अक्षय कुमारलाई ‘हेराफेरी ३’मा फर्काउने प्रयासमा सुनिल शेट्टी

अक्षय कुमारलाई ‘हेराफेरी ३’मा फर्काउने प्रयासमा सुनिल शेट्टी

एजेन्सी : बलिउड करिडोरमा यतिबेला ‘हेराफेरी ३’ को चर्चा चलिरहेको छ।

यस पार्टमा अभिनेता अक्षय कुमार नदेखिने कुरा सार्वजनिक भएपछि त्यसबेलादेखि नै हंगामा मच्चिएको छ।

दर्शक अक्षयलाई यो फिल्ममा फेरि हेर्न चाहन्छन्। यसैबीच, हेराफेरीका मुख्य अभिनेता सुनील शेट्टीले फिल्ममा अक्षय कुमारको उपस्थितिको बारे बोलेका छन्।

हेराफेरी फ्रेन्चाइजीसँग अक्षय कुमारको सम्बन्ध निकै पुरानो हो। अक्षयले राजुको भूमिका खेलेर सबैको मन जितेका थिए र हालै मिड डेलाई दिएको एक अन्तर्वार्तामा सुनिल शेट्टीले भनेका छन्–

 ‘मलाई थाहा छैन यो अचानक कसरी भयो। यो फिल्मका लागि अक्की र परेश रावल एकसाथ सहमत भएका थिए। तर, अक्षय कुमारको फिल्मबाट अलग भएको खबरले मलाई अचम्ममा पारेको छ। म यस विषयमा फिल्मका निर्माता साजिद नाडियाडवालासँग बसेर कुरा गर्नेछु र अक्कीलाई यो फिल्ममा फर्काउने प्रयास गर्नेछु।’

वास्तवमा, हिन्दुस्तान टाइम्सको एक कार्यक्रममा अक्षय कुमारले आफू अब ‘हेराफेरी ३’मा नजोडिएको बताएका थिए।

अक्षयले भनेका थिए, ‘मलाई यो फिल्मको अफर आएको थियो। तर हेराफेरी ३ को स्क्रिप्टबाट म सन्तुष्ट छैन। जसका कारण मैले यो फिल्मबाट हात फिर्ता लिएको छु। यो फिल्मको पार्ट हुन नपाउँदा एकदम दुःखी छु। यो मेरो जीवनको महत्त्वपूर्ण यात्रामध्ये एक हो।’

फिल्ममा अक्षयक कुमारको स्थानमा कार्तिक आर्यन देखिने भएका छन्। जसको बारेमा हालै परेश रावलले पुष्टि गरेका छन्। ‘हेराफेरी ३’ मा कार्तिक बाहेक परेश रावल र सुनिल शेट्टीले पनि एकपटक फेरि कमेडीको मसाला दिनेछन्।

कात्तिक ३०, २०७९ बुधबार २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।