रवि समर्थक कलाकारको नेता शैली, कसैले राजनेता भने कसैले हाम्रो मान्छे

रवि समर्थक कलाकारको नेता शैली, कसैले राजनेता भने कसैले हाम्रो मान्छे
तस्बिर : अर्जुन पौडेल

काठमाडौं : रवि समर्थक कलाकारको नेता शैलीचितवन : नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको अन्तिम चुनावी सभामा सहभागी हुन आएका कलाकारहरूले रिलमा हैन रियलमै नेताकै अवतारमा देखिए। दीपाश्री निरौला, किरण केसी, रमेश उप्रेती अनि निर्मल शर्मा काठमाडौँबाटै आएका थिए। आसिफ साह कार्यक्रम सञ्चालक।

कार्यक्रममा सबै कलाकारहरूले बोल्ने मौका पाए। केहीले फिल्म प्रमोसन शैलीमा रविको प्रमोसन गरे केहीले आफूमा पनि नेता बन्ने गुण रहेको छनक देखाउने प्रयास गरे। 

नेता शैली देखाउने प्रयास गरेका थिए अभिनेता रमेश उप्रेतीले। उनले यो देशमा राजनेताको खाँचो रहेको र त्यो सम्भावना रविमा रहेको दाबी गरिदिए। सायद राजनेताको परिभाषाबारे जानकारी भएरै न त उनले त्यो शब्द प्रयोग गरेका होलान्।

यस अगाडि काठमाडौँ-४ का उम्मेदवार गगन थापामा समेत राजनेता हुनसक्ने गुण रहेको भन्दा स्वर्णिम वाग्ले ट्रोलरको सिकार बनेका थिए। उप्रेतीले रविमा पनि उहीँ शैली देखे।

उता दीपाश्रीले पनि रविको अनुहारमा देश  सुधार्न सक्ने क्षमता देखिन्। किरण केसीका लागि नारायणी नदी किनारमा भेला भएका सहभागी फिल्म प्रमोसनको कार्यक्रममा सहभागी जस्तै लागेछ। उनले अहिलेसम्म कुनै पार्टीको प्रमोसनमा नहिँडेको पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा खुलेको दाबी गरे।

यस अगाडि पनि नेताहरूसँगै हिँडिरहन रुचाउने निर्मल शर्माले पनि सभामा देखिएको सभामा हौसिँदै राजनीतिक मञ्चमा पहिलो पटक आएको दाबी गरेका थिए। उनीहरूले आफैँ प्लेनको टिकट काटेर आएको दाबी समेत गर्न भ्याएका थिए।

मंसिर १, २०७९ बिहीबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।