महासचिवकै गृहजिल्लामा एमाले शून्य, भन्छन्- 'दाङका जनताले मलाई चिन्न सकेनन्'

बुटवल : एमालेका महसचिव शंकर पोखरेलको गृहजिल्ला दाङको प्रतिनिधिसभा र प्रदेशसभाका कुन पनि क्षेत्रमा एमालेले जित निकाल्ने सकेन।
महासचिव पोखरेलसँगै पार्टी सबै प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार पराजित भएका हुन्। प्रतिनिधिसभातर्फ दाङ–१ बाट एकीकृत समाजवादीका नेता तथा मन्त्री मेटमणि चौधरी निर्वाचित भए।
दाङ–२ बाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् भने दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए।
दाङ–२ मा प्रतिनिधिसभामा माओवादी, प्रदेशसभा दुवै कांग्रेसलाई
दाङ–२ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका महसचिव पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग झिनो मतान्तरले पराजित भए।
पूर्वमन्त्री शर्माले २६ हजार ८७७ मत ल्याएर जित निकाल्दा पूर्व मुख्यमन्त्री पोखरेलले २६ हजार ६८१ मत मात्र ल्याउन सके। पोखरेल र शर्माको मतान्तरले १९६ मात्र थियो।
दाङ–२ को प्रदेशसभातर्फका एमाले उम्मेदवार दुवै उम्मेदवार पराजित भए। २ (१) बाट कांग्रेसका राजु खनाल निर्वाचित भएका छन्। कांग्रेस नेता खनाल १५ हजार ६१६ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रदेशसभा उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत ल्याउन सके।
यस्तै, दाङ २ (२)को प्रदेशसभामा पनि कांग्रेसका प्रचण्डविक्रम न्यौपाने निर्वाचित भए। न्यौपानेले १७ हजार ४६९ मत ल्याउँदा एमालेका उम्मेदवार गिरीराज केसीले १६ हजार ६९० मत ल्याए।
दाङ–१ मा एकीकृत समाजवादी, प्रदेशतर्फ माओवादी र कांग्रेस
दाङ–१ मा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले नेतृ शान्ता चौधरीलाई पराजित गरेर जित निकाले।
मेटमणिले एमाले संसदीय दलको सचेतक शान्तालई २६ हजार ५६३ मत प्राप्त गरी विजय हासिल गर्दा एमालेकी शान्ताले भने २१ हजार ४७९ मतमात्रै पाइन्। मेटमणिले ५ हजार ८४ मतले शान्तालाई पराजित गरे।
यहीँ क्षेत्रबाट एमालेकी निर्वतमान सांसद गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवार थिइन्। उनले निकै कम मत मात्र ल्याइन्।
दाङ १(१) को लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका इन्द्रजित थारू विजयी भए। उनले १३ हजार ५०५ मत ल्याएर जित निकाल्दा एमालेका गंगाराम भट्टराईले ११ हजार ७३० मत प्राप्त गरे। एमालेका भट्टराई १ हजार ७७५ मतले पराजित हुन पुगे।
१ (२) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा कांग्रेसका अनुराग खड्का १६ हजार २२२ मतका साथ विजयी भए। एमालेका कुलबहादुर खत्री क्षेत्री १३ हजार १७० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी मात्र बन्न पुगे।
दाङ–३ मा प्रतिनिधिसभामा कांग्रेस र प्रदेशतर्फ माओवादी र कांग्रेस
दाङ–३ मा एमाले महिला नेतृ कोमल वली कांग्रेसका दीपक गिरीसँग भारी मतले पराजित भइन्।
नेता गिरी ३६ हजार ८४२ मत ल्याई विजयी हुँदा नेतृ वली २९ हजार ३२ मत मात्र ल्याउन सकिन। गिरी र वलीको मतान्तर ७ हजार ८०१ थियो।
दाङ–३ को प्रदेशसभामा पनि सत्तारूढ गठबन्धन कांग्रेस माओवादीका उम्मेदवार विजयी भए। (१) बाट कांग्रेसका डिल्ली बहादुर चौधरी १९ हजार ८५० मत ल्याएर निर्वाचित भएका थिए। चौधरीसँग एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४५० मत मात्र पाए।
दाङ ३ (२)मा माओवादी केन्द्रका धनबहादुर मास्की निर्वाचित भए। उनले २२ हजार ३२१ मत ल्याएर प्रदेशसभा सदस्य निर्वाचित हुँदा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार हुकुम बस्नेत २० हजार १५८ मत पाएर दोस्रो भए।
दाङका जनताले मलाई चिन्न सकेनन् : महासचिव पोखरेल
महासचिव शंकर पोखरेलले चुनावमा नयाँ शक्तिका कारण देशमा स्थायित्वको लागि समस्या देखिएको बताएका छन्।
शुक्रबार एमाले दाङले गरेको पत्रकार सम्मेलनमा पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताए।
पोखरेलले जनताले आफूलाई संसदीय भूमिकामा देख्न नचाहेको गुनासो समेत गरे। पोखरेलले अब आफू पार्टी सुदृढीकरण र संगठन मजबुद बनाउनमा लाग्ने बताए।
दाङका जनताले आफूले गरेका विकासका काम नबुझेकाले पनि पराजय भोग्नु परेको दुखेसो पोखे।
मंसिर ९, २०७९ शुक्रबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।