चर्को कर वृद्धि र आफन्तका नामको ट्रस्टलाई बजेट दिएका बराललाई हराउन मतदाता नै सक्रिय, एमालेका पौडेल गुटको सिकार बन्नसक्ने !
पोखरा: प्रतिनिधि सभामा कास्कीका तीन वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले क्षेत्र नम्बर १, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले ३ पाएका छन्। यस्तै प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा माओवादी केन्द्र र तीन वटा कांग्रेसले बाँडेका छन्।
त्यसमध्ये कास्की क्षेत्र नं–३ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ र एमालेका दामोदर पौडेल ‘बैरागी’ बीच प्रतिस्पर्धा हुँदैछ। चुनावको मिति नजिकिएसँगै अहिले गठबन्धनका उम्मेदवार बराल र एमालेका पौडेलले घरदैलो, भेटघाट र कोणसभालाई तीव्र पारेका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्य चुनिएका बराल हाल गण्डकी प्रदेशका अर्थमन्त्री छन्। यो उनको पहिलो प्रतिनिधि सभाको निर्वाचन हो।
एमालेका उम्मेदवार पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्दैछन्।
यसअघिको निर्वाचनमा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए। विश्वकर्माले कांग्रेसका उम्मेदवार शुक्रराज शर्मालाई आठ हजार ३०० बढी मतले पराजित गरेका थिए।
२०३३ सालदेखि बराल राजनीतिमा
गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बराल विद्यार्थी राजनीतिबाटै पञ्चायतविरुद्धको आन्दोलनमा होमिएका थिए। उनी विद्यालय तहको अध्ययनका क्रममा २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमतसंग्रहमा समेत सक्रिय थिए।
जनताको ढाडै सेक्नेगरी अंशबण्डा, सवारीका साधनलगायतमा ४०० प्रतिशतसम्म उनले कर वृद्धि गरेका थिए। यस्तै आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत मन्त्रीका आफन्तका नामका ट्रस्टलाई बजेट विनियोजन गरेपछि उनको चर्को आलोचना भएको थियो।
पञ्चायतकालमा भूमिगत रहेर मशालको राजनीतिमा आबद्ध उनी २०४६ सालको परिवर्तनपछि खुला राजनीतिमा आएका थिए। उनले २०४७ सालमा मशालको पार्टी सदस्यता प्राप्त गरेसँगै २०४८ सालमा संयुक्त जनमोर्चाको गाउँ एकाई अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
२०५१ सालमा तत्कालीन नेकपा माओवादीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने निर्णय गर्दा उनी जिल्ला कमिटीको जिम्मेवारीमा थिए। माओवादीले जनयुद्ध थालेसँगै भूमिगत भएका उनी २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका थिए।
यसपछि उनले माओवादीको ईलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए। २०५७ मा पार्टीको पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका उनले २०५९ सालमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी सम्हालेका थिए।
२०६२/०६३ को आन्दोलनमा पनि उनले कास्कीमा रहेर नेतृत्त्वदायी भूमिका खेलेका थिए। हाल उनी माओवादी पार्टीको केन्द्रीय सदस्य हुन्।
सर्वहारा नेताको विवादित छवि
बराल पछिल्लो समय गण्डकीको अर्थमन्त्री बनेपछि भने छवि विवादित बन्यो। कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्त्वको सरकारका अर्थमन्त्री उनी सरकारमा गएसँगै प्रदेशका सबैभन्दा विवादित मन्त्री बने।
