निर्वाचनको दिन ठिमी पार्क डुल्दा :  भोट हाल्न पाउनेलाई मनै छैन, नपाउनेलाई ‘जाउँ–जाउँ’ लाग्दो

निर्वाचनको दिन ठिमी पार्क डुल्दा :  भोट हाल्न पाउनेलाई मनै छैन, नपाउनेलाई ‘जाउँ–जाउँ’ लाग्दो

काठमाडौं : यतिबेला काठमाडौंको भित्री, बाहिरी बाटो सुनसान छ। सार्वजनिक गाडी चलेका छैनन्। देशमा चुनावी माहोल छ। विहानैदेखि घरमा पालो दिएर भोट हाल्न हिँड्नेहरू पनि छन् भने ठाउँ-ठाउँमा भेला भएर राजनीतिक गफ गरिरहको पनि देख्न पाइन्छ।

नेताहरू र तिनका कार्यकर्ता सडकमा हुँइकिरहेका गाडी र तिनका बाइकलाई देख्दा लाग्छ तिनले आज सडक किनारामा आफ्नो दिनचर्या गरेर बसिरहेका सर्वसाधरणलाई देखेका छैनन्। उनीहरू हतार-हतार मतदान केन्द्रमा पुग्नै व्यस्त देखिन्छन्।

कतिपयलाई चुनावी माहोल विगत लामो समयदेखि नै लागेको छ भने कतिपयलाई चुनावकै दिन पनि चुनाव लागेको छैन। जसलाई चुनाव लागेको छैन ति अरू दिन जसरी नै आफ्नै काम गरेर पार्कमा बसेरै दिन टहल्याइरहेका छन्।

यस्तैमध्ये एक हुन्, ठिमीस्थित एक पार्कमा रूखको छहारीमुनि पुस्तक पढ्दै गरेका विष्णुप्रसाद फुँयाल। दोलखा घर भएका विष्णुप्रसाद श्रीमतीको उपचार गर्न ४ वर्षअघि काठमाडौं आएका थिए। पहिले-पहिले मनमोहन अधिकारीसँग सँग-सँगै हिँडेर चुनाव प्रचारप्रसार गर्ने विष्णुप्रसादलाई श्रीमतीले समयमै उचित उपचार नपाएर मृत्यु रोज्न बाध्य भएपछि राजनीतिमाथिको विश्वास उड्यो।

४ छोरी र ५ छोराका धनी विष्णुप्रसाद अहिले ठिमीमा एक कोठा भाडामा लिएर बस्दै आएका छन्। उनी दिनभर कहिले पार्कमा ढुल्छन् त कहिले नजिकै रहेको मन्दिरमा गएर भागवत गीता,  रामायण पढ्दै बस्छन्। उनलाई चुनावमा भोट हाल्न जान खासै रहर छैन।

पुराना नेता जसले जितेर देश र जनताका लागि केही गरेनन्,  अहिले उठेका उम्मेदवारले पनि त्यही नै गर्ने भन्ठान्दै विष्णुप्रसाद भन्छन्, 'जुन जोगी आए पनि कानै चिरेको'। त्यसैले पनि उनलाई भोट हाल्न जान मन नभएको बताउँछन्।

यस्तै, ओखलढुङ्गा घर भएकी भगवती कटुवालालाई पनि आज चुनाव लागेको छैन। उनले भनिन्, ' गाउँमा हाम्रो बिग्रिरहने स्वास्थ्यको राम्रो उपचारको व्यवस्था गर्न नसक्ने नेतालाई कतिन्जेल अझै जिताइरहने ?'

