दिनभर बस्ती छाडेनन् थापाथलीका सुकुम्बासीले, मनोहरा र बल्खुका समेत थपिए (फोटोकथा)

दिनभर बस्ती छाडेनन्  थापाथलीका सुकुम्बासीले, मनोहरा र बल्खुका समेत थपिए (फोटोकथा)

काठमाडौं : काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा सोमबार तनावग्रस्त बन्यो।

अधिकार सम्पन्न बागमती एकृकीत विकास समितिको आग्रहमा काठमाडाैं महानगरकाे टाेलीले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन खोजेपछि स्थानीयले घरेलु हातहतियार लिएर प्रतिकारमा उत्रिए।

जसबाट महानगर प्रहरी प्रमुखसहित १८ जना घाइते भए। तीन जना प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ।

मंगलबार उकेराकर्मी थापाथलीकाे सुकुम्बासी बस्ती पुग्दा स्थानीयहरू ठाउँ नछाड्ने मनस्थितिमा पुगेका छन्। राती पनि १५ सय जनाको मेस चलाएर खाना खाएका स्थानीय बस्ती भत्कने डरले रातभर सुतेका छैनन्।

यतिमात्र होइन उनीहरू मंगलबार दिउँसोसमेत कामकाजमा नगई बस्ती डुकेर बसेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा एक स्थानीयले भने, ‘हिजो हामी नभएको बेला आयो, ल अब आज को आउँदो रहेछ हेरौं त!’

थापाथलीका मात्रै होइन, अहिले त्यहाँ मनोहरा, बल्खु लगायत अन्य ठाउँका सुकुम्बासीहरू पनि त्यहिँ आएर थुप्रिएका छन्।

उनीहरूले महानगरको तर्फबाट मात्र नभएर आफ्नो पक्षका पनि धेरै मानिस घाइते भएको दाबी गरेका छन्।

‘हामीले खुकुरी बोकेको मात्र देख्यो सबैले तर किन बोक्यौ भनेर कसैले सोधेनन्,’ ती सुकुम्बासीलेल भने, ‘प्रहरी भन्दा बढि हामी घाइते भएका छौं।’

मंसिर १३, २०७९ मंगलबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।