कर्णालीका ७ जिल्लामा मतगणना जारी, कहाँ कसको छ अग्रता?

सुर्खेत : कर्णालीका १० जिल्लामध्ये ७ जिल्लामा मतगणना जारी छ। अन्य ३ जिल्लाको मतगणना भने सुरु हुन सकेको छैन। सुर्खेत २, दैलेख, सल्यान, जुम्ला, रुकुमपश्चिम, कालीकोट र जाजरकोटमा मतगणना जारी छ।
जारी मतगणना अनुसार नेपाली कांग्रेस २, एमाले १, एकीकृत समाजवादी १, माओवादी केन्द्र २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन्।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र नम्बर १ मा आइतबार रद्द भएको निर्वाचन आज सम्पन्न भएको छ। आज रातिदेखि मतगणना सुरु गर्ने तयारी छ।
सुर्खेत क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट कांग्रेस अगाडि देखिएको छ। कांग्रेसका हृदयराम थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पछाडि पार्दै अग्रता कायम गरेका छन्।
थानीले १७ हजार २ सय ८८ मत प्राप्त गरी अग्रता लिँदा एमालेका बिसीले १४ हजार ५०४ मत प्राप्त गरेका छन्। थानी र बिसीबीच प्रतिस्पर्धा भएको देखिन्छ। थानी पूर्वसहकारीमन्त्री हुन् भने बिसी पहिलो पटक संसदीय चुनाव लडेका हुन्।
यस्तै, सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले १२ हजार २ सय १८ मत प्राप्त गरी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।
उनका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ५ हजार ८ सय ३७ मत प्राप्त गर्दा सल्यानमा एमाले तेस्रो स्थानमा खुम्चिएको छ। सल्यानमा प्रदेश सभातर्फ पनि गठबन्धनको अग्रता कायम छ।
२ निर्वाचन क्षेत्र रहेको दैलेखका दुवै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी छ। दैलेख १ मा एमालेमा लामो समय मिलेर काम गरेका पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेका रविन्द्रराज शर्माले ५ हजार ९ सय ३१ मत प्राप्त गरी अग्रता लिएका छन्।
शर्माका प्रतिस्पर्धी एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अमरबहादुर थापाले ५ हजार ७ सय २५ मत प्राप्त गरेका छन्। शर्मा र थापाबीच झिनो मतान्तर छ। राप्रापाकी कुन्ती शाहीले १ हजार १२ मत प्राप्त गरेकी छन्।
यस्तै, दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ८ मत प्राप्त गरी अग्रता कायम गर्दा प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले ७ हजार ८ सय ८२ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका केशेन्द्र कार्कीले १ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्।
शाही २०७४ मा एमालेका राजबहादुर बुढासँग पराजित भएका थिए भने पोखरेल २०७० को संविधानसभा सदस्यसमेत हुन्।
त्यसैगरी, जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुमारी गौतम (कुँवर)लाई झण्डै तेब्बर मतले पछाडि पारेका छन्।
शाहीले ६ हजार ६ सय ६९ मत हात पार्दा गौतमले २ हजार ८ सय ९० मत प्राप्त गरेकी छन्। २०७० मा समानुपातिक कोटाबाट सांसद बनेकी गौतम पशुपन्छी राज्यमन्त्रीसमेत बनेकी थिइन्। एमालेका रतननाथ योगीले १ हजार ७ सय ९५ मत ल्याएका छन्।
यस्तै, जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत अगाडि छन्। बस्नेतले ४ हजार ८ सय ४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका निरज आचार्यले ३ हजार १ सय १७ मत प्राप्त गरेका छन्।
माओवादीका उप-महासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिममा ३ सय ५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका नन्दाराम देवकोटाले २ सय ४९ मत ल्याएका छन्।
कालिकोटमा एमालेका नगेन्द्र शाहीले सुरुवाती अग्रता बनाएका छन्। उनले ११८ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११५ मत ल्याएका छन्। यस्तै, राप्रपाका धनबहादुर बुढाले ९ तथा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाहीले १३ मत पाएका छन्।
हिमाली जिल्लाहरू हुम्ला, डोल्पा र मुगुमा भने अझै मतपेटिका संकलनको काम सम्पन्न हुन सकेको छैन। सडक सञ्जाल नपुगेका क्षेत्रहरूबाट मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने भएकोले ढिलाइ भएको हो।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मंगलबार बेलुकासम्म मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाम आइपुग्नेछ। मतपेटिका संकलन भएपछि मतगणनाको काम अगाडि बढ्नेछ।
मंसिर ६, २०७९ मंगलबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।