आफू र आफ्नो श्रीमान् बिरामी भइरहने र उपचार गर्नको निम्ति धेरै खर्च गरेर काठमाडौं आउनुपर्ने भएपछि उनीहरू ३ वर्ष अघि काठमाडौं आएका थिए। आएको केही समयपछि श्रीमान्को निधन भयो। त्यस दिनदेखि नै उनलाई राजनीति र नेताहरूप्रति विश्वास उडेको।

'गाउँमै राम्रो उपचारको व्यवस्था भएको भए मेरो श्रीमान् चाँडै नै गुमाउनु पर्थेन,' उनी भन्छिन्, 'मैले भोट हालिरहेकी थिए। तर, श्रीमान् बितेपछि राजनिति र नेताहरूमाथिको विश्वास उठ्यो।' 

यस्तै, राजनीतिमा धैरै चासो राख्ने रुनबहादुर थापालाई भने मतदाता नामावली भएको केन्द्रसम्म जान नपाउँदा भोट हाल्न पाएनन्। उनलाई निकै दु:ख लागेको छ।

दोलखा बिसिटोलमा घर भएका रुनबहादुरलाई गाउँसम्म पुग्ने व्यवस्था कसैले नगरिदिएकोमा गुनासो छ। आफूले जिन्दगीको अन्तिम समयमा पनि भोट हाल्न नपाएको उनको गुनासो छ।

उमेरले ८० टेक्दै गरेका रुनबहादुर पहिले प्रहरी सेनामा कार्यरत थिए। अहिले बुढेसकाल लागेदेखि यस्तै आफू सँग-सँगैका साथीहरू सँग गफ गर्दै दिन बिताउन रमाइलो लाग्छ।

उनी साथीहरूको अनुहारमा हेर्दै हाँस्दै भन्छन्, 'मलाई पनि उहाँहरूलाई जस्तै पुराना माथि विश्वास त छैन तर उहाँहरूलाई जस्तो भोटै हाल्न जान मन नभएको भने हैन।'

यस्तै भोजपुरमा खेती किसानीको काम गरेर दिक्क भएर काठमाडौं छिरेका कुलबहादुर राईलाई पनि भोट हाल्न मन थियो। तर, भोजपुरसम्म पुग्ने खर्च व्यवस्थापन गर्न सकेनन्। गाउँमा काम गरेर खान नसकेपछि उनी आफ्नो छोराछोरीको सहारामा बुढेसकालको जीन्दगी बिताउन शहर आएका हुन्।

३ छोरा र १ छोरी रहेका कुलबहादुरको पनि जीन्दगीमा आफ्नो कुरा सुनाउने, सुनिदिने कोही छैन। छोराछोरीहरू भएर पनि बुढेशकालमा एक्लो जस्तो जीन्दगी बाँचिरहेका कुलबहादुर पनि पुराना नेताहरू देखेर दिक्क छन्। तर, नयाँ आएका उम्मेदवारले चुनाव जितेमा केही गर्छन् कि भन्ने थोरै आशा छ उनलाई।

यसरी भक्तपुर ठिमीस्थित रहेको पार्कमा दिनभर गफ गरेर बस्ने जीन्दगीको ८ शतक पार गरेर बसेका यी वृद्ददृद्दालाई चुनावी माहोलले पटक्कै छोएको छैन भन्न मिल्दैन। कसैलाई अबको बाँकी बाँच्ने समयमा भोट हालेर मर्न मन छ भने कसैलाई अब भोटै हाल्न नपरे हुन्थ्यो भन्ने छ।

तर, उनीहरूलाई आफूले भोट हाले पनि नहाले पनि नेताहरूले आफूहरूजस्तो उमेर समूह, देश र जनताको निम्ति भने केही गरिदिए हुन्थ्यो भन्ने छ।

ठट्यौली पारामा 'नेताहरूलाई गाली गर्दागर्दै जवानी सकेर बुढेसकाल लाग्यो' भन्ने यी वृद्दवृद्दालाई अब नयाँ पुरानो जुन सरकार आए पनि तिनले राम्रो काम गरिदिए हुन्थ्यो भन्ने लागेको छ।

मंसिर ४, २०७९ आइतबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।