अमेरिकी र रुसी गुप्तचर प्रमुखबीच भेटवार्ता, के भयो कुरा ?

अमेरिकी र रुसी गुप्तचर प्रमुखबीच भेटवार्ता, के भयो कुरा ?

एजेन्सी: रुस र अमेरिकाका गुप्तचर प्रमुखहरूले फेस-टु-फेस भेटवार्ता गरेका छन्। अमेरिकी गुप्तचर प्रमुख सीआईएका निर्देशक विलियम बर्न्स र उनका रुसी समकक्षी सर्जे नारिश्किन (फरेन इन्टेलिजेन्स सर्भिस प्रमुख)बीच टर्कीमा सोमबार भेटवार्ता भएको हो।

भेटका क्रममा रुसले युक्रेनलाई दिएको आणविक हमलाको धम्की र रुसले 'अन्यायपूर्ण' तरिकाले राखेको अमेरिकी कैदीबन्दीका बारेमा वार्ता भएको थियो।

रुसले यस भेटवार्तालाई 'अमेरिकी पक्षको पहल' भनेको छ। रुसले युक्रेनमा हमला गरिसकेपछिको यो उच्च तहको अधिकारीबीचको पहिलो सार्वजनिक भेटवार्ता हो।

सीआईए प्रमुख बर्न्सले रुसियन भाषामा बोलेका थिए। उनले सन् २००५ देखि २००८ सम्म रुसमा अमेरिकी राजदूतको रूपमा काम गरेका थिए। उनले युद्धको अन्त्यको बारेमा भने नबोलेको ह्वाइट हाउसले स्पष्ट पारेको छ। अमेरिकाले आफू आधारभूत सिद्धान्त 'नथिङ अबाउट युक्रेन विदआउट युक्रेन' (युक्रेनबिना युक्रेनको बारे केही नबोलिने) को सिद्धान्तमा अडिग रहेको पनि दावी गरेको छ।

उनले आणविक हमला गरेमा त्यसको परिणाम र रणनीतिक स्थिरताको वृद्धिको बारेमा छलफल गरेको बताइएको छ।

पछिल्लो समय अमेरिकाले रुसलाई युक्रेनमा आणविक हतियार प्रयोग नगर्न चेतावनी दिँदै आएको छ। रुसले भने आणविक हतियार प्रयोग गर्नसक्नेतर्फ सङ्केत गरेको बीबीसीमा उल्लेख छ।

गत सेप्टेम्बरमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुसलाई ध्वस्त पार्न खोजेको आरोप लगाउँदै आफूले सबै उपलब्ध स्रोत प्रयोग गरेर सीमा रक्षा गर्ने बताएका थिए। यसको प्रतिक्रियामा अमेरिकाले आफूले धम्कीलाई गम्भीरतापूर्वक लिने बताएको थियो।

कात्तिक २९, २०७९ मंगलबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।