विष्णु पौडेल र बालकृष्ण खाँणको एउटै श्वर : राजधानी जबरजस्ती सार्न खोजे बाटैबाट खोसेर ल्याउछाैं
बुटवल : एमाले उपाध्यक्ष विष्णु पाैडेल र कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलमै कायम रहने बताएका छन्।
बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा कुनै पूर्वाधार नभएकाले बुटवल नै कायम गरिने जिकिर गरे।
राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे।
‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिंचाइ, सडक, भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुन्छ, यतिधेरै सरकारको रकम खर्च गर्न सकिँदैन। प्रदेशले त्यसलाई परीक्षण गरोस्। निर्णय सच्चाओस्।’
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे।
उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ सञ्जालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउँदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे।
गृहमन्त्री खाँणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै सहमतिविना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनी दिए।
‘रुपन्देहीका जनतालाई थाहै नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ’ उनले भने।
यसअघि गत शुक्रबार भलबारीमा भएकाे कार्यक्रममा एमाले नेता पौडेलले राजधानी ढुंगाको अक्षर नभएकाे भन्दै परिवर्तन गर्न सकिने बताएका थिए।
कात्तिक ३०, २०७९ बुधबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।