कर्णालीमा निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा, १० लाख बढीले मतदान गर्दै
सुर्खेत: आज हुँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्णाली प्रदेशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशका सबै जिल्लामा निर्वाचनका लागि सुरक्षा कडा पारिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ।
कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवम् प्रवक्ता माधवप्रसाद श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिए।
श्रेष्ठका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएअनुसार सबै जिल्लामा रहेका मतदान केन्द्रमा कर्मचारीहरू खटिसकेको छन्।
कर्णालीमा १० लाख आठ हजार ४०३ मतदाता छन् भने एक हजार ४७६ मतदान केन्द्र रहेका छन्। जसमा हुम्ला जिल्लामा ३२ हजार ८५७ मतदाता संख्या, मतदान केन्द्र ५९, डोल्पामा २२ हजार ७७२ मतदाता संख्या, ६६ मतदान केन्द्र, सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता र मतदान केन्द्र २९३ रहेका छन्।
यस्तै दैलेखमा एक लाख ५८ हजार ९५८ मतदाता संख्या र मतदान केन्द्र २८०, रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता र मतदान केन्द्र १३९, कालीकोटमा ८० हजार ७३३ मतदाता र मतदान केन्द्र १२३, जाजरकोटमा एक लाख तीन हजार ३६३ मतदाता संख्या र मतदान केन्द्र १४२ रहेका छन्।
जुम्लामा ६८ हजार ६३८ मतदाता संख्या र मतदान केन्द्र १०६, मुगुमा ३५ हजार ४८५ मतदाता संख्या र मतदान केन्द्र ६६ र सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता संख्या र मतदान केन्द्र २०२ रहेका निर्वाचन अयोगले जनाएको छ।
यस्तै, कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३४५ मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् भने ४१३ मतदान केन्द्र संवेदनशील रहेका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुनै घटना घटेमा १५–३० मिनेटभित्र मतदान केन्द्रमा पुग्ने गरी नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ।
मंसिर ४, २०७९ आइतबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।