माननीय हुन सकेनन् रेखा र कोमल
काठमाडौं : अभिनयकर्मबाट कमाएको प्रशंसालाई मतमा बदल्न अभिनेत्री रेखा थापा सफल भइनन्। गठबन्धनका उम्मेदवार सुनिल शर्मा अनि एमालेका परिचित नेता भानुभक्त ढकालसँग प्रतिस्पर्धामा रहेकी उनी पराजित भइन् तर लाजै लाग्ने मतले हैन।
निर्वाचन प्रचारकोक्रममा रेखा चर्चाका हिसाबले पहिलो नम्बरमै थिइन्। तर चर्चा मतमा बदलिएन। पहिलो पटक संसदीय राजनीतिको प्रतिस्पर्धामा सहभागी भएकी उनले हस्ती उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरेर पनि ९ हजार ४ सय ८९ मत पाइन्।
मतले यदि भोलिका दिनमा वाचा अनुसार आफ्नो क्षेत्रमा उनी क्रियशिल हुन सकेमा भावी दिनमा माननीय हुने सपना पुरा हुने सङ्केत भने देखिन्छ। यसका लागि उनमा राजनीतिक स्थायित्व भने आवश्यक देखिन्छ।
उनी पहिला माओवादीमा सक्रिय भएकी थिइन्। त्यसपछि राप्रपामा प्रवेश गरिन्। राप्रपाको राजनीतिक लाइन गणतन्त्र हैन। तर रेखा सार्वजनिक रूपमै गणतन्त्रको वकालत गर्छिन्।
एमालेबाट राष्ट्रिय सभा सदस्य बनेपछि प्रत्यक्षबाटै निर्वाचित भएर प्रतिनिधि सभामा जान उम्मेदवार बनेकी गायिका कोमल वलीको पनि सपना पुरा भएन। उनी दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी थिइन। तर ७ हजार बढी मतान्तरले पराजित भइन्।
मंसिर ९, २०७९ शुक्रबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।