‘हेराफेरी ३’ चर्चा र विवाद : कार्तिक आर्यनले अक्षय कुमारको भूमिका नगर्ने

‘हेराफेरी ३’ चर्चा र विवाद : कार्तिक आर्यनले अक्षय कुमारको भूमिका नगर्ने

एजेन्सी : बलिउडका हिट फिल्ममध्ये एक ‘हेराफेरी’ र ‘फिर हेराफेरी’ले दर्शकलाई खुब हँसायो। पछिल्लो समय फिल्म ‘हेराफेरी ३’ लगातार चर्चामा छ।

फिल्ममा कार्तिक आर्यनलाई कास्ट गरिएको र अक्षय कुमारलाई हटाइएको खबरपछि फिल्मको झन् बढि चर्चा भएको हो। फिल्ममा कार्तिक आर्यनले अक्षय कुमारको भूमिका निभाउने बताइएको थियाे।

यो खबरपछि अक्षय कुमार फ्यानमा आक्रोशित भएका छन् र उनलाई फिल्ममा लिन सामाजिक सञ्जालबाट माग गरेका छन्। यसैबीच कार्तिक आर्यनले फिल्म ‘हेराफेरी ३’ मा अक्षय कुमारको भूमिका नगर्ने भएका छन्।

नयाँ भूमिकामा कार्तिक आर्यन
बलिउड समाचार साइट ईटाइम्सको रिपोर्टअनुसार फिल्ममा कार्तिक आर्यन नयाँ भूमिकामा देखिँदैछन्। अक्षय कुमारले ‘हेराफेरी ३’ नगर्ने पक्का भएपछि फिल्मबाट उनको चरित्र ‘राजु’लाई पूर्णरूपमा हटाइएको छ। अब फिल्ममा कार्तिक आर्यन नयाँ भूमिकामा देखिने समाचारमा उल्लेख छ।

अनीस बज्मीले निर्देशन गर्ने फिल्ममा परेश रावल र सुनील शेट्टी फेरि देखिनेछन्। फिल्म ‘हेराफेरी’ सन् २००० मा रिलिज भएको थियो भने फिल्म ‘फिर हेराफेरी’ सन् २००६ मा रिलिज भएको थियो।

अक्षय कुमार यी दुवै फिल्ममा परेश रावल र सुनील शेट्टीसँग देखिएका थिए। यी दुवै चलचित्रलाई दर्शकले निकै रुचाएका थिए।

यो कस्तो संयोग ?
कार्तिक आर्यन यसै वर्ष मेमा रिलिज भएको फिल्म ‘भूल भुलैया २’ मा देखिएका थिए। फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। यो फिल्म सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ को सिक्वेल थियो। फिल्म ‘भूल भुलैया’मा अक्षय कुमार मुख्य भूमिकामा थिए।

कात्तिक २८, २०७९ सोमबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।