जनताको ढाडै सेक्नेगरी अंशबण्डा, सवारीका साधनलगायतमा ४०० प्रतिशतसम्म उनले कर वृद्धि गरेका थिए। यस्तै आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत मन्त्रीका आफन्तका नामका ट्रस्टलाई बजेट विनियोजन गरेपछि उनको चर्को आलोचना भएको थियो।
आलोचनापछि पनि मुख्यमन्त्री पोखरेलले पटकपटक बढाएको कर घटाउन आग्रह गर्दा समेत अस्वीकार गर्दै आएका थिए।
उनका बुबा राजविक्रम भुर्तेल र आमा सीता भुर्तेललाई सेनाले फेवातालको मुहान पामेमा कब्जामा लिएर २०६१ वैशाख ३१ गते हत्या गरेको थियो। नेकपा माओवादीका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी श्रीमती पोखरा पामेको एक घरमा सेल्टर लिएकै बेला सेनाले घेरा हालेर गोली हानेको थियो।
चुनावको मुखमा आएर स्वयं मुख्यमन्त्रीले हस्तक्षेप गरेर करको दर घटाएका थिए। तर, निर्वाचनको मिति नजिकिएपछि मतदातालाई प्रभावित पार्ने उद्देश्यले कर घटाएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि घटाएको कर रद्द गर्न मुख्यमन्त्री बाध्य भएका थिए।
सर्वहारा वर्गको नेतृत्त्व गर्ने बहानमा सत्तामा पुगेर जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेकाले उनलाई जनस्तरबाटै हराउनु पर्ने भन्दै स्थानीय मतदाता समेत लागिपरेको देखिन्छ। उनले विगतमा गरेको जनविरोधी कार्यले अहिले स्वयं उनलाई नै असर गर्ने सम्भावना बढेको छ।
बराललाई बागीको चुनौती
रामजी बरालका लागि सबैभन्दा ठूलो चुनौती बनेकी छिन्, बागी उम्मेदवार अनिता भुर्तेल। माओवादी जनयुद्धमा बुबा र आमा दुवै गुमाएकी माओवादीकी भुर्तेलले बागी उम्मेदवारी दिएकाले चुनौती थपिएको हो।
भुर्तेलले पार्टीभित्र बढेको मनोमानीविरूद्ध उम्मेदवारी दिएको बताउँछिन्। पार्टीका ठूला नेता भनाउँदाहरूले शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग लगायतलाई उपेक्षा गरेको उनको दावी छ।
उनका बुबा राजविक्रम भुर्तेल र आमा सीता भुर्तेललाई सेनाले फेवातालको मुहान पामेमा कब्जामा लिएर २०६१ वैशाख ३१ गते हत्या गरेको थियो। नेकपा माओवादीका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेल र उनकी श्रीमती पोखरा पामेको एक घरमा सेल्टर लिएकै बेला सेनाले घेरा हालेर गोली हानेको थियो।
बुबा आमाको हत्या भएपछि अनिताले तीन जना बहिनी र एक जना भाइको हेरचाह गर्दै आएकी थिइन्। निर्वाचनको मिति घोषणा भएपछि अनिताले सशस्त्र युद्धका शहीद, बेपत्ता, घाइते र अपाङ्गका परिवारका सदस्यको प्रतिनिधित्व हुनुपर्ने नेतृत्त्वसमक्ष माग गरेकी थिइन्।
उनले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पटक–पटक आग्रह गर्दा समेत चासो नदेखाएपछि कास्की –३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी हुन्।
उनलाई उम्मेदवारी फिर्ता लिन प्रचण्डदेखि जिल्लाका नेतासम्मले आग्रह गरेका थिए। तर, उनले शहीद, बेपत्ता परिवार, घाइते, अपाङ्ग लगायतका समस्या समाधान गर्न सार्वजनिक रूपमा लिखित प्रतिबद्धता गर्न आग्रह गरेपछि नेताहरू तयार भएनन्।
पौडेलले पृथ्वीसुब्बा गुटबाट निर्वाचनमा अन्तरघात व्यहोर्ने सम्भावना अधिक छ। घात अन्तरघातमै निर्वाचनको नतिजा निर्भर हुने देखिन्छ।
अनिताको उम्म्दवारी बराललाई भारी पर्ने निश्चित छ।
जिल्ला नेतृत्त्वमा रोकेको गुटले सांसद बन्न सहयोग गर्ला?
एमाले उम्मेदवार पौडेलले पार्टीको जिल्ला सचिव भएर पार्टी संगठनमा भूमिका निर्वाह गरेका थिए। पौडेल नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारीमा छन्। पार्टीको जिम्मेवारीबाहेक उनी अन्य लाभको पदमा पुगेका छैनन्।
१३ वर्षको हुँदा कम्युनिष्ट पार्टीमा लागेका पौडेल चार दशकदेखि मजदूर, किसान, उत्पीडित, श्रमजीवी वर्गको अधिकारको पक्षमा काम गर्दै आएका छन्।
उनी पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्ये पर्छन्। पौडेल २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा आबद्ध भएका थिए।
उनी २०३७ सालमा प्रगतिशील मावि सल्यानको अनेरास्ववियू (एकता पाँचौँ) को सहप्रारम्भिक कमिटी सदस्य भए। २०३८ सालमा प्रारम्भिक कमिटीको सदस्य र सहप्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए। २०३९ सालमा उनी नेकपा (माले) मार्फत कम्युनिष्ट पार्टीको राजनीतिमा औपचारिक रूपमा आबद्ध भएका थिए।
उनी २०४० सालदेखि २०४३ सालसम्म अखिल नेपाल किसानमा आबद्ध भएर भूमिगत राजनीतिमा सक्रिय भएका थिए। त्यस्तै उनी २०४० सालदेखि २०४६ सालसम्म अर्ध भूमिगत भएका थिए।
२०४५ देखि २०५५ सालसम्म १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मार्फत मजदूर आन्दोलनमा सक्रिय रहेका थिए। २०५३ साल वैशाखमा भएको नेकपा एमाले कास्कीको चौथो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका थिए।
उनी २०५३ साल वैशाखमा चौथो जिल्ला अधिवेशनबाट नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य भएका थिए। पार्टी मजदूर ईलाका इन्चार्ज, पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग सदस्य तथा प्रमुख हुँदै २०७० सालमा पार्टीको जिल्ला सचिव बनेका थिए।
पौडेल २०७० देखि २०७६ सालसम्म एमाले कास्की जिल्ला कमिटी सचिव थिए।
गत वर्षको पार्टी अधिवेशनमा उनी जिल्ला अध्यक्षको उम्मेदवार बनेकामा मनबहादुर गुरुङसँग पराजित भएका थिए। गण्डकीमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले चलाएको गुटका कारण लामो समयदेखि सक्रिय राजनीतिमा लागेका पौडेलले पराजय भोगेका थिए।
उनी खगराज निकटका नेताका रूपमा चिनिन्छन्। यसपटिक पनि उनको संसद्को यात्रा रोक्न पृथ्वीसुब्बा गुटको भूमिका के हुन्छ हेर्न बाँकी नै छ।
एमाले अध्यक्ष ओलीले जिल्ला नेतृत्त्व चयन सर्वसम्वत गर्न निर्देशन दिए पनि कास्कीमा पृथ्वीसुब्बा र खगराजको गुटगत लडाइँकै कारण चुनाव गर्नुपरेको थियो। जिल्ला नेतृत्त्वको लागि मतदान भएको कास्कीमा एउटा गुटले अर्को गुटका उम्मेदवारलाई सहयोग गर्ने सम्भावना न्यून छ।
पौडेलले पृथ्वीसुब्बा गुटबाट निर्वाचनमा अन्तरघात व्यहोर्ने सम्भावना अधिक छ। घात अन्तरघातमै निर्वाचनको नतिजा निर्भर हुने देखिन्छ।
विगतको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई हराउन पृथ्वीसुब्बा नेतृत्त्व खुलेर लागेको थियो।
विगतका निर्वाचनहरूमा फराकिलो अन्तरले जित्दै आएको पोखरा महानगरमा एमालेले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा झण्डै ६ हजार मतले पराजय व्यहोरेको थियो।
प्रदेश सभातर्फ
क्षेत्र नं ३ (क) बाट माओवादीले दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएका छ। ईमान्दार नेताका रूपमा उनी पार्टीमा परिचित छन्। उनी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन्।
२०४२ सालमा नेकपा मशालबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारीले शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन्। उनी पार्टीको संस्थापन पक्षमा उभिँदै आएका छन्।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्ज समेत हुन्। उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक पनि हुन्।
यो क्षेत्रमा एमालेले गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङ केही समय पहिले जनता समाजवादी त्यागेर एमाले प्रवेश गरेका थिए।
त्यस्तै ३ को (ख)बाट कांग्रेसले प्रकाश बराललाई उम्मेदवार बनाएको छ। उनी खेलकुद क्षेत्रको जागिर छाडेर राजनीतिमा सक्रिय भएका हुन्।
त्यस्तै बरालसँगको प्रतिस्पर्धामा एमालले राजिव पहारीलाई उम्मेदवार बनाएको छ। पहारीले २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए। पहारी प्रजातन्त्रिक राष्ट्रिय युवा संघको केन्द्रय अध्यक्ष समेत भएका थिए।
यीबाहेक यो क्षेत्रमा जनता समाजवादी पार्टीले प्रतिनिधि सभाका लागि हितकाजी गुरुङ, राप्रपाले जगतप्रसाद सुवेदी, नेमकिपाले बलराम बन्जार, हाम्रो नेपाली पार्टीले विवेककुमार पौड्याल, मंगोल नेशनल अर्गनाइजेसनले गंगाकुमारी खपाङ्गी तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले योगराज पौडेललाई उम्मेदवार बनाएको छ।
अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकै ठाउँमा जाने भएकाले उनीहरूको स्थानीय तहमा पाएको कुल मत ३१ हजार ७४६ रहेको छ। यता एमालेको मत २९ हजार ८०० मात्र रहेको छ।
स्वतन्त्रतर्फ सात जनाले उम्मेदवारी दिएका छन्।
यस्तो छ विगतको अंकगणित
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेका जगत विश्वकर्माले ३२ हजार ६९० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाएका थिए।
त्यसबेला विश्वकर्मा एमाले, माओवादीसहितको गठबन्धनबाट उम्मेदवार थिए। अहिले भने ठीकविपरीत कांग्रेस, माओवादी लगायतका दलबीच गठबन्धन छ।
गत स्थानीय निर्वाचनमा यस क्षेत्रमा दलगत रूपमा एमालेले पाएको मत बढी छ। एमालेका वडाअध्यक्षहरूले कुल २९ हजार ८०५ मत पाएका थिए।
कांग्रेसका वडाअध्यक्षहरूले २८ हजार ८४६ मत प्राप्त गरेका थिए। माओवादीका वडाअध्यक्षका उम्मेदवारले दुई हजार चार र एकीकृत समाजवादीले ५०० मत पाएका थिए।
अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकै ठाउँमा जाने भएकाले उनीहरूको स्थानीय तहमा पाएको कुल मत ३१ हजार ७४६ रहेको छ। यता एमालेको मत २९ हजार ८०० मात्र रहेको छ।
स्थानीय तहको निर्वाचनमा एमालेको भन्दा गठबन्धनका वडाअध्यक्षहरूले पाएको मतान्तर करिब दुई हजार मात्र देखिन्छ। यसमध्ये केही मत माओवादीका बागी उम्मेदवार अनिताले काट्ने भएकाले यस क्षेत्रमा कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।
यस क्षेत्रमा कुल एक लाख एक हजार ७१५ मतदाता रहेका छन्। जसअन्तर्गत प्रदेश सभा (क)मा ५२ हजार ४४५ र प्रदेश सभा (ख) मा ४८ हजार ८५३ मतदाता छन्।
कात्तिक २९, २०७९ मंगलबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।