँताउन नयाँ पुस्ता आकर्षित हुन जरुरी छ, त्यसैले हामीले सामान्य प्रस्तुति मार्फत विद्यार्थीलाई नाटकको रस बसाउन खोज्दैछौं।’
यो काम केहि हदसम्म पूरा पनि भएको छ। विभिन्न विद्यालयहरू नाटकको ‘सो’ बुक गर्न सम्पर्क गरिरहेका छन्। दर्जन बढि विद्यालयले हेरि पनि सके।
मंसिर १४, २०७९ बुधबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।