लुम्बिनी प्रदेश: ६ वटा क्षेत्रमा जित्दै एमाले अघि-अघि, कुन दलले अहिलेसम्म कति जिते ?

लुम्बिनी प्रदेश: ६ वटा क्षेत्रमा जित्दै एमाले अघि-अघि, कुन दलले अहिलेसम्म कति जिते ?

बुटवल: लुम्बिनी प्रदेशका २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये शुक्रबार मध्यान्न १२ बजेसम्म १७ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार सबैभन्दा बढी स्थानमा एमाले विजयी भएको छ।

एमाले ६ वटा निर्वाचन क्षेत्रमा विजयी हुँदा कांग्रेसले चार निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।

एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा) र स्वतन्त्रले १/१ निर्वाचन क्षेत्रमा जित हात पारेका छन्।

एमालेका सांसदहरू

नेकपा एमालेबाट गुल्मी- २ मा गोकर्ण विष्ट विजयी भएका छन्। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन्।

विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्। उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थिइन्।

त्यहाँ प्रदेश सभातर्फका पनि दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन्।

त्यसैगरी अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी भए। उनले निवर्तमान उपसभामुख कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरे।

रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरी विजयी हुँदा भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन्।

प्युठानबाट एमालेका सूर्य थापा विजयी भए। उनले जनमोर्चाकी उम्मेदवार दुर्गा पौड्याललाई पराजित गरे। थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा पौड्यालले ३५ हजार ८१४ मत प्राप्त गरिन्।

रुपन्देही क्षेत्र नं. ५ बाट वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई पराजित गरे।

यसैगरी कपिलवस्तु क्षेत्र नं. १ बाट बलाराम अधिकारी विजयी भए। उनले माओवादीका चक्रपाणि खनाललाई पराजित गरे।

बाँके १ बाट सूर्य ढकाल विजयी भए। ढकालले २५ हजार २६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीका महेश्वरजङ्ग गहतराजले १९ हजार ६३२ मत प्राप्त गरे।

कांग्रेसका सांसदहरू

यसैगरी नेपाली कांग्रेसबाट विजयी हुनेहरूमा बाँके क्षेत्र नं. ३ बाट किशोरसिंह राठौर रहेका छन्। उनले एमालेका किस्मतकुमार कक्षपतीलाई पराजित गरे।

बर्दिया क्षेत्र नं. १ बाट सञ्जय गौतम ३० हजार ६११ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरे।

दाङ क्षेत्र नं. ३ बाट दीपक गिरी विजयी भए। गिरीले एमालेकी कोमल वलीलाई पराजित गरे।

नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विनोद चौधरी विजयी भए। उनले जनता प्रगतिशिल पार्टीका हृदयेस त्रिपाठीलाई हराए।

यस्तै गुल्मी- १ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भए पनि हालसम्म त्यहाँ मतगणना सकिएको छैन। निर्वाचन आयोगले पनि औपचारिक घोषणा गरेको छैन।

माओवादीका सांसदहरू

माओवादी केन्द्रबाट रोल्पामा वर्षमान पुन विजयी भएका छन्। उनले ४१ हजार ७१४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर मगरले १६ हजार ४८५ मत प्राप्त गरे।

यसैगरी रुकुम पूर्व क्षेत्र नं. १ बाट पूर्णबहादुर घर्ती विजयी भए। घर्तीले १२ हजार २६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एामालेका कैलाशकुमार मल्लले पाँच हजार २११ मत प्राप्त गरे।

एकीकृत समाजवादी

एकीकृत समाजवादीबाट दाङ- १ मा मेटमणि चौधरी विजयी भए। उनले एमालेकी शान्ता चौधरीलाई हराए।

राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बाँके २ मा धवलसमशेर जबरा र पश्चिम नवलपरासी क्षेत्र नं. २ मा ध्रुवबहादुर प्रधान विजयी भएका छन्। जबराले २९ हजार ५७७ मत प्राप्त गरी विजयी हुँदा लोसपाका मोहम्मद ईश्चियाक राईले २३ हजार ५२० मत प्राप्त गरे।

लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देही- ४ मा विजय हासिल गरेको छ। त्यहाँ सर्वेन्द्रनाथ शुक्ला विजयी भए।

उनी २८ हजार मतले विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत प्राप्त गरे।

स्वतन्त्र

बर्दिया- २ मा भने स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भए। उनले २६ हजार ५२० मत प्राप्त गर्दा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत प्राप्त गरे।

मंसिर ९, २०७९ शुक्रबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।