राजामौलीको ध्यान 'अस्कर अवार्ड'मा, ५० करोड भारु खर्चेर अस्करका मतदातालाई फिल्म देखाउँदै
एजेन्सी: दक्षिण भारतीय फिल्म 'बाहुबली' र 'आरआरआर' हुँदै चर्चामा आएका निर्देशक एस एस राजामौलीको ध्यान यतिबेला अस्कर अवार्डतर्फ केन्द्रित छ। उनी यतिबेला फिल्म आरआरआरलाई अस्कर जिताउन पैसा, समयदेखि भएभरको ऊर्जासम्म खर्चिरहेका छन्।
उत्कृष्ट निर्देशक, उत्कृष्ट भिजुअल इफेक्ट्स र उत्कृष्ट फिल्मको विधामा उनले अस्करको आश गरेका छन्। सन् २०२३ मा पुरस्कार वितरण हुनेछ।
हुन त आरआरआर भारतबाट अस्करका लागि आधिकारिक रूपमा छानिएको फिल्म होइन। तर फ्यानहरूको दबाब र राजामौलीको आफ्नै महत्त्वकांक्षाका कारण आरआरआर स्वतन्त्ररूपमा अस्करमा पठाइएको हो। भारतबाट अस्करका लागि 'छेलो शो' आधिकारिक रूपमा छनोट भएको फिल्म हो।
यतिबेला आरआरआरको विशेष स्क्रिनिङ आयोजनाको तयारी गरिएको छ। स्क्रिनिङमा अस्करमा भोट हाल्न पाउनेहरूलाई समेत बोलाइएको छ। स्क्रिनिङका लागि मात्रै भनेर ५० करोड भारु खर्च गरिसकेका छन् राजामौलीले।
भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार आरआरआरलाई उत्कृष्ट भिजुअल इफेक्ट विधामा मनोनित गर्ने सम्भावना रहेको छ।
यसो हुँदा आरआरआरले वाकाण्डा फरेभर, ब्याटम्यान, टप गन म्याभेरिक, डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस लगायत चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
मंसिर ९, २०७९ शुक्रबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।