बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : बेलायत पठाइदिन्छु भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलकबहादुर बस्नेत रहेकाे प्रहरीले जनाएकाे छ। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे।

काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिसा उपलब्ध गराउने प्रलोभन देखाएर पटक-पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।

अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएपछि उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो।

उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारबाहीकाे लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

मंसिर २, २०७९ शुक्रबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।