UKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

काठमाडौँ : चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार रवी लामिछाने नेपाली नागरिकताको विवादमा फसेका छन्। उनी अमेरिकी नागरिक भएको प्रमाणित भएसँगै खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको खुलेको छ।
कानुन अनुसार पुरानै मिति राखेर नयाँ नागरिकता ननिकाली पुरानै नागरिकता चलाएको तर सो नागरिकता सक्रिय नै नभएको दाबी सहित चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलवार उजुरी परेपछि मङ्गलवार उनको नागरिकता विवाद ब्युँतिएको हो।
उकेरालाई प्राप्त रवीको नागरिकताको नम्बर १८..२ देखिन्छ जुन २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ को ठेगानामा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको थियो।
उनले सोही नागरिकताको आधारमा सन् २००१ मा राहदानी निकालेको उकेराले पाएको प्रतिलिपिमा देखिन्छ। नेपाल फर्किएर न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालकको रूपमा आबद्ध भए पनि उनले सूचना विभागबाट अनुमति नलिएको र श्रम अनुमति पनि नलिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेपछि उनी नेपालमा अमेरिकी नागरिकको हैसियतमा बसेको खुलेको थियो।
उनी आफैँले पनि अमेरिकी नागरिकको रूपमा नेपालमा पारिवारिक भिसामा बसेको स्वीकार गरे। काउन्सिल कारबाहीको प्रक्रियामै गयो। उनले आफू पत्रकार नभएकाले सूचना विभागबाट अनुमति लिनु नपर्ने तर्क गर्दै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने दाबी गरेका थिए।
उनले २०७५ जेठ ४ मा आफ्नो पासपोर्ट काठमाडौँस्थित अमेरिकी दूतावासमा बुझाएर उताको नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको विवरण अध्यागमन विभागमा बुझाएकोसम्म रेकर्ड फेला पर्यो।
तर त्यसपछि के भयो भन्ने कुनै कागजपत्र फेला नपरेको यस प्रकरणबारे जानकारस्रोतले उकेरालाई जानकारी दियो।
स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको उनको नागरिकता सम्बन्धी अभिलेखै फेला परेको छैन। उनले निर्वाचन कार्यालयमा पेस गरेको नागरिकता नम्बरको आधारमा नेपालभरको विवरण खोजी गर्दा सो नम्बरमा अन्य जिल्लाबाट चार वटा नागरिकता जारी भएको तर रवीको नाममा कतैबाट जारी नभएको देखिएको छ।
गृह मन्त्रालयको रेकर्डमा रवीको नाममा जारी भएको नागरिकता खारेज भएको रेकर्ड भेटिएको छ। तर उनले अमेरिकी नागरिकको हैसियत त्यागेर पुन नेपाली नागरिकता ब्युँताएको रेकर्ड भने फेला परेको छैन।
'जिल्ला प्रशासनमा रहेको फाइल पनि छैन। अनि उनको नाममा जारी भएको नागरिकता खारेज भएको रेकर्ड छ तर सो ब्युँतिएको रेकर्ड फेला परेको छैन' स्रोतले भन्यो।
सोही आधारमा रबीले अमेरिकी नागरिकको कानुनी हैसियत छाड्ने प्रक्रिया अगाडि बढाएर पुरानै नागरिकता सक्रिय गराउन प्रतिलिपि नलिएको र पुरानै नागरिकताको आधारमा नेपाली नागरिकको हैसियतमा नेपालमा बसेकाले उनको नागरिकता अवैध भएको एक पक्षको दाबी छ।
कानुनमा विदेशी नागरिकता त्यागेको जानकारी गराए लगत्तै पुरानो नागरिकता ब्युँतने उल्लेख छ। ऐनमा कसरी नागरिकता ब्युँतन्छ भन्ने उल्लेख छैन। तर नागरिकता नियमावलीमा भने यसबारे उल्लेख गरिएको छ।
नियमावली अनुसार विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिन चाहनेले जहाँबाट नागरिकता लिएको हो सोही कार्यालयमा गएर निवेदनसाथ नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएपछि नयाँ प्रमाण पत्र जारी हुने उल्लेख छ।
रवीले अमेरिकी नागरिकता त्यागेको र सोबारे अध्यागमन विभागमा जानकारी गराएको देखिन्छ। तर उनले दोस्रो प्रक्रिया अनुसार ब्युँतिएको नागरिकताको नयाँ प्रमाण पत्र लिएको विवरण भने देखिदैन। उनले पनि सार्वजनिक गर्न सकेका छैनन्।
नागरिकता सम्बन्धी यस्तो छ कानुनी प्रक्रिया
नेपाल नागरिकता ऐन २०६३ मा कुनै नेपालीले विदेशी मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ। यो प्रावधान अनुसार रबीले विदेशी नागरिकता लिएको स्विकारेसँगै उनको नेपाली नागरिक स्वतः खारेज भयो।
सोही ऐनमा त्यागेको नागरिकता पाउन सक्ने प्रावधानमा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ उल्लेख छ।
नागरिकता त्यागेकोदेखि लिएकोसम्मको शृङ्खला
उनले सन् २००८ मा अमेरिकाको ग्रिन कार्ड लिएको सार्वजनिक भइसकेको छ। उनले विक्रम संवत् २०७३ वैशाख ११ मा सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग नामक कार्यक्रम चलाएका थिए। त्यो बेला उनको कानुनी हैसियत अमेरिकी नागरिकै थियो।
प्रधानमन्त्री फेरिए लगत्तै उनलाई सो कार्यक्रमको सञ्चालकबाट हटाइयो। उनले उही शैलीको कार्यक्रमलाई प्रधानमन्त्री शब्दको साटो सिधा कुरा जनतासँग नाम राखेर न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्न थाले।
२०७५ मा उनीविरूद्ध प्रेस काउन्सिलमा उजुरी परेपछि काउन्सिलले उनी कुन हैसियतमा नेपालमा बसेको हो भनेर अध्यागमन विभागलाई पत्र पठायो। अध्यागमनले उनी गैर पर्यटक(नातेदार) को भिसामा नेपालमा बस्ने अनुमती रहेको र यस्तो भिसामा नेपालमा बस्नेले पारिश्रमिक लिएर नेपालमा बस्न नपाउने भन्दै काउन्सिललाई २०७५ असार ५ मा पत्र पठायो।
काउन्सिलले उनले श्रम स्विकृती लिएको हो या हैन भनेर श्रम विभागमा गरेको पत्राचारको प्रतिउत्तरमा पनि उनले श्रम स्विकृती नलिएको पत्र आएको थियो। यसले उनी नेपालमा अमेरिकी नागरिकको हैसियतमा बसेर श्रम स्वीकृति नै नलिई पारिश्रमिक लिएर न्युज२४ मा काम गरिरहेको पुष्टी भएको थियो।
उनी आफैँले आफू अमेरिकी नागरिकको हैसियतमा नेपालमा रहेको स्विकार गरेकाले उनीमाथि कानुनी कारवाही हुनसक्ने कानुनी आधार थिए। तर यति दबाब बढ्यो कि उनी अनुसन्धानको दायरामै आएनन्। उनले आफ्नाबारे आफ्नै कार्यक्रममार्फत प्रतिरक्षा गरेर आफ्नो पक्षमा माहौल बनाए।
उनका समर्थक रवीको पक्षमा लाग्दै काउन्सिलका तत्कालीन अध्यक्ष किशोर श्रेष्ठको विरोधमा उत्रिए। काउन्सिल आफैँले अगाडि बढाएको कानुनी प्रक्रियाबाट पछि हट्यो।
थप समाचार
*हेडलाइनमा नक्कली भन्ने शब्द हटाएर अवैध राखिएको छ।
कात्तिक ३०, २०७९ बुधबार ०१:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।