गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। 

चुनावमा गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्। सरकारमा रहँदा पनि मुख्यमन्त्री पोखरेल र मन्त्री खड्काबीच राम्रो सम्बन्ध थिएन।

तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले संसदमा विश्वासको मत लिन नसकेपछि गण्डकीको मुख्यमन्त्री बन्न पोखरेल र खड्का प्रतिस्पर्धी थिए। तर, अन्तिममा पोखरेलले वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलमा मुख्यमन्त्री हात पारेका थिए।

प्रदेशको मुख्यमन्त्री कांग्रेसले हात पारेपछि भौतिक पूर्वाधार तथा शहरी बिकासमा सत्ता साझेदार माओवादीले दावी गरेको थियो। तर, यसका लागि कुमार खड्काले चट्टानी अडान लिएपछि मुख्यमन्त्री पोखरेललाई मन्त्रिपरिषद् गठन गर्न झण्डै ६ महिना लागेको थियो।

खड्काले भौतिक पूर्वाधारमा अडान नछाडेपछि माओवादीले बाध्य भएर अर्थमन्त्रालय लिएको थियो। मन्त्रिपरिषद् गठका क्रममा खड्काले लिएको अडान मुख्यमन्त्रीलाई मनपरेको थिएन। तर, एकवर्ष अघिको प्रतिशोध साँध्न मुख्यमन्त्री पोखरेलले कार्यकाल एक साता बाँकी रहँदा मन्त्री खड्कालाई बर्खास्त गरेको आशंका गरिएको छ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्का पछिल्लो समय कास्की २ (ख) मा चुनाव लडेर मुख्यमन्त्री बन्न चाहेका थिए। तर, यस निर्वाचनमा कांग्रेसले उनलाई टिकट नै दिएन। त्यसपछि उनले गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको उम्मेदवारलाई सहयोग नगरेको आरोप उनीमाथि छ।

कास्कीको क्षेत्रनं २ ‘ख’ मा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन्। थापालाई खड्काले असहयोग गरेको बताइन्छ। मुख्यमन्त्री पोखरेलले विना आधार चुनावमा गठबन्धनलाई असहयोग गरेको आरोप लगाएर मन्त्री खड्कासँग प्रतिशोध साँधेको खड्कानिकटको तर्क छ।

यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए। गोरखामा एमालेलाई सहयोग गरेको आरोपमा उनलाई बर्खास्त गरिएको थियो।

कात्तिक २९, २०७९ मंगलबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।