अक्षय कुमारको ओरालो यात्रा: 'भुल भुलैया' र 'हेरा फेरी'पछि 'हाउसफुल' सिरिजमा पनि कार्तिक आर्यन !
एजेन्सी: बलिउड अभिनेता अक्षय कुमारको पछिल्लो दिन त्यति सुखद् छैन। उनको सर्वाधिक प्रतीक्षा गरिएको फिल्म 'पृथ्वीराज' बक्स अफिसमा ध्वस्तै भयो। त्यसअघि उनको चर्चित फिल्म भुलभुलैयाको दोस्रो भाग आएको थियो, जहाँ उनको स्थानमा कार्तिक आर्यन देखिएका थिए। फिल्ममा कार्तिक आर्यन देखिनुभन्दा पनि झट्का लाग्ने कुरा थियो- फिल्म यो वर्षकै हिट बलिउड फिल्म हुनु।
केही दिनअघिदेखि निकै चर्चित फिल्म 'हेरा फेरी'को तेस्रो भागमा पनि उनी नहुने कुरा आइरहेको छ। त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'चम्चा' बनेको देखि 'क्यानडाको नागरिक' भएको कुराले पनि उनलाई बेला-बेला विवादित बनाइरहेको छ।
अक्षय कुमारको यो ओरालो यात्रा अझै जारी हुने देखिएको छ। अब उनको अर्को चर्चित फिल्म सिरिज 'हाउसफुल'मा पनि उनी नदेखिने दावी गरेका छन्- भारतीय फिल्म समीक्षक केआरकेले।
हुन त केआरकेलाई त्यति गम्भीर रूपमा लिइँदैन। तर उनको दावी बेलाबखत भने शतप्रतिशत सत्य भएर निस्कन्छन्।
केआरकेले आफ्नो युट्युब च्यानलबाट भनेका छन्, 'भुलभुलैया २ हिट हुनासाथ अक्षयलाई ठूलो नोक्सान भयो। अक्षयको जति पनि हिट फिल्म थियो त्यसको लागि अब निर्माताहरूलाई नयाँ हिरो प्राप्त भएको छ। र त्यो हिरो कार्तिक आर्यन हो। अब सबै निर्माताले कार्तिकलाई लिएर अक्षयको हिट फिल्ममा लिन उभिएका छन्। र यो सबैलाई थाहा छ कि हेरा फेरी र हाउसफुल कति ठूलो फ्रेन्चाइजी हो।'
यस्तै केआरकेको थप दावी छ- अक्षयले हेरा फेरी ३ को लागि १२६ करोड भारु मागेका थिए। जबकि निर्माता फिरोज नाडियाडवालाले केवल उनलाई ६५ करोड दिने प्रस्ताव गरेका थिए। अक्षयले भने पारिश्रमिक थोरै भएको भन्दै फिल्म खेल्न मानेनन्। र यसपछि नै फिरोजले कार्तिकलाई ४१ करोड भारुमा फिल्मको लागि सम्झौता गराएको केआरकेको दावी छ।
मंसिर २, २०७९ शुक्रबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।