आतङ्कवाद आफ्नो देशको जटिल समस्या भएको पाकिस्तानी प्रधानमन्त्री शरीफको स्वीकारोक्ति

आतङ्कवाद आफ्नो देशको जटिल समस्या भएको पाकिस्तानी प्रधानमन्त्री शरीफको स्वीकारोक्ति

एजेन्सी: पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या भएको स्वीकार गरेका छन्।लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै उनले यस्तो बताएका हुन्।

“हामी कुनै गल्ती नगरौँ। आतङ्कवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो। हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन्। लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन। मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,” सरिफले ट्वीटरमा लेख्नुभएको छ।

पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी ६ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ। पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए।

प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए। पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका छन्। उनले मुख्य सचिव र प्रहरी महानिरीक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन्।

मंसिर १, २०७९ बिहीबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।