रुसको क्षेप्यास्त्र पोल्याण्डमा खस्यो, दुई जनाको मृत्यु

रुसको क्षेप्यास्त्र पोल्याण्डमा खस्यो, दुई जनाको मृत्यु

एजेन्सी: पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र आफ्नो देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएको बताएको छ। क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि सुरु भएको छ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको पोल्याण्डको आरोप छ। यता रुसले भने त्यसको खण्डन गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन्। यता इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपत्कालीन बैठक बसेको छ। बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोेन डेयर उपस्थित थिए।  

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन्।

प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताएका छन्।

कात्तिक ३०, २०७९ बुधबